यात्री
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो?मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार,मस्तिष्कको यो सुनको छानो, इन्द्रियहरूका द्वार,नशा-नदीका तरल तरङ्ग, मन्दिर आफू अपार,कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार?
मनको सुन्दर सिंहासनमा जगदीश्वरको राजचेतनको यो ज्योतिहिरण्य, उसको शिरको ताजशरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँडछौ कुन पुर?ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर?खोजी गर्छौ? हृदय उगाऊ, बत्ति बाली तेज प्रचुर ।
साथी यात्री ! बीच सडकमा, ईश्वर हिँडछ साथचुम्दछ ईश्वर काम सुनौला गरिरहेको हातछुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथ।
सडक किनारा गाउँछ ईश्वर, चराहरूको तानामाबोल्दछ ईश्वर मानिसहरूको पीडा, दु:खको गानामादर्शन किन्तु कहीँ दिँदैन, चर्म-चक्षुले कानामाकुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा?
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउमलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउमानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ।
...................................................................
यस कविताको हिन्दी-उर्दु अनुवाद-राही / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेलमुसाफिर / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेलइस कविता का हिंदी-उर्दू अनुवाद-राही / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेलमुसाफिर / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेल
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)