कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो? मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो? हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार, मस्तिष्कको यो सुनको छानो, इन्द्रियहरूका द्वार, नशा-नदीका तरल तरङ्ग, मन्दिर आफू अपार, कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार? मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज चेतनको यो ज्योतिहिरण्य, उसको शिरको ताज शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ । भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँडछौ कुन पुर? ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर? खोजी गर्छौ? हृदय उगाऊ, बत्ति बाली तेज प्रचुर । साथी यात्री ! बीच सडकमा, ईश्वर हिँडछ साथ चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात छुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथ। सडक किनारा गाउँछ ईश्वर, चराहरूको तानामा बोल्दछ ईश्वर मानिसहरूको पीडा, दु:खको गानामा दर्शन किन्तु कहीँ दिँदैन, चर्म-चक्षुले कानामा कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा? फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ। ................................................................... यस कविताको हिन्दी-उर्दु अनुवाद- राही / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेल मुसाफिर / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेल इस कविता का हिंदी-उर्दू अनुवाद- राही / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेल मुसाफिर / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेल