शण्डेश्वरको पर्व
तीते पाती बटुलन जाती,माकुरजाली ल्याउन काती,डाकन भ्याक्ते कोरस ताँती,धापहरुको बालन बाती ।
छेपाराका रङ्गहरु ल्याओ !चीलहरुका पङ्खा चलायो !गन्धे झारका बालन धूप,वेदी भरभर गोबर लेप,ढयावर, ढयाङ्ग्रो टिनको ठटाओ !
दुनियाँ सारा पूजन आयो !शण्डेश्वरको पर्व छ आज,यस युगदिलमा उनको राज ।टाउको उनको वज्र चटान,मस्तिष्क अणु, अणु जल्दो मुहान ।
शास्त्रालङ्कृत चण्ड मुशण्ड,हनुवा, हाँका उनको मुण्ड,पुच्छर बेर्दछ भूतले फन्को,झटार्छ जगत् यदि माखा झन्क्यो,तोपहरुको ढ्वाँढ्वाँकारउनकै गुँज्दो गुफा ओडारकालो ध्वजा छ जूरो उँचा,आज छ गर्नु उनको पूजा,फलामहरुको मसल छ उनको,मूर्ति बनाऔँ तर सब सुनको ।
रुपियाँको एक मन्दिर ढालौँ,नोटहरुका लहरा हालौँ,विज्ञापनका कागज डालौँ,रङ्ग चडकारा सारा उज्यालौँ ।
बन्दूकहरुको बनाऔँ बार ।बुट्टा सिंगारौँ नव तरबार,तोपहरुका मञ्च उचालौँ,युरेनियमका ज्वाला ज्वालौँ,हो विजयले देऔँ सलाम !रणबिकुलले घोषी नाम,गोलीहरुका पूmल बरषाऔँलोहित झन्डा फहरन जाऔँगन्धक धूवाँ छाना छाऔँ,कोलाहलका स्तुतिहरु गाऔँ !शान्तिसुरक्षा बम् पडकाऔँ !पृथिवी काँप्ने पर्व मचाऔँ !मध्यपूर्वका तेल जलाऔँ !द्धीप विविधका फलपूmल ल्याऔँ !आजादीको एफिजी जलाऔँ !लामखुट्टेका कोरस गाऔँ !गरम पसीना जल ली चढाऔँ !सभ्यताको अन्त्येष्टि मनाऔँ !
अन्नहरु सब होमौँ ढेर,‘तन्त्र मुनाफा’ अक्षर दे’र ।पसले संस्कृति जगमा फिँजाऔँ,शण्डेश्वरको पर्व मनाऔँ !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)