तीते पाती बटुलन जाती, माकुरजाली ल्याउन काती, डाकन भ्याक्ते कोरस ताँती, धापहरुको बालन बाती । छेपाराका रङ्गहरु ल्याओ ! चीलहरुका पङ्खा चलायो ! गन्धे झारका बालन धूप, वेदी भरभर गोबर लेप, ढयावर, ढयाङ्ग्रो टिनको ठटाओ ! दुनियाँ सारा पूजन आयो ! शण्डेश्वरको पर्व छ आज, यस युगदिलमा उनको राज । टाउको उनको वज्र चटान, मस्तिष्क अणु, अणु जल्दो मुहान । शास्त्रालङ्कृत चण्ड मुशण्ड, हनुवा, हाँका उनको मुण्ड, पुच्छर बेर्दछ भूतले फन्को, झटार्छ जगत् यदि माखा झन्क्यो, तोपहरुको ढ्वाँढ्वाँकार उनकै गुँज्दो गुफा ओडार कालो ध्वजा छ जूरो उँचा, आज छ गर्नु उनको पूजा, फलामहरुको मसल छ उनको, मूर्ति बनाऔँ तर सब सुनको । रुपियाँको एक मन्दिर ढालौँ, नोटहरुका लहरा हालौँ, विज्ञापनका कागज डालौँ, रङ्ग चडकारा सारा उज्यालौँ । बन्दूकहरुको बनाऔँ बार । बुट्टा सिंगारौँ नव तरबार, तोपहरुका मञ्च उचालौँ, युरेनियमका ज्वाला ज्वालौँ, हो विजयले देऔँ सलाम ! रणबिकुलले घोषी नाम, गोलीहरुका पूmल बरषाऔँ लोहित झन्डा फहरन जाऔँ गन्धक धूवाँ छाना छाऔँ, कोलाहलका स्तुतिहरु गाऔँ ! शान्तिसुरक्षा बम् पडकाऔँ ! पृथिवी काँप्ने पर्व मचाऔँ ! मध्यपूर्वका तेल जलाऔँ ! द्धीप विविधका फलपूmल ल्याऔँ ! आजादीको एफिजी जलाऔँ ! लामखुट्टेका कोरस गाऔँ ! गरम पसीना जल ली चढाऔँ ! सभ्यताको अन्त्येष्टि मनाऔँ ! अन्नहरु सब होमौँ ढेर, ‘तन्त्र मुनाफा’ अक्षर दे’र । पसले संस्कृति जगमा फिँजाऔँ, शण्डेश्वरको पर्व मनाऔँ !