नेपाली अभिलेख

शाहजहाँको इच्छा

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.यमुनाजलमा बज्दछ मुरली !जलमा बुलबुल रुन्छन् पिलपिल !रुन्छन् कलकल !यो तटको, वन छाया छवियुक्तयौवन, यौवन !दिवानिशाको छाया अङ्कित,वियोगमिलनको क्रीडाभूमि,वृन्दावन !यो मिलनको रोइरहेको इतिहास !याद रुँदाको बास !पिरली चल्दछ एक अगोचर मुरलीमायस स्थलमा रेप्रेमी प्राणहरूको बतास !
ख.सरिताको छ सागररोदन !एक सुनौली सन्ध्यापछाडि,खोजी, खोजी,पौडिरहेछन्‌ जलमा क्रन्दन,जलमा क्रन्दन !अबोला निशा छ चिहान सरी यो;कब्र उपरका क्रन्दन सरीआँसु बिन्दिए स्वर्ग भरी रे,स्वर्गभरी !
ग.विश्वका अघिपति रुन्छ यहाँ,आफ्ना फूलहरूमा !आफ्ना मृत्यु र परिवर्तनकाआदिम, स्वनिर्मित नियम रूपकाभूलहरूमा ! भूलहरूमा !आफैं घोची आफ्नो छातीशूलहरूमा ! शूलहरूमा !
घ.तिनी सुतिन् यो लहरीमाथि,सुन्दरता !जागृति–शिथिला कोमलता !बोल्थे मुगाहरू, बोल्नै छोडे !मोती गुड्दथे, वर्षन छोडे !जलभर दृग छु, जागा राति !मस्त निदाइन् नित ती साथी !ओह ! अकेलापन क्या रुन्छआकाशभरी !चकमन्न पारी !ओढ्छिन् कफन जब भू विचरी !
ङ.पुरुषको अतिपरुष छ माग केअति कोमलमा जग–वनका ?थकित भए जो शान्ति लिनाकनपार जगत्‌का वनका ?लाग्यो थकाइ, तिनी निदाइन्।दोष के तिनको ?“फर्क” भनीकन रुन्छ सदा मन,तर हा ! वियोगी जनको !क्रूर माग हो ! कसरी आउन्!नगलोस् पाउ सुमनको ?अनन्त शान्ति हो जाती !दुःख दिँदो छु तर म पुकारी !राज जस्तो दिनको पनि अझआज छ मेरो राति !
च.सुकुमारीको कुन चिर जीवन ?उपवनमा वा जनगणमा ?शिखरज्योति झैँ सुनधूलीमा चढिरहेकीझप्प निभिन्‌ ती, क्षणमा !एक चखेवा रुन्छ असङ्ख्यताराहरूको वर्षणमा !आँखा जस्तो नीलो गगनमा,गरेर क्षण, क्षण, कणकणमा !
छ.हात उठाई फैलाइकन, रोई, रुहलेसोध्दछ कोही“ए सन्नाटाको घोर महावन !ती लुकेकी खोइ ?”
ज.अन्तताको सघन महावनप्यास चहार्दछ ।जीवनज्योतिको ज्वाला कहाँ गो ?अपनाएथेँ जो रोजी ?अन्धो आँखाको यो तिर्खागर्छ मशीहा साथ सवालः“अमिट खोजले सारा ढोकाखोली हेर्दा, मिल्दछ काहीँ,दिव्य गुमेको माल ?”
झ.थिइन्‌ दया ती ! निष्ठुरता म !आफ्नी ढुकुटी भन्ठानेँ !मसिना, खस्रा, सारा इच्छाथन्काएथेँ — अब जानेँ !ज्योतिभन्दा मसिनी थिइन् तीमाटोभन्दा खस्रो म !अन्दाज सच्चा गर्न सकिनँ !प्यारको सेवा हाय ! पुगेन !लायक कदर रहिनँ !
ञ.यस तटमा छु सागरको मउस तटमा छौ ए मुमताज !शाहजहाँ यो छटपट गर्दछ,पदधूलीमा फ्याँकी ताज !असीम अकेलापन अब रुन्छे,ती सब दाना, ती सब दानाजसले बन्यो यो संसार!आधा जीवन शून्य विलीन छ,आधा बग्दछ स्मृतिको धार !
ट.अनन्त भाग्यको अनन्त अभागीगरीब शाहको ए दिलताज !याद धनी छन्‌ रुँदा, सडकमा,अपूर्व सपना मागी आज ।रङ्कपनमा सचेत बनेकोमेरो, अमरमा के उपहार ?संसार चढाऊँ ! जीवन चढाऊँ ?तुच्छ छ त्यो पनि ए सुकुमार !
ठ.हाम्रा धन सब माटो धुलिन्छन्!भावपुतली उड्छन्, भुलिन्छन्!अमर तिमीमा के उपहार ?नीरवताले छुन्छे हाम्रोस्पन्दित दिलको चिर गुञ्जार !क्रन्दन, पुकार !छायाचित्र यो संसार !
ड.लाचारीका झुक्का पलकमा जल गुड्दछन्!इच्छा रङ्गिन्छन्, उड्छन्!केवल अमर कलाको इङ्गितनाघ्दछ देश र काल अपार !मिली सुत्यौँ यस जगतिर भन्ने,मिली उठ्यौँ उस जगतिर भन्नेभस्म मस्मको विवाह जनाउन,मूक हृदयको गुञ्जार सुनाउन,शिल्पन लाउँछु एक अद्‌भुतको,साजा एउटा शयनागार ।यस जमुनाको क्रन्दन–किनार !
ढ.कालले कहिल्यै यस्तो मीठोफूल टिपेन !टिपिएपछि पनि जसको सुगन्ध,भूमण्डलको स्मृतिमा गुँज्दछ,गुञ्जिरहला,सम्झनुलाई धनी बनाई ।भविष्यले तर सोध्ला निरन्तर,मेरो आत्मासँगमा निशिभर,“के चढाइस् आँसुसँगमातिनलाई ?”
ण.धनी खरानी उपर शिल्पकोरानी झुकून् रोई ।त्यो माटोमा अमर लताकाजराहरूको ज्यान फिजाउँछु ।प्यारका जलकण तिनका बीउआर्द्र दृगले बोई, बोई !काल विजेता ताजा मरमरप्रेमले मन्त्रोस्, अपूर्व छिनाहरूजलले धोई ।अपूर्व स्मारक कलिलो उठाउँछु,साथ सुतौँला अनि दोई !
त.तरलताले छाओस् मरमर,स्नायुसजीव र कोमल, सुन्दर !एकै लयका सुरका चोटसचेत छिनाले काटून् तिनभर,–मोती झुल्ने लतिका फुल्दा,रोदन दिलभर !विहाग रागको आत्मा साकार,चिर गुञ्जनले रचियोस् आगार,रोदनको झैँ घर !रुदित बनोटको स्वपना उज्यालोमरमरमा !शाश्वत स्मारक वियोग–व्यथाको,सुन्दरतामा !युगयुग प्यारका हृदयहरूलेपाऊन् स्पन्दन, प्रेरणा, गुञ्जार !प्यारको स्वपना, प्यारको भेटी,मरमर आत्मा मृदुल चढीकनपघलोस्, विलपीजमुना–किनार !
थ.कला अगाडि सम्राट्को होस्ताज रे झिलझिल उपहास !मटीहरूमा शिल्पित मन्दिरटिक्दछ भन्दछ इतिहास !उपलाङ्कित एक दिव्य काव्य होस्!अमिधाताज !जिन्दगी औ मृत्यु जसकाजिल्द हुने छन् खास ।
द.रुपद्धारा सङ्गीत रुलाऊँ !साकार बिलौना यस दिलको !मसृण छिनाले मीड बजाऊँरुदित भावको दिलको !पाषाण बनोस् एक स्वरलहरी झैँएक वियोगी बुलबुलको !याद दिने होस् निर्माण पुनीत !जमुना बन्लिन् मेरो गीत !
ध.शिल्पित उपलको वेलीवनमा,यो रुह बुलबुल,घनले निलेकी शशिकन सम्झी,बोली रहला युगका यात्रीसामु, दिलको पीडा, खलबल !
न.मेरा दृगका मोती सीमित !सारा नजरका मोती मागूँ !मोती भिखारी भई यस तटमा,जुगजुगका सब प्यारहरूकागहिराइका दाना, दाना,बटुलूँ, राखूँ !दुनियाँ डाकूँ !भविष्य ! तेरो उपहार निरन्तररोई, मागूँ !
प.व्योमको गुमज प्यारको गुम्मज !यी पृथिवी हुन् अविरल जलकीशिल्पकला !यी लहरा हुन् प्यारका तृष्णा,सरिताका यी सुन्दर चेली,वेली, कलिला !यी कुसुम हुन् विश्वशिल्पी प्राणपवनलेकुँदिई बनेका चट्टान, शिला !निशदिन बत्ती सामु भला !सृष्टि हो यो परमेश्वरकोस्थायी स्मारक कोही निम्ति !असीम ! अगम !के रुँदैनौ तिमी पनि एकलानिशिमा भन रे ?शवनम ? शवनम ?
फ.
निद्रित बुलबुल त्यहि अघि बोलून्,मानव दिलका !स्थान, कालका सीमा नाघून् पङ्खहरूले पलका !मेरो होइन, प्यारकै होस् यो शयनागार !मुमताज, होइन, सौन्दर्यसुतेर सपनून् जमुना–किनार ।सागरतृष्णा बोलिरहोस्,रोई दुगुर्दी जलधार ।
ब.प्यार नै हो धर्म्म महान् !सुन्दरतम्‌ !सुन्दरको हो ताज रे ईश्वर !मार्ग भक्ति हो !भेटी शवनम !सुन्दरको नै, आत्मा सुन्दछ,मसिनो आहट !शेष सुष्टिबाट छ त्यसकोदिलमा अनौठा बोलावट !तृष्णा गति हो !आशा इशारा !आत्मा आत्मालाई चिनाउँछसलिल किनारा, सलिल किनारा !म उक्लन्छु, ती ओर्लन्छिन्!इश्ल मिलन हो ! इश्ल मिलन !याद भजन !स्मारक, पूजन !बिन्दु, बिन्दुका माला !हावभाव हुन् हाम्रा नट !सब धर्म्मको हो आत्मा प्यार !वेद, कुरान होजलको घट !
भ.पुतलीको यो बत्ती पछिकोछटपटलाई स्मारक होस्!जमुनाजल यो सागरसम्मन्प्रेमकथाको प्रचारक होस्!चाँदनीको स्वर्ग मोहनीपत्थर उरको दारक होस्अछूत ऊँचाइमा अवलम्बित श्रीयसको भाव विचारक होस्!संसारको यो पत्थरमाथिएक शाहको जलको अङ्क !ताजमहल होस्! जगभर जाती !आदर्श, विना एक सानु कलङ्क !सुषमा प्रति यो चिर वन्दन !साथ सुतौँला युगयुग साथी !मानव दिलमा विश्वधर्म्मकोदिई निरन्तर स्पन्दन !पाषाणहरूमा भाषा भरूँला,चूप सुती निशिदिन !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)