नेपाली अभिलेख

सघन तमिस्राप्रति

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.ए आलोक–विलोपिनी ! घन–कजली निशि !लाश दिवसकी निस्पद !रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई,ध्वान्तजटा बाक्ला बिखरी,विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध,विलीन हिमाली डाँडामा ?महामृत्युकी छाया सरि ए !विशाल शून्य झैं साकार !
ख.त्रासोत्पादक छायाहरुको तहबह मिसीकन बाक्लो तमकोपारावार सदृश तिमी, आनाकधरा,हाम्रा चेतन–चट्टानहरुमा ठक्कर दिन्छयौ, प्रतिक्षण, प्रतिक्षण,झस्काई बराबर,भूबालब बिचरा !
ग.ए महानिद्रा झरेकी, निश्चल पदमा, जग ढाकी !यमलोकी ए शून्यालोक !तिम्रो भीषणताका समक्ष आँखा चिम्ली जीवहरुमूर्छा पार्छन् चैतन्य !
घ.यत्तिकै हो रङ्गीचङ्गी विविधतायुत जग इतिहास ?अनुसन्धान आशा, अभिलाषा ?मूक रहस्यकी मुटु ! ए अदुष्य !बोल ! तमिस्रा ! निश्वास !महाशून्य मात्रका अश्रुत छालले ठोस किनारा खान्छन् सारा ?बैरी, उक्ली, तमका धारा ?जीवनको यो भाँडोभरि के ? शून्य भरिन्छ ?आह ! सारा ?
ङ.ओ मट्टी ! ओ मट्टी !रायो–दाना थिचिएँ ! थिचिएँ ! किचिएँ ! लौन !तालुपट्ट छु ! निस्पट्टी !
च.आलोककणी झैं स्वकीय पिलपिल–अस्तित्व उपर अशङ्क,निसास्सीँदो छु, तिमिरक्षारमा,त्यो क्षुद्र उडु झैं घन–धाँजामा, सानो, मानोआशाहीन !
छ.ए मेरा हराएका धनकी चोर्नी !गतवस्तुकी ए काली कारा !चिरिई फुट् तँ निजी, निठुर उरफारी !हेर् तँ ! तमिस्रा निश्चेता !भित्र छ तारा, तारा !!!

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)