क. ए आलोक–विलोपिनी ! घन–कजली निशि ! लाश दिवसकी निस्पद ! रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई, ध्वान्तजटा बाक्ला बिखरी, विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध, विलीन हिमाली डाँडामा ? महामृत्युकी छाया सरि ए ! विशाल शून्य झैं साकार ! ख. त्रासोत्पादक छायाहरुको तहबह मिसीकन बाक्लो तमको पारावार सदृश तिमी, आनाकधरा, हाम्रा चेतन–चट्टानहरुमा ठक्कर दिन्छयौ, प्रतिक्षण, प्रतिक्षण, झस्काई बराबर, भूबालब बिचरा ! ग. ए महानिद्रा झरेकी, निश्चल पदमा, जग ढाकी ! यमलोकी ए शून्यालोक ! तिम्रो भीषणताका समक्ष आँखा चिम्ली जीवहरु मूर्छा पार्छन् चैतन्य ! घ. यत्तिकै हो रङ्गीचङ्गी विविधतायुत जग इतिहास ? अनुसन्धान आशा, अभिलाषा ? मूक रहस्यकी मुटु ! ए अदुष्य ! बोल ! तमिस्रा ! निश्वास ! महाशून्य मात्रका अश्रुत छालले ठोस किनारा खान्छन् सारा ? बैरी, उक्ली, तमका धारा ? जीवनको यो भाँडोभरि के ? शून्य भरिन्छ ? आह ! सारा ? ङ. ओ मट्टी ! ओ मट्टी ! रायो–दाना थिचिएँ ! थिचिएँ ! किचिएँ ! लौन ! तालुपट्ट छु ! निस्पट्टी ! च. आलोककणी झैं स्वकीय पिलपिल–अस्तित्व उपर अशङ्क, निसास्सीँदो छु, तिमिरक्षारमा, त्यो क्षुद्र उडु झैं घन–धाँजामा, सानो, मानो आशाहीन ! छ. ए मेरा हराएका धनकी चोर्नी ! गतवस्तुकी ए काली कारा ! चिरिई फुट् तँ निजी, निठुर उर फारी ! हेर् तँ ! तमिस्रा निश्चेता ! भित्र छ तारा, तारा !!!