नेपाली अभिलेख

गधा बोल्छ

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.
मालिक मानिस ! ही ही हः !ही ही ह हः ! ही ही हः !
ख.
ईश्वरसँग के मैले मागें बुद्धिको निट्ठुर खर वरदान ?बुद्धि जो गुन्दछ, बाँड्दछ, बुन्दछफेल्दछ, जेल्दछ, हान्दछ, ठेल्दछ,फेरि रोप्दछ, फेरि उखेल्दछ ?बुद्धिको बलियो कमजोरी, तपाईंहरुको बोक्रे शान ?प्रकृति नउत्रने ठेलमठेला ठेली निकाल्नोस् पढ्नोस् ल,संसार धुँधला छायामा,क, ख, ग, घ, ट, ठ, ड, !मालिक मानिस ! ही ही हः !घाँस बनाउन घाँसको बीउ नै नभई, तपाईको शक्ति छ !मालिक मानिस ! ही ही हः !
ग.
बुझ्नुभयो को गर्दछ के, के पर्दापछाडि, किन कसरी ?यसमा मालिक क्या मसरी !बुद्धिमत्ता व्यङ्ग्य भनीकनबुझ्दछ पशुको जगत्, हरि !कुन कविता हो हृदयस्पर्शी, गर्दभ–अवयव–हर्ष–लहर ?छन्द–सिहर !घँस्याइलो यो चउर हुँदामा, न्यानो घामले उज्ज्वल प्रहर ?अथवा तपाईको मसीको लहर ?कृत्रिम बुट्टा कागजभर ?कोखा कुत्कुती लाग्छ अँ !मालिक मानिस ! ही ही हः !
घ.
काम–बुभुक्षा तत्व अगाडि चार वेदको के माने ?जूनकीरीको पुच्छर ! झिल्को,लोखर्केको सुपारी ।यत्ति बुझे ता बुझियो सारा,किन यी अडकन भकारी ?तरङ्ग मेरा पनि छन् मालिक ! रङ्गी–बिरङ्गी भारी,तर म बोल्दिनँ, लेख्दिनँ, पोख्दिनँ,तपाईहरुझैं डकारी ।हेर हेर ती क्रूर भयानकमुण्ठमाला रे मूर्तिहरु !जननी बालक रेट पिउँदी !हात्तीदेवका सूँडहरु !मेरो ईश्वर घाँस मुनाझैं दुधिलो कलिलो गुलियो छःसर्वव्यापक कहिल्यै नमर्ने,फेरि उम्रने बलियो छ !तर रे तपाईको ! कछुवा, वराह, सिंह हेर ! जो मनमा छ !उकुसमुकुस भो पेटको तह !मालिक मानिस ! ही ही हः !यौन–पूजामा, भू–पूजामा केही झल्केथ्यो, केही ल !मालिक मानिस ! ही ही हः !
ङ.
ज्ञानको तरुको निषिद्ध फल के काल–व्यालले चाख्न लगायो ?बाबा आदम ! त्यसको कस्तो रस आयो ?पृथ्वी–पतन औ भीषण श्राप ‘ खाएस् भालको पसिनाले र् ! ’खच्चुङ ! जुृग जुग काँढा कुल्ची,वाह ! हलीको ह, ह, ह !जल्दा मगजले बिन बिन दाना–घोरिउ लाटो–कोसेरोझैंहिसाब गरे सब के रैछ !मेरो कहाँ गो ‘ माले ह ! ’ ? ईश्वर ज्यापु, मालिक म !अन्तः करणको नाटीकुटीमाधर्मले आफै उल्टी खस रे स्वभाव निर्मित्त निज रौरव !ल ! ल ! ल !ज्ञान अज्ञान कुन ठूलो हँ !मालिक मानिस ! ही ही हः !
च.
नब्बे सालले के बतलायो, वास्तुकलाको देख्यौ धराप ?वेदको पाले बाहुन राख्यौ, देख्यो समाजै सडेदो पाप ?तासघरमा फू फू हावा, सड्दा, झूठा सब दावास्वर्ग कल्पियौ नरक बनायौ,कमसेकम ता गर्दभ जाति बीच पृथिवीमा त छ !अणुबम बनाई हामी बुजु्रग पशु पनि मार्ने सुर के छ ?झूठा–शानी ए ज्याक्–ड ?घाम र हावा कपडा हाम्रो, तिम्रो शरीरमा काँढा ल !प्रकृतानन्दी तारस्वरमा, सच्चा कलाको मर्मज्ञ,बोल्छु गधा म फुइँ नझिक ?हामी गधाको बुद्धि सिक !गिर्न उडेथ्यौ यसरी ल !मालिक मानिस ! ही ! ही ! हः !ही ही हः हः ! ही ही हः

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)