क. मालिक मानिस ! ही ही हः ! ही ही ह हः ! ही ही हः ! ख. ईश्वरसँग के मैले मागें बुद्धिको निट्ठुर खर वरदान ? बुद्धि जो गुन्दछ, बाँड्दछ, बुन्दछ फेल्दछ, जेल्दछ, हान्दछ, ठेल्दछ, फेरि रोप्दछ, फेरि उखेल्दछ ? बुद्धिको बलियो कमजोरी, तपाईंहरुको बोक्रे शान ? प्रकृति नउत्रने ठेलमठेला ठेली निकाल्नोस् पढ्नोस् ल, संसार धुँधला छायामा, क, ख, ग, घ, ट, ठ, ड, ! मालिक मानिस ! ही ही हः ! घाँस बनाउन घाँसको बीउ नै नभई, तपाईको शक्ति छ ! मालिक मानिस ! ही ही हः ! ग. बुझ्नुभयो को गर्दछ के, के पर्दापछाडि, किन कसरी ? यसमा मालिक क्या मसरी ! बुद्धिमत्ता व्यङ्ग्य भनीकन बुझ्दछ पशुको जगत्, हरि ! कुन कविता हो हृदयस्पर्शी, गर्दभ–अवयव–हर्ष–लहर ? छन्द–सिहर ! घँस्याइलो यो चउर हुँदामा, न्यानो घामले उज्ज्वल प्रहर ? अथवा तपाईको मसीको लहर ? कृत्रिम बुट्टा कागजभर ? कोखा कुत्कुती लाग्छ अँ ! मालिक मानिस ! ही ही हः ! घ. काम–बुभुक्षा तत्व अगाडि चार वेदको के माने ? जूनकीरीको पुच्छर ! झिल्को, लोखर्केको सुपारी । यत्ति बुझे ता बुझियो सारा, किन यी अडकन भकारी ? तरङ्ग मेरा पनि छन् मालिक ! रङ्गी–बिरङ्गी भारी, तर म बोल्दिनँ, लेख्दिनँ, पोख्दिनँ, तपाईहरुझैं डकारी । हेर हेर ती क्रूर भयानक मुण्ठमाला रे मूर्तिहरु ! जननी बालक रेट पिउँदी ! हात्तीदेवका सूँडहरु ! मेरो ईश्वर घाँस मुनाझैं दुधिलो कलिलो गुलियो छः सर्वव्यापक कहिल्यै नमर्ने, फेरि उम्रने बलियो छ ! तर रे तपाईको ! कछुवा, वराह, सिंह हेर ! जो मनमा छ ! उकुसमुकुस भो पेटको तह ! मालिक मानिस ! ही ही हः ! यौन–पूजामा, भू–पूजामा केही झल्केथ्यो, केही ल ! मालिक मानिस ! ही ही हः ! ङ. ज्ञानको तरुको निषिद्ध फल के काल–व्यालले चाख्न लगायो ? बाबा आदम ! त्यसको कस्तो रस आयो ? पृथ्वी–पतन औ भीषण श्राप ‘ खाएस् भालको पसिनाले र् ! ’ खच्चुङ ! जुृग जुग काँढा कुल्ची, वाह ! हलीको ह, ह, ह ! जल्दा मगजले बिन बिन दाना–घोरिउ लाटो–कोसेरोझैं हिसाब गरे सब के रैछ ! मेरो कहाँ गो ‘ माले ह ! ’ ? ईश्वर ज्यापु, मालिक म ! अन्तः करणको नाटीकुटीमा धर्मले आफै उल्टी खस रे स्वभाव निर्मित्त निज रौरव ! ल ! ल ! ल ! ज्ञान अज्ञान कुन ठूलो हँ ! मालिक मानिस ! ही ही हः ! च. नब्बे सालले के बतलायो, वास्तुकलाको देख्यौ धराप ? वेदको पाले बाहुन राख्यौ, देख्यो समाजै सडेदो पाप ? तासघरमा फू फू हावा, सड्दा, झूठा सब दावा स्वर्ग कल्पियौ नरक बनायौ, कमसेकम ता गर्दभ जाति बीच पृथिवीमा त छ ! अणुबम बनाई हामी बुजु्रग पशु पनि मार्ने सुर के छ ? झूठा–शानी ए ज्याक्–ड ? घाम र हावा कपडा हाम्रो, तिम्रो शरीरमा काँढा ल ! प्रकृतानन्दी तारस्वरमा, सच्चा कलाको मर्मज्ञ, बोल्छु गधा म फुइँ नझिक ? हामी गधाको बुद्धि सिक ! गिर्न उडेथ्यौ यसरी ल ! मालिक मानिस ! ही ! ही ! हः ! ही ही हः हः ! ही ही हः