नेपाली अभिलेख

बादलको स्वागत

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

ओहो पङ्खे मोती–पोल्टी सागर–चेली चाँदी छाल !वाष्पिल सिंहमा वायुपङ्खी, हिउँचुलीमा छहरी याल !भूतल शीतल पारी सियाली, कलिली निलाई पर्वत ढाल,बुरबुर डाली कुइरो चीनी, सल्ला सियामा मर्मर जाल,कृषियुगका सब आदिम गाना गर्छन् छहरी मोती कमाल !बिजुली नागिनी सँगमा चम्के,स्वर नगवेली लहरा फन्के,वाफन फोही गिरी गडराए,कुइरी झरीले छोयो ढाल !धर्ती दुहौँला, छाती फुहौँला धानी असारे कुर्ली टाल !बर्खा, बिजुली, धूप सहौँला,धूमका मुनितिर रोप्न नुहौँला, पोषन भूका भोका बाल !जबतक हाम्रो हात कोदाली, टर्ला जगमा रे अनिकाल !स्वर्ग नहोला नित मुख नीलो,जगत्को छाना बुट्टिन ढिलो ! चल्ला सागर छाल !रत्नाकरको याद नटुट्ला जनवन माथि तप्त विशाल !सङ्घर्ष ध्वनि छ आज गगनमा,प्रगति छ मिठो आज पवनमा,सातरङ्गी विजयपताका चम्किरहेको हेर ! कमाल !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)