ओहो पङ्खे मोती–पोल्टी सागर–चेली चाँदी छाल ! वाष्पिल सिंहमा वायुपङ्खी, हिउँचुलीमा छहरी याल ! भूतल शीतल पारी सियाली, कलिली निलाई पर्वत ढाल, बुरबुर डाली कुइरो चीनी, सल्ला सियामा मर्मर जाल, कृषियुगका सब आदिम गाना गर्छन् छहरी मोती कमाल ! बिजुली नागिनी सँगमा चम्के, स्वर नगवेली लहरा फन्के, वाफन फोही गिरी गडराए, कुइरी झरीले छोयो ढाल ! धर्ती दुहौँला, छाती फुहौँला धानी असारे कुर्ली टाल ! बर्खा, बिजुली, धूप सहौँला, धूमका मुनितिर रोप्न नुहौँला, पोषन भूका भोका बाल ! जबतक हाम्रो हात कोदाली, टर्ला जगमा रे अनिकाल ! स्वर्ग नहोला नित मुख नीलो, जगत्को छाना बुट्टिन ढिलो ! चल्ला सागर छाल ! रत्नाकरको याद नटुट्ला जनवन माथि तप्त विशाल ! सङ्घर्ष ध्वनि छ आज गगनमा, प्रगति छ मिठो आज पवनमा, सातरङ्गी विजयपताका चम्किरहेको हेर ! कमाल !