अन्त्यमा
पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ।।शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ।।
साँझको त्यो अन्तिम घण्टा मन्द बजाअोस् एक पुकार ।दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ।।सुन्दर दिव्य यो रङ्गभूमि एक आखिरी दर्शन ।एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ।।
अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ।।यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ।।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)