पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप । जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ।। शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश । नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ।। साँझको त्यो अन्तिम घण्टा मन्द बजाअोस् एक पुकार । दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ।। सुन्दर दिव्य यो रङ्गभूमि एक आखिरी दर्शन । एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ।। अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान । आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ।। यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान । सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ।।