नेपाली अभिलेख

आर्यघाटतिर (विषादिका)

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.प्राची सुत अति प्रतिभ प्रतापी दिव्य दिवसको अब अवसान !आलोक प्रवच्चित आशामुख छन् सविषाद गवाही गाढा !किरण दृष्ण ती तुहिन महीधर मौन खडा छन् मुख म्लान !रुदित वाग्मती–जल छटपटले विलपी बग्दछ टाढा !
ख.निशिचिर–शान्ति–पिपासा–पीडित थकित विहङ्गम उड्छ उदास !दूरवर्ती अविदित घरतिर, भ्रमण बिसाउन व्योमपथी !उड्डीन दिवाको अनुचर आत्मा, अहार्य नियमको यौटा दास !भ्रमण–बिसाउनी आर्यघाटमा मै पनि घोरिरहेछु बसी !
ग.बादलको त्यो वाष्पिल जीवन पर्वतमा जो अवलम्बितअनलाहुत भएर खरानी–रङ्गमा परिणत, हुन्छ विलीन !परिवर्तनको करले अगोचर, रुपरागले चिररञ्जितदृश्यपटमा हुन्छ, मिटाई सजीवमा अब ! जगत् मलिन !
घ.दूर घण्टा बज्दछ घनघन, सविलम्ब प्रतिध्वनिको गूँज !किरणमुखी यो जगतीतलको मानो दैनिक निधन ध्वनि !अजर अमरहरु, साक्षी दिविमा बिन्दुदृगी छन् ! टप्के बूँद !मृत्युञ्जय छन् समाधि लिँदा अब मृत्यु उपर औ स्वर्ग मनि
ङ.सारा चहलमहलमा आउँछ ढल्की बाक्लो चिर छाया !निशिको क्रन्दित तीखो अश्रुत सुरझैँ चल्दछ कृष्ण चमेरो !पाषाण बन्दछन् नीरव मूर्ति देवताका दायाँ बायाँ !शिशिरारण्य परेको शिशुझैं आत्मा रोई बस्दछ मेरो !
च.को छ मलाई बुझाइदिने यो रुदित पहेली इतिहास !जगतीतलको, मिरमिर मेरो चेत अँगालो घात दिने ?आँशु–बाटुला ज्वलन उडु छन् टिलबिल पार्दा नीलाकाश !भाषालाई अशक्त भनीकन मौन छटपट मात्र लिने !
छ.यस जीवनले जति बोले पनि प्रलय सुगम्भीर छ नित चुपचाप !राजा जस्तो, क्षण क्षण–छटपट तृष्णा कुलगति जनअघि खास !आत्मविश्वास–सुतृप्त छ, साम्राज्य बुझेको संसार सताप !प्रकृत हारले विहार थकित सब जीवन बन्छन् आखिर दास !
ज.तैपनि हामी विद्रोही सरि फारी झर्छौ उसको महोदरकिन ? किन ? यसरी ? के अभिलाषा ? किन यो हाम्रो क्षणिक विलास ?शीतविन्दुको किन यो झिलिमिली शिशिराभिमुखी दलमा सुन्दर !किन क्षणहरुको छोटो, मीठो, खुसखुसहरुमा मात, मिठास ?
झ.जललहरीझैं जल–लहरीकन ढकेलिरहेछन् पुस्ता अविरल !ज्योति परेको जलकणिकाझैं ताज र विद्या हुन्छन् विलीन !जलभुँवरीझैँ सभर भए कति ! गतिबाधक भै विविध उपल !छैन सुकेको तर यो खोलो रोदनमा ली जीवन नवीन !
ञ.यस्ता खोला तर कति आए ! कति सुक्दा छन् बारबार !बालुवाका दाना अनगिन हेर गगनमा मिरमिर राश !त्यो स्वर्गमा पनि सुक्छ कुनै दिन, निभ्ला बत्ती सरि संसार ।परिवर्तनको पद–धूलीमा कण–कीटाणुको छ विलास !
ट.संसार निलीकन तिमिर बताउँछ अन्तहरुको इतिहास !कालो पर्दा ओर्ली छोप्दै छ इन्द्रियगोचर नाच अपार !यसको पछाडि नीरवताको साम्राज्य अतट औ निश्वास !के अभिप्राय छ यस जीवनमा ? रुन्छ नपाई सरिता–धार !
ठ.आए साधु, मशीहा बहुविध, प्रात, प्रातका किरण सरि !झल्के क्षणभर, वरपर पारी चकित, फिँजारी अमृताशा !ताजा, सेतो, धप्को तिनको दिलले पिउँदै विकृत गरी,हाय ! हायमा चल्दछ दुनियाँ बर्बर बोली अरु भाषा !
ड.मुनिका भस्मकणी ली सरिता सागर खोजी बग्दैछन् !प्रश्नहरुले सम्बोधित यी युग, युग तटिनी छन् आँशु !परिवर्तनले ज्वाला–मन्दिर सज्छ चिताको दिनदिन दनदन !प्रश्नकर्ता उपहास गरीकन, जलिरहेको जिज्ञासु !
ढ.धाँजा उरका चीत्कारहरुकन गर्दछ नीरवले उपहास !चैतन्यका सब वामनसेना दुगुरिरहेछन् रे बेकार !अन्ध रहस्यको किल्ला फोरेन नौ तह बाक्लो दुर्भेद्य, हताशफर्कन्छन् ती आफैंतिर नित, सम्भव नभई, मानी हार !
ण.शायद रुद्र समाधि लगाई आफैंलाई बुझ्न बसे !अगणित युगतक आफैं नबुझी, बिउँझी फेरि चकित बने !माया ब्रह्म परस्पर खोज्दै चलिरहेछन् कल्पविषे !आफ्नो योग, वियोग नबुझ्दा, छन् त्यसैमा व्यस्त भने !
त.एक पहेली नित्य खुला यो ! जीवन, चेष्टा उत्तरका झैँ,अगणित बार बलीकन निभ्छन् अन्धकारमा नित्य विलीन !पुनरुद्दीपन प्रश्न–शिखाको अनिलाहत क्या फिरका झैँ !इतिहास यही छ यो संसारी, चिताकथित कहानी दीन !
थ.चिच्याईकन सोध्छु विपिनसँग कहाँ गए ती प्रिय सारा ?मेरा स्मृतिका धनहरु सुन्दर, मेरा दृगका जलका धार ?आत्मा ती आधारहरु झैं, निजी महलका खम्बा प्यारा ?खण्डहरु सोध्छ अतीत अँध्यारोसँग— खै ए प्रिय आकार ?
द.जल लहरीले ठक्कर दी दी भत्कारझैँ जीवनकूलफिरफिर घिरघिर चल्दछ जलमा टुट्दै, फुट्दै, चिरादार !आखिर मै पनि साथ दगुर्छ आतसैमा पीडाकुलचिच्याइरहेका धारहरुप्रति चिच्च्याईकन प्रश्न हजार !
ध.तीन टुक्रा टुक्रिसकेको विदीर्ण कलेजा, चहराई,विस्मृतिलाई हप्काईकन, गर्छ निशासँग एक उजूर !बालवञ्चिता प्रकृति विलप्छे चीत्कार पुराना दोह¥याई,अतिश्रुति तीक्ष्ण लवज लजाउँछ लुक्दो शिवको स्वर्ण गजूर !
न.अस्तित्व कहाँ गो ? जो यो दिलले स्मृतिसँग मागी पाउँछ खास !जो स्वपनाले, बिपनालाई सुताई, बताई ल्याउँछे झलझल ?लुटपुट खेल्दछ जोसँग, आत्मा, पाई निशाको एकलास,कुण्ठित कामना, तृष्णाहरुका जालीहरु सब नाची पिलपिल !
प.हात समाती कलिला, न्याना, जग–जिज्ञासु, चपले क्षण,जीवन–छरिता, सरिता तटमा पूmल कोपिला सुँघ्दै, चिनाई,कुण्ठित इच्छापूर्ति गराउन, बाबु हुनाले परिमित साधन,–कल्पनाका उपवन डुल्दछ अझ यो आत्मा तिनसँग हाई !
फ.क्रूर ! क्रूर ! यो चोरी अतिशय ! रत्न गुमेको धनी गरीबमा !लाचारीले पिलपिल दृगले उत्पीडनको मुख हेरी,अन्तिम–उष्ण–सलिल समाद्र्र–आशामुख ती, रुन्छन् नसीवमा !स्मृतिले वरवर ताराकणिका भर्नु, नीलो पट घेरी !
ब.यस जलमा छन् गुडिरहेको भस्मकणीहरु सब तिनका !यस दिलमा छन् जलिरहेका छापा तिनका प्रिय आकार !माटो पाई प्रसन्न बिउझैं हाल्न जराका जाली मनकातत्पर, बग्दा ती फर्कन्छन् उजूर गरीकन, तीव्र हजार !
भ.पिता र माता, बालक बन्धु, यस सरिताका तट रुन्छन् !अतृप्त सारा आकाङ्क्षाका सम्बन्धी सब नाता जोडी !मर्दछु निशिभर तिनसँग जिउँदै, मैसँग क्रीडित हुन्छन् ?तर हे संज्ञा ! पुनरागमन तेरो डस्दछ सपना तोडी !
म.खस्दा माटो जल–ठक्करले फ्यास्स झरीकन तर आधाबीच किनारमा जलवर गर्दछ स्नेहले सम्झी आधार !चोइटेको तट पनि बोल्दछ चिच्च्याईकन भै बाधा,पक्रूँ, पत्रूmँ बिचमै लरवर अंश त्यो झर्दछ–क्या लाचार !
य.यहीँ, यहीँ हो तर संसृतिको सरिताको रे रुदित किनार !विदीर्ण उरका दाना, चोइटा, गुडिरहेछन् युगयुग धार !आँशु प्रकृत हो दृगभर मेरो अतीत जीवनको यो भार !यहीँ खसाल्नु छ, यहीं बिसाउनु, यहीँ बगाउनु आखिरकार!

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)