क. प्राची सुत अति प्रतिभ प्रतापी दिव्य दिवसको अब अवसान ! आलोक प्रवच्चित आशामुख छन् सविषाद गवाही गाढा ! किरण दृष्ण ती तुहिन महीधर मौन खडा छन् मुख म्लान ! रुदित वाग्मती–जल छटपटले विलपी बग्दछ टाढा ! ख. निशिचिर–शान्ति–पिपासा–पीडित थकित विहङ्गम उड्छ उदास ! दूरवर्ती अविदित घरतिर, भ्रमण बिसाउन व्योमपथी ! उड्डीन दिवाको अनुचर आत्मा, अहार्य नियमको यौटा दास ! भ्रमण–बिसाउनी आर्यघाटमा मै पनि घोरिरहेछु बसी ! ग. बादलको त्यो वाष्पिल जीवन पर्वतमा जो अवलम्बित अनलाहुत भएर खरानी–रङ्गमा परिणत, हुन्छ विलीन ! परिवर्तनको करले अगोचर, रुपरागले चिररञ्जित दृश्यपटमा हुन्छ, मिटाई सजीवमा अब ! जगत् मलिन ! घ. दूर घण्टा बज्दछ घनघन, सविलम्ब प्रतिध्वनिको गूँज ! किरणमुखी यो जगतीतलको मानो दैनिक निधन ध्वनि ! अजर अमरहरु, साक्षी दिविमा बिन्दुदृगी छन् ! टप्के बूँद ! मृत्युञ्जय छन् समाधि लिँदा अब मृत्यु उपर औ स्वर्ग मनि ङ. सारा चहलमहलमा आउँछ ढल्की बाक्लो चिर छाया ! निशिको क्रन्दित तीखो अश्रुत सुरझैँ चल्दछ कृष्ण चमेरो ! पाषाण बन्दछन् नीरव मूर्ति देवताका दायाँ बायाँ ! शिशिरारण्य परेको शिशुझैं आत्मा रोई बस्दछ मेरो ! च. को छ मलाई बुझाइदिने यो रुदित पहेली इतिहास ! जगतीतलको, मिरमिर मेरो चेत अँगालो घात दिने ? आँशु–बाटुला ज्वलन उडु छन् टिलबिल पार्दा नीलाकाश ! भाषालाई अशक्त भनीकन मौन छटपट मात्र लिने ! छ. यस जीवनले जति बोले पनि प्रलय सुगम्भीर छ नित चुपचाप ! राजा जस्तो, क्षण क्षण–छटपट तृष्णा कुलगति जनअघि खास ! आत्मविश्वास–सुतृप्त छ, साम्राज्य बुझेको संसार सताप ! प्रकृत हारले विहार थकित सब जीवन बन्छन् आखिर दास ! ज. तैपनि हामी विद्रोही सरि फारी झर्छौ उसको महोदर किन ? किन ? यसरी ? के अभिलाषा ? किन यो हाम्रो क्षणिक विलास ? शीतविन्दुको किन यो झिलिमिली शिशिराभिमुखी दलमा सुन्दर ! किन क्षणहरुको छोटो, मीठो, खुसखुसहरुमा मात, मिठास ? झ. जललहरीझैं जल–लहरीकन ढकेलिरहेछन् पुस्ता अविरल ! ज्योति परेको जलकणिकाझैं ताज र विद्या हुन्छन् विलीन ! जलभुँवरीझैँ सभर भए कति ! गतिबाधक भै विविध उपल ! छैन सुकेको तर यो खोलो रोदनमा ली जीवन नवीन ! ञ. यस्ता खोला तर कति आए ! कति सुक्दा छन् बारबार ! बालुवाका दाना अनगिन हेर गगनमा मिरमिर राश ! त्यो स्वर्गमा पनि सुक्छ कुनै दिन, निभ्ला बत्ती सरि संसार । परिवर्तनको पद–धूलीमा कण–कीटाणुको छ विलास ! ट. संसार निलीकन तिमिर बताउँछ अन्तहरुको इतिहास ! कालो पर्दा ओर्ली छोप्दै छ इन्द्रियगोचर नाच अपार ! यसको पछाडि नीरवताको साम्राज्य अतट औ निश्वास ! के अभिप्राय छ यस जीवनमा ? रुन्छ नपाई सरिता–धार ! ठ. आए साधु, मशीहा बहुविध, प्रात, प्रातका किरण सरि ! झल्के क्षणभर, वरपर पारी चकित, फिँजारी अमृताशा ! ताजा, सेतो, धप्को तिनको दिलले पिउँदै विकृत गरी, हाय ! हायमा चल्दछ दुनियाँ बर्बर बोली अरु भाषा ! ड. मुनिका भस्मकणी ली सरिता सागर खोजी बग्दैछन् ! प्रश्नहरुले सम्बोधित यी युग, युग तटिनी छन् आँशु ! परिवर्तनले ज्वाला–मन्दिर सज्छ चिताको दिनदिन दनदन ! प्रश्नकर्ता उपहास गरीकन, जलिरहेको जिज्ञासु ! ढ. धाँजा उरका चीत्कारहरुकन गर्दछ नीरवले उपहास ! चैतन्यका सब वामनसेना दुगुरिरहेछन् रे बेकार ! अन्ध रहस्यको किल्ला फोरेन नौ तह बाक्लो दुर्भेद्य, हताश फर्कन्छन् ती आफैंतिर नित, सम्भव नभई, मानी हार ! ण. शायद रुद्र समाधि लगाई आफैंलाई बुझ्न बसे ! अगणित युगतक आफैं नबुझी, बिउँझी फेरि चकित बने ! माया ब्रह्म परस्पर खोज्दै चलिरहेछन् कल्पविषे ! आफ्नो योग, वियोग नबुझ्दा, छन् त्यसैमा व्यस्त भने ! त. एक पहेली नित्य खुला यो ! जीवन, चेष्टा उत्तरका झैँ, अगणित बार बलीकन निभ्छन् अन्धकारमा नित्य विलीन ! पुनरुद्दीपन प्रश्न–शिखाको अनिलाहत क्या फिरका झैँ ! इतिहास यही छ यो संसारी, चिताकथित कहानी दीन ! थ. चिच्याईकन सोध्छु विपिनसँग कहाँ गए ती प्रिय सारा ? मेरा स्मृतिका धनहरु सुन्दर, मेरा दृगका जलका धार ? आत्मा ती आधारहरु झैं, निजी महलका खम्बा प्यारा ? खण्डहरु सोध्छ अतीत अँध्यारोसँग— खै ए प्रिय आकार ? द. जल लहरीले ठक्कर दी दी भत्कारझैँ जीवनकूल फिरफिर घिरघिर चल्दछ जलमा टुट्दै, फुट्दै, चिरादार ! आखिर मै पनि साथ दगुर्छ आतसैमा पीडाकुल चिच्याइरहेका धारहरुप्रति चिच्च्याईकन प्रश्न हजार ! ध. तीन टुक्रा टुक्रिसकेको विदीर्ण कलेजा, चहराई, विस्मृतिलाई हप्काईकन, गर्छ निशासँग एक उजूर ! बालवञ्चिता प्रकृति विलप्छे चीत्कार पुराना दोह¥याई, अतिश्रुति तीक्ष्ण लवज लजाउँछ लुक्दो शिवको स्वर्ण गजूर ! न. अस्तित्व कहाँ गो ? जो यो दिलले स्मृतिसँग मागी पाउँछ खास ! जो स्वपनाले, बिपनालाई सुताई, बताई ल्याउँछे झलझल ? लुटपुट खेल्दछ जोसँग, आत्मा, पाई निशाको एकलास, कुण्ठित कामना, तृष्णाहरुका जालीहरु सब नाची पिलपिल ! प. हात समाती कलिला, न्याना, जग–जिज्ञासु, चपले क्षण, जीवन–छरिता, सरिता तटमा पूmल कोपिला सुँघ्दै, चिनाई, कुण्ठित इच्छापूर्ति गराउन, बाबु हुनाले परिमित साधन,– कल्पनाका उपवन डुल्दछ अझ यो आत्मा तिनसँग हाई ! फ. क्रूर ! क्रूर ! यो चोरी अतिशय ! रत्न गुमेको धनी गरीबमा ! लाचारीले पिलपिल दृगले उत्पीडनको मुख हेरी, अन्तिम–उष्ण–सलिल समाद्र्र–आशामुख ती, रुन्छन् नसीवमा ! स्मृतिले वरवर ताराकणिका भर्नु, नीलो पट घेरी ! ब. यस जलमा छन् गुडिरहेको भस्मकणीहरु सब तिनका ! यस दिलमा छन् जलिरहेका छापा तिनका प्रिय आकार ! माटो पाई प्रसन्न बिउझैं हाल्न जराका जाली मनका तत्पर, बग्दा ती फर्कन्छन् उजूर गरीकन, तीव्र हजार ! भ. पिता र माता, बालक बन्धु, यस सरिताका तट रुन्छन् ! अतृप्त सारा आकाङ्क्षाका सम्बन्धी सब नाता जोडी ! मर्दछु निशिभर तिनसँग जिउँदै, मैसँग क्रीडित हुन्छन् ? तर हे संज्ञा ! पुनरागमन तेरो डस्दछ सपना तोडी ! म. खस्दा माटो जल–ठक्करले फ्यास्स झरीकन तर आधा बीच किनारमा जलवर गर्दछ स्नेहले सम्झी आधार ! चोइटेको तट पनि बोल्दछ चिच्च्याईकन भै बाधा, पक्रूँ, पत्रूmँ बिचमै लरवर अंश त्यो झर्दछ–क्या लाचार ! य. यहीँ, यहीँ हो तर संसृतिको सरिताको रे रुदित किनार ! विदीर्ण उरका दाना, चोइटा, गुडिरहेछन् युगयुग धार ! आँशु प्रकृत हो दृगभर मेरो अतीत जीवनको यो भार ! यहीँ खसाल्नु छ, यहीं बिसाउनु, यहीँ बगाउनु आखिरकार!