नेपाली अभिलेख

प्रश्न

कविता

कहाँ थियो वास, अघी म को थिएँ,कसो हुँदा यो पिंजरा लिंदो भएँ ।कहाँ छ जानू कुन साथ लीकन,तँलाई मालुम् छ कि यो कुरा भन ?
कदापि कत्ती नलगाइ ठक्कर,ग्रहादिलाई दिनहुँ निरन्तर,घुमाउने को छ खडा भईकन,तँलाइ मालुम् छ कि यो कुरा भन ?
अशेष आब्रम्हा पिपि लिका-तकशरीर एकै उहि पान्च-भौतिक,परन्तु भाग्यादि घटीबढी किन,तँलाइ मालुम् छ कि यो कुरा भन ?
गुटूमुटू भैकन गर्भ जालमाबसी कठै अन्जलि जोरि भालमा,काराउँदा बन्धुहरु थिए कुन,तँलाइ मालुम् छ कि यो कुरा भन ?
पिएर गीतामृत, शान्त भैकन,कुटुम्ब-हत्या-तिर लागनू किन,किरीटिले तत्व बुझे अहो ! कुन,तँलाइ मालुम् छ कि यो कुरा भन ?
डटी जुत्ता कोट छडी लिईकन,रवाफिं भै मोज मजा उडाउन,खराब ठान्यो ऋषि-वृन्दले किन,तँलाइ मालुम् छ कि यो कुरा भन ?
अनन्त बाटा बटुवा छ एक यो,विचारमा रङ्मङिदा जनम् थया,छँदैछ शङ्का अब कृत्य हो कुन,तँलाइ मालुम् छ कि यो कुरा भन ?
उही कुलो खेत बिऊ सबै उही,उसै गरी रोपिदिए पनी कहीं ?हुँदैन धान्यादिक चैत्रमा किन,तँलाइ मालुम् छ कि यो कुरा भन ?
अगाडि अध्यात्मविषे थियो जति,थिएन कि शिल्पविषे उती मति,बनेन होला किन रेल बेलुन,तँलाइ मालुम् छ कि यो कुरा भन ?
नयाँ कुनै दुर्विन यन्त्रको रती,सहाय केही नलिई ग्रह-स्थिति,अगाडिकाले कसरी बुझेहुन्,तँलाइ मालुम् छ कि यो कुरा भन ?
म निस्कनाले जननी तिमीकन,परेछ यो घोर अनर्थ चिन्तन,म भित्र आएँ अब के छ लस्पस,थपक्क बाबासित शान्त भैबस ।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: — · सार्वजनिक डोमेन (असत्यापित)