कहाँ थियो वास, अघी म को थिएँ, कसो हुँदा यो पिंजरा लिंदो भएँ । कहाँ छ जानू कुन साथ लीकन, तँलाई मालुम् छ कि यो कुरा भन ? कदापि कत्ती नलगाइ ठक्कर, ग्रहादिलाई दिनहुँ निरन्तर, घुमाउने को छ खडा भईकन, तँलाइ मालुम् छ कि यो कुरा भन ? अशेष आब्रम्हा पिपि लिका-तक शरीर एकै उहि पान्च-भौतिक, परन्तु भाग्यादि घटीबढी किन, तँलाइ मालुम् छ कि यो कुरा भन ? गुटूमुटू भैकन गर्भ जालमा बसी कठै अन्जलि जोरि भालमा, काराउँदा बन्धुहरु थिए कुन, तँलाइ मालुम् छ कि यो कुरा भन ? पिएर गीतामृत, शान्त भैकन, कुटुम्ब-हत्या-तिर लागनू किन, किरीटिले तत्व बुझे अहो ! कुन, तँलाइ मालुम् छ कि यो कुरा भन ? डटी जुत्ता कोट छडी लिईकन, रवाफिं भै मोज मजा उडाउन, खराब ठान्यो ऋषि-वृन्दले किन, तँलाइ मालुम् छ कि यो कुरा भन ? अनन्त बाटा बटुवा छ एक यो, विचारमा रङ्मङिदा जनम् थया, छँदैछ शङ्का अब कृत्य हो कुन, तँलाइ मालुम् छ कि यो कुरा भन ? उही कुलो खेत बिऊ सबै उही, उसै गरी रोपिदिए पनी कहीं ? हुँदैन धान्यादिक चैत्रमा किन, तँलाइ मालुम् छ कि यो कुरा भन ? अगाडि अध्यात्मविषे थियो जति, थिएन कि शिल्पविषे उती मति, बनेन होला किन रेल बेलुन, तँलाइ मालुम् छ कि यो कुरा भन ? नयाँ कुनै दुर्विन यन्त्रको रती, सहाय केही नलिई ग्रह-स्थिति, अगाडिकाले कसरी बुझेहुन्, तँलाइ मालुम् छ कि यो कुरा भन ? म निस्कनाले जननी तिमीकन, परेछ यो घोर अनर्थ चिन्तन, म भित्र आएँ अब के छ लस्पस, थपक्क बाबासित शान्त भैबस ।