मुना मदन
समर्पण
हे मेरा भाइ! हे मेरा बहिनी! पहाड शहरमा,यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा।अरु ता मैले के गर्न सक्थेँ! अपढ-अज्ञानी,आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी।घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी।यिनको वास बिर्साइदिन्छ वरको परको,आँसु र हाँसो मिसाइदिन्छ सबका घरको।जो मैले गुँथेँ पहिर भाइ! पहिर बहिनी!प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि।नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल,नेपाली वास्ना भएर निस्के अत्तर देशी फूल,एकान्त वनमा फूलपरी रङ्गमा पस्सिए फुर्फुरी,एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी।नदेख्ने वन कविको मन रङ्गले छर्किन्छ,आँसुको जाल डालीमा हाली विन्दुले रसाए,जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ,कल्पने माली, अम्लान कुसुम,एक डाली गुँथी, गलामा फाली,जोड्दछु हात हे भाइ-बहिनी! बास्नामा रसाए,दिलमा खुशाएस्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मनआनन्द मेरो लखगुना होला सकारे समर्पण!
सज्जनवर्गका प्रति
क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको!यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको!फुलेर जाओस् वैलेर जाओस् ईश्वर-इच्छा हो,पयरपनि नकुल्च, भाइ! यो मेरो भिक्षा हो।यो फलिजाओस्! यो फैलिजाओस्! वसन्त डाकन,झ्याउरे भनी नगर हेलाँ हे प्यारा सज्जन!नरम गररोस्, चरम-चुली उडाई पुर्यातओस्,निर्मल नाला-लहर जस्ता अगर चलाओस्,पहाडछातीमा पो टम्मराओस् डाँडाले दोहर्या्उन्,मन र वन गुँजेर उठून्, छहरा छहराऊन्,शहरभित्र एकान्त खोपी, यो गरोस् उज्यालोझोपडीभित्र यसैले बालेस्, मनको दियालो;नेपाली गेडा, नेपाली दाना, नेपाली रसलेभिजेको मीठो रसिलो गीत, नेपाली कसलेनेपाली भन्ने कसले त्यसै आँखा नै चिम्ललेला;प्रतिभाबाट छहरा छुटे, हृदय नछोला?पर्वत, खाडी, फाँटमा चल्छ झयाउरेको लहरी,स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी,झुप्राका चरी, वनका परी, दिल भल बगाउँछन्,मासा र मासा जनका भाषा हावालाई रँगाउँछन्,नक्कली जीवन, कुटिल विद्या लिँदैन यसमा चाल,भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल;पहिलो कवि पर्वतको पानी निर्मल अधर,हिमाल सारा सङ्गीत धारा प्रथम छरर,कराली टिपी जलबेली कल्क्यो जीवन-सागरलाईबोलूँ कि बोलूँ फूल फुट्न खोजे बास्ना दी अधरलाई,चरीले तर चुच्चाले च्यापी पहिलो पल्लव,झर्नाको स्वर टिपेर कुर्लि प्रकृति गौरव,तिनैका साथी नेपाली जाति घाम र पानीमा;ढुक्कुरे मुटु सजीव भै कुर्ले झ्याउरे वाणीमा,यो नीलो स्वर्ग पार्वती-माइती, छिरबिरे छाया-वन,भत्केर आउँछ जीवनको तार कुर्लन्छ चरी मन,प्रकृति-किरण रङ्ग भै दिलमा भावले छिर्केर,झर्नाको शीतल शीकर उड्छ स्वरमा सिर्केर,दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ,रसको धर्म लिएर पग्ली गीतमा बगिन्छ,नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ,कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ,नेपाली नसाभित्रको रगत पाउँदछ स्पन्दन,यो प्रकृत छन्द-बीचमा सुन्दर रमाउँछ नन्दन,जनको मुटुभित्रकी चरी स्वभावमा कुर्लन्छे,जनको जीवन-नदीकी लहर यसैमा उर्लन्छे,पहाडी वायुमण्डलको ध्वनि गोधुलि-वनको बोल,हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ अनमोल,श्रमको अमृत, प्रेमको पीयूष, जनको रसमा,दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना,झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी,झिल्झिले नाला लहरबेली रुलाइ र मुस्कानी,जनको सच्चा साहित्य यही, जनको नाडी छन्दकविता-देवी झर्दछिन् यहीँ प्रकृत लिई बन्ध,जमीन यस्तो विशाल यहाँ न केही सह्यार,यो नयाँ जमीन बटार्न कोर्न बन्दो छु तयार,झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ,जनको प्यारको चन्द्रमालाई कलङ्क छुनेछ।युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ,खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ।मलाई सानो पातलो गाउँ पहाडी नालीमा,मसिनो सानो वनचरी-कुर्लून् जल बोल्ने थलोमा,शहरबाट सुदूर नीरमा मोहनी कुनामा,गन्धर्व परी नेपाली कुर्लून्, प्रकृत टुनामा।हृदयले नै डोर्यालई भाषा अर्थलाई मन्त्रेर,भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर।मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन,जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन।पेशाले बिग्र्योि कविको धर्म, शब्दले मम्र्मघात,आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात।यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्,आदिम तर नवीन चीजको वजन गुन्नेछन्।यो सानो झ्याउरे गीतको कथा नजर लगाई,टुट र फूट माफ गर्नुहोला सज्जन! मलाई!
मदन भोट जाने बेलामामुना
मुना—
नछाडी जानोस् हे मेरा प्राण! अकेली मलाई,मनको वनमा ननिभ्ने गरी विरह जलाई!ननिभ्ने गरी विरह जलाई!लोचनका तारा! हे मेरा प्यारा! यो जोति बिलाए!के भनूँ? भन्ने म केही थिइनँ विष नै पिलाए!प्यारा विष नै पिलाए!मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,यो छाती मेरो चिरेर खोली नजर गराए,त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए,आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,प्यारा! आँसुले बोल्दैन!
मदन—
हे मेरी मुना! नभन त्यसो, जूनमा फुलेकी!फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी?म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,प्यारी! भेटको बडा दिन!कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,नहाल प्यारी! बाटामा मेरो आँसुको यो बाधा।अनार-दाना दाँतका लहर खोलेर हाँसन,तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन।प्यारी! बिदामा हाँसन।
मुना—
हे मेरा राम! हे मेरा कृष्ण! जङ्गल पहाड,भीरका भोटे, वनका जन्तु, गाईको आहाररातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँजाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ!हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ!
मदन—
नभन त्यसो! बुझन मुना! थुँगा झैँ त्यो पाउ,वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ?हे नागकन्या! पहाड नआऊ!ती यौटी आमा, लच्छिनकी बत्ती, नछाड सुसार,तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार,ती हेरी बसून् यो चन्द्रमुहार!
मुना—
फुलेका केश गलेको जीउ आमाको मायाले,बाँधेन हरे! हजूरको पाउ! मायाको छायाले,हजूर! आमाको मायाले!जङ्गली देश बेपारी वेश सङ्कट सहेरके मिल्छ हरे! तिनलाई छाडी ह्लासामा गएर?हातका मैला सुनका थैला, के गर्नु धनले?साग र सिस्नु खाएको वेश आनन्दी मनले!हे मेरा प्यारा! अमीरी मनले!
मदन—
हे मेरी प्यारी! वचन तिम्रो गड्दछ मनमा,के गछर्यौ मुना! यो सास अड्छ त्यै पापी धनमा।ती आमालाई दूधको घुड्काले गला रसाऊँ,उनको यौटा पाटी र धाराको इच्छा पुर्याडऊँ,यो हातलाई सुनको बाला दँदिलो सुहाऊँ,रिनले थोत्रो घरको जग बलियो बनाऊँ,भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,उचालिहालेँ पयर ऐले, इच्छाले उठायो।ईश्वरमाथि, मुटु छ साथी जङ्घार तरुँलाअसल गर्दा झन् बिघ्न परे बाटैमा मरुँलापृथिवीपारि स्वर्गमा फेरि हे प्यारी! भेटौँला!
मुना—
हे मेरा कृष्ण! मुटुको गाँठो झन् कसी नबोल!तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल!नफर्क प्यारा! नलुकाऊ आँसु नयनमा ढल्मल!!ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी -ती सबै खेलून् ती सबै नाचून् डाँडा र चहुरमा,मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,सवारी हवस् अँध्यारो पारी घर शहरमा!रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा!अँध्यारोभित्र सम्झना बल्ली बिजुली—झलकमाआँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा
पिंजराभित्र जलेकी चरी नबोली रुनेछठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ!क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन!खरानीबाट छिन्छिन बिउँती रुनेछ सम्झना!छहारी दिने रसिलो बादल झुकेको बिलाएशीतको दाना सुकेको फूलखङ्ग्रङ्ग भई सुकेर मूल
वैलेर झर्ली नबोली, बोली को सुन्ला उहाँ ए!प्यारा! को सुन्ला यहाँ ए!सवारी होओस् भन्नै त पर्योन मुख थुनी मुटुकोनरुँदी चरी पिउनेछ मरी आँसुको घुटुकोकमलको मुटु खुम्चेर मर्छभुमरा-दर्शन त्यसमा पर्छतिरमिर छाया मुख बाउँछन् धुइरा शीतले काँप्छ तनप्यारा! शङ्काले काँप्छ मन!
मदन—
पुरुषको प्यारी, सङ्ग्राम संसार, विजय उसको सार!पौरुष विना पुरुष हुन्न तरबार विना धार!सङ्घर्षद्वारा बिजुली बल्छे विक्रमद्वारा दीप!तिमीलाई पाउन म दूर जान्छु झन् आफ्नो समीपदेहको न्यानो नजीकको प्यारी, आत्मालाई बिर्साउँछचौमासको वियोग किन हो ज्ञानी तिमीलाई तर्साउँछदूरतालाई गिज्याउँला हामी तिर्सना चढाईझन् तिखो प्यासले सँगसँगै ह्वौँला मुटुलाई मिलाईतिमी ता मेरी जीवन-ज्योति बाटाकी दियालीननिभ्ने कहिल्यै, नछोड्ने कहिल्यै जीवन अँजालीतिमी छौ पर भन्ने यो डर मलाई हुँदैनहिमालपारि हिमालवारिकल्पने चरी भुरभुर गरीतिम्रो त्यो अमर प्यारको मुटु पङ्खले छुँदैनप्यारी! पङ्खले छुँदैन!पुछ्नद्यौ आँसु नजरका दाना बरबर गुडे झन्पर्वत-खाडी सागरले छेक्छन् प्याराका जोडी कुन?कालको वारि, कालको पारि एक वस्तु अमर छदुइटा जोडी दिलको प्यारदुइटा आत्मा जोडिने तारदेश र काल नाघेर चल्छ इश्वरको वर छ।सँभाल मन ए मेरी जून! यो छोटो बादल होनिर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल योडाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्नपङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न?प्यारी! तानिए फर्कन्न?नमान डर ईश्वर छ भर बुझाई बसे मनअँध्यारो हुन्न सधैँलाई प्यारी! फर्केर आउला दिन!
मदन भोट जान्छन्
डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार,भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार,कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको,सिम्सिमे पानी, बतास चीसो बरफ झैँ डुलेको।मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका।बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामामदन ह्लासा झलझल देख्थे ब्यूँझिँदो स्वप्नमाकल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दीह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी!स्याउला चीसा, ओछयान खासा जाडोले बज्ने दाँत,पकाई झिक्ता नखान पाई काँचाको काँचै भात।
बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामामदन ह्लासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमाकल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दीह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी।
आखिर ठूलो सुनको छाना साँझमा सुहायो,मैदानतिर पोतालामनि ह्लासा नै मुस्कायो।आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,सुनको छाना, दरबार अजङ् त्यो दले लामाकोचौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको,रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको।शीतल पानी, हरिया पात, हिउँका टाकुरा,शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा।कीचको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल,यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल।ती हस्तिहाडसरिका सेता, भोटेनी भरखरका,आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका।खौरेका शिर भोटेका गुरु, ती माला फिराई,गम्भीर चाला, गडेका आँखा अनौठा लगाई।‘ॐ मणिपद्मे ॐ मणिपद्मे’ भनेर हिँडेका,कपाल थापी आशीर्वाद मागी बटुवा बढेका।त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा,ह्लासाको शहर क्या लाग्दो रहर सुनको झलकमा!
हिमालको आकाश किनारापारि बुद्घको शीतल घामसुनौला बादल नगरी जस्तो गन्धर्व —परी —ग्राम,विपनाभन्दा सपना राम्रो यथार्थभन्दा भाव,स्वर्गमा यात्रा गरे झैं चले बबाटाको बिर्सी ताप,ह्लासाको झल्के सुनका छाना उनका आँखामा,रङ्गीन फल नौरङ्गी फुले उत्तरका शाखामा।दुधले न्वाउँथिन् भोटकी रानी, फुलमा सुत्त थिइन्,हिमालको हिउँसँगैमा स्पधौ छालाले गर्दथिइन्,गुलाफसँग दाँजिनुपथ्र्यो ऐनामा गाला रे।एक राज्य किन्ने गलामा उनको रत्नको माल रे।फुलको मह सहेली टिप्थे वागमा छानेर,मणिको प्याला उचाली प्यूँथिन् आनन्द मानेर,तरंग यस्ता हजारौ चले मदनका मनमासुनेको माथि कल्पना लागी रंगिलो क्षणमा।बाटो त सार्होल यमालो ठाडो कहीँ छ बित्ते भीर,कहीँ छ डोरी टाँगेको पूल कहाली रिङ्ने शिर;पातलो उचाईं धप्काउँदो फोक्सो मुटुलाई फोरेरगरल लीला पर्वतमाथि पर्वत चढेरतपस्वीलाई निर्माणनिम्ति चढाई कठोरहजारौं सही भएझैं विफल कष्ट भो अघोरबीचबीचमा तर अमोल झल्क्का पाइन्थे पथमा,नन्दन जस्ता फुलेका जङ्गल पहाडी पटमा,आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा,प्रकृति उनलाई छक पारिदिन्थिन्, झल्काई मुटु वाः।बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्रगर्जनतल, इन्द्रेनीतल,झुल्कन्छ घाम, तल छ जलमाथि छ मानव स्वर्पुरमाझै चुलीमा पवित्र।स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,चरण फयाँकि बाँसुरी तालमा, अप्सरा लजाई,सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र।पृथिवि भरमा क्वै जाति भए नेपाली के कम छ?मनमन भन्थे मदन त्यहाँ यहाँ क्या जीवन छ।हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव तपस्वी,विश्वमा नेपाल विक्रम—तेजले हुनेछ यशस्वी।कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले,गुन्जायमान शीतल पर्वत शीकर दानाले।अमृत जल त्यो भन्दा मीठो पृथ्वीमा पाइन्न,प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न।ढुङ्गाको दाँत,झन् तीखो बतास दार्हा नै किटाउने,विचित्र जन्तु सैरने बन गोधूली—छायामा,कालीको बाहन फुकेर चर्ने मिर्गका कायामा।कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोलशहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल!जीवनको मीठो आनन्द चर्को हरियो हावामाउद्गार गरी थरी र थरीफुर्फुरी गर्ने भुर्भुरी लिने,उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा!पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा!क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी,भीषण काली क्रोधमा तर,नङ र चुच्चो लोहित हुँदी आँधीको भुमरी!कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेकाअत्तर बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलका,सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा,देखेर मदन गदगद हुन्थे विचित्र मिठासमा,मिर्गको पाठो कोमल चिल्लो फुर्फुरे शैशवमा,चाञ्चल्यको नै आनन्दस्वरुप फुर्केको रहरमा,इन्द्रेनीराज्य फुलारु बाक्ला जङ्गल नाघेरमदन चढे पर्वत ऊँचा हिमालमा लागेर,पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल,काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल,दिनले लिँदा पहिलो झुल्को सगरमाथामा,उषाले बाल्थिन् लखबत्ती-चुह्ली सुनौला ज्वालामा,एकान्त त्याहाँ शासन गर्थे साम्राज्य सेतोमातपस्या त्यहाँ शान्तिमा चढ्थिन् स्वर्गको बाटोमा,बिहानी लाली घसेर आउँदा प्रथम गुलाफ,सृष्टिको पैह्लो ललित रङ्ग धम्काउँथ्यो रवाफ,मानिसलाई चुनौती दिने हिउँका टाकुराडुबुवा दिनले छोएर बल्थेप्रकृति-मन्दिर सुनौला गजूर धप्के झैँ हजारौँ!विशालताको रोमाञ्चकारी हिमाली स्वरुप,विभिन्न पाटे भएर झल्को दर्शाउँथ्यो अनूप।करुणाजस्तो कोमल निर्मल हिउँको कया छ,भूभरको ऊँचा भएर भूमा पग्लिने माया छ।रहस्य यौटा अवश्य राख्थ्यो स्वर्गिक चुली खास,उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास।सकलयुगको इतिहास जानी निश्चल तपस्वी,सागर भेटी बादल फ्याँक्थेआसिकजस्ता वर्षालु स्वरमा नेपालमा यशस्वी।जूनले लस्दा हिमाल महल कान्तिलृ कोमल,चाँदनी स्वर्ग, चाँदिलो सपनाअमृत-जलप-निवास बन्थ्यो उमाको शीतल,पीयूष-जलमा छायाको सार झल्के झैँ मञ्जुल।एकान्तलाई त्योभन्दा ठूलो विलस थिएन,संसारी विष निभाउन शीतलतयोभन्दा र्को भूतलमा कहीँ स्थल नै थिएन,अनेक गङ्गा निर्झर नाला आँसु झैँ दयामा,पग्लेर स्वतः बर्बर झर्झर्तपस्वी लोचन हिमालीबाट झर्दथे दुनियँमा।श्यामल धन नेपालको भन कसको वरदान?जलडोरे अनेक सभ्यता युगका कसको प्रदान?उच्च र गूढ भावको क्षेत्र हृदय सङ्लाउने,आश्चर्य के छ भारत खोज्थ्योत्यो दिव्य मीठो आभास सधैँ आत्मालाई जगाउने।उचाली आफ्नो मनको तह तरङ्ग उचालीहिमाल-प्रदेश पार गर्थे मदन हृदय उचाली।धूपीका घारी सल्लका घारी पर्वत चढेका,हिमालका ज्यादा नजीकका शिशु ती हेर्थे बढेका।पृथिवी अब पातलो उँचाइ लिएर नङ्गिन्छिन्,छ मास हिउँको सिरक ओढी छ मास फुङ्गिन्छिन्।बतास भो तीखो, हिमाली श्वास सियो झैँ कडा भो,भोट जाने युवा हिउँको लामो लहरमा खडा भो।बुर्बुरे चीनी हलाले छानी सल्लाको सियाभर,पवित्रताको पीठोको धूली पर्वतमा छरबर,शीतमा थियो अग्निको जलन पैताला जलाउनेहावामा थियो पातलो पन फोक्सोलाई फुलाउने,बतासले दार्हाा किटेृर टोक्थ्यो साँझमा मुटुलाईभोटेली पोशाक दोचा र भुत्ले टोपीले उनलाई,सुकुटी चिया भेडाको धुली चौरी दुध गट्टालेबचाए बल्ल क्या कष्ट पाए बाटामा पठ्ठाले।प्रकृति देवी मानिसप्रति क्रूर र निठुरीभएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी।उब्जनी छैन, खानलाई छैन, प्यून नदारत,बल्ल र तल्ल सँभाली सामलनेपाली साँघु भोटेको त्यो दल—सँगमा मदन जिनतिन चले कष्टको कडा पथ।अनेक दुःख बाटामा सही देखेर उदेकएक मैन्हापछि मदन पुगे ह्लासाको नजीक।
अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी,बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी।कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्योपसु की फूल झैँ सुकेर गइन् आँसु नै बर्सन्थ्यो।लाम्चिला आँखा पुछेर गर्थिन् सासूको सुसारकोठामा सुत्ता तकिया भिज्थ्यो चिन्ताले हजार,ती दिन लामा, ती रात लामा, ती दिन उदासी।अँध्यारा रात, उज्याला रात जून नै उदासी।झ्यालमा आँसु मुनाको मन चिन्ताको आहारा।स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैँ,एकान्तभित्र उठ्तछ गाना विरह बोले झैँ।चिन्ताले लाखाँ लाग्दैन आँखा सपना प्यारो छ,सपनाभित्र उनलाई देखे उठ्न नै गार्होय छ।सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्,दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन्।मनको दुःख मनैमा राख्छिन् नबोली, छिपाई,छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई।उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिप्धिप्मा,वैलिँदा फूल झन् हुन्छ राम्रो शरदको समीपमा।बादलको कालो किनार चाँदी, झन् जुन उज्यालो,विदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो।फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल,रातका आँसु तारका ज्योति, टप्कनछन् महीतल।गुलाब मीठो जरामा बन्छ कीराको आहार,शहरभित्र फुलेको फूल दुष्टको शिकार।मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ,मानिसलाई बाटामा काँढा मानिस छर्दिन्छ।अत्यन्त राम्री यी मुना हाम्री भ्यालमा बसेकी,शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी।भवानीलाई कातेर बत्ती बेयाद रहेकी,गालाको पाटा कानको लोती, कपाल घुम्रेकी,त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर,घरको वर, घरको पर त्यो घुम्थ्यो गएर।
मदन भोट जान्छन् - १
गुलाबलाई देखेर राम्रो हे भाइ! नछुनू!लोभले हेर्योे; मोहनी गयो जङ्गली नहुनू!सिर्जनाभित्र रचना राम्रा नजरका जुहार!ईश्वरको हाँसो पाएका फूल छोएर नमारभित्र छ आत्मा मसिनो तिनको पत्तीमा झल्केकोभित्र छ तिनको मसिनो बास्ना हावामा बल्केकोसुन्दर सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा।गुलाफ आए सुहाउन पृथ्वी दिव्यका मुस्कानलेबोलाउन आप्ना आत्माले आत्मा सुन्दरको आह्वानलेलोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,लज्जाले खुम्ची भाग्दछ देहीके माटोबाहेक हात लाग्ला केही?मुस्कान देऊ फुस्कन देऊ बास्नामा मधुर,बास्नाले मात्र सौन्दर्य छोऊआँखाको लोभ आँसुले धोऊसिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले।घरमा आई माउर लाई नैनीले मुस्काई,हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे समाई,‘कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको!चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको!मोतीको दाँत, हीराको जात हजूरले हाँसेको!छ मैना भयो खसम हजूर! गएको ह्लासामा।बिस्र्यो है क्या र? हजूरलाई तरुनी-खासामा।यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन्?’मुनाको गाला, आगोको ज्वाला जलेर उदायो;आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो।खामोस खाई दयाले भन्छिन्, “हे नैनी भाउज्यू!म अरु जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू!यी कुरा गर अरुका कान, जो सुन्छन् लिई चाख,जोवनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख।चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल,यो मेरो मन डगाऊँ भनी नरच यो जाल।गुलाब जस्तो फुलेको दिल कोपिला हुँदैन,जो एकबाजि सुम्पियो बुझ्यौ सो आफ्नो हुँदैन,स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कुँला,त्यो पाउलाई समाई फेरि स्वर्गमा बसुँला।यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,के भन्नु माथि बाबुको अघि हिलोले बिगारे!दयाले नैनी! ईश्वरले सिँगारे!पापको भारी बोकेर फेरि उक्लनु कसोरी!मनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी,नैनी! फिर्दैन यसोरी!स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को,आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र,जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र,मानिसहरुको मनको जगत् गर्दिन्छ पवित्र।ती तिम्रा आँखा रसाई आए, परेला अडेको,आँसुका ढिका क्या राम्रो देखेँ अगाडि बढेको!हे नैनी दिदी! मनको मैलो आँसुले पखाल्छ,आँसुका थोपा आफैँमा असे यो मन उचाल्छ।यी मेरा कुरा गएर तिमी अरुमा सुनाऊ,आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ,नभएदेखि सङ्घारवारि हे नैनी! नआऊ!’‘बिराएँ हजूर, माफ रहोस् कसूर’ नैजीले जोडी हात,भुङ्ग्राले जल्यो उसको गालामानव–आत्मा पतनमा पनिनिदाइरहन्न लौ हेर! चालाअन्तरले उसको के भोग्यो होला शरमको बज्रपात।त्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमासुतनेलाई त्यस्तै जगाउने शक्ति सतको वचनमा,भाइ! सतीको वचनमा!सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ,त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ।तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको,सुनले छाएको गुलाबी घर फोडाङमार्पोकोचुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा,अस्कानी पुल यूतोक स्याँपा घाँसका गलैँचा,फूलबुट्टे चउर घाँसका बगैँचा।चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो,कस्तूरी-वास, सुनको रास, बाटो त उकालो,आएर बसी के जानु चाँडै नबुझी नौलो चाल,मित्यारी लाई मदन बसे घरको बिर्सी हाल।छ मैना गयो, सात मैना गयो मन भो झसङ्गती मुना प्यारी, आमा बेचारी मन भो झसङ्गमनमा आए लहर नाघी जङ्घार तर्योम पार,मनले उनको पखेटा हाल्यो उडेर गयो घर।बसेको बस्यै घरमा पुगे आमा छन् बिरामी,मुनाका आँखा रोएर ठूला, नयन बदामी,लाम्चिला, ठूला नयन बदामी!घ्याङ्घुङे घण्टा गुम्बामा बज्यो, बादल झुम्मियो,पहाडमनि पहाडी छाया साँझमा लम्बियो।बतास चीसो चम्केर आयो मनको तन्द्रामा,उठेर देखे भेडाको भुवा ओढेका चन्द्रमा।उदासी जून, फिकामा गए मदन डेरामा,ती आमा नाचिन्, ती मुना नाचिन् आँखाको घेरामा।त्यो रात त्यसै छर्लङ्ग गयो, ओछयान बिझायो,छातीमा केले थिचे झैँ लाग्यो आकाश रछायो।छबीस दिन उज्याला पङ्खी हिमालमा ब्यूँझेरपश्चिमी सुनको सागरपारि गएछन् उडेरगोसाइाकुण्डको धेरै नै पानी गङ्गामा बग्यो हो,ह्लासाको जादू घरले जित्योनेपाल–खाडी निर–किल्लाभित्र स्वप्नमा अड्यो हो,साहुका साथ सिकेर किल्ली बेपारमा चलेथेतीन मैना चल्दा क्यै गुठिल जम्मा भएर फुलेथेकस्तुरी असल बिनाका बिना बटुली सह्यारेशिलाजित बूटी उत्तम केही बटुले त्यहाँ रेसुनका माल प्रशस्तै मिले लगाउँदा लगानीआफूलाई चाहिनेसम्मको धन कमाए त्यहाँ नि!ओखती केही लगेका थिए एक लामा धनीको,दमको व्यथा निमन भयो भाग्य नै बनिगो,आफूले उनले चिताएभन्दा रास थियो सुनको,नेपाल फर्की जानै भो इच्छा अब ता उनकोलुकाई गर्हौँो सुनका थैली, कस्तूरी सह्यारी,ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी।
मदन भोट जान्छन् - २
‘सपना मैले के देखेँ आज? भैँसीले लघार्यो्,यो मुटु काँप्छ त्यो भैँसी सम्झी, हिलामा पछार्योन,बज्यै! भैँसीले लघार्यो्।’‘बुहारी मेरी! शीतको सपना पिर्दैन खराब,खराब सपना त्यो बिर्सिजाऊ डरले नकाँप।फुलेको शिर म थापिदिन्छु सबै त्यो खराब,हे छोरी जस्ती बुहारी मेरी! त्यसरी नकाँप।’‘दाहिने आँखा फर्फर गर्छ मनमा लाग्यो पीर,कहाँ हो कहाँ मुटुमा दुख्छ, घुम्दछ मेरो शिर।आमा र बाबु स्वर्गमा मेरा, टुहुरी अजान,हजूर नै आमा, हजूर नै बाबु, खोल्दछु मुहान,बज्यै! मनको मुहान!’‘कसैका माथि कुभलो हाम्रो मनमा बसेन,पापको छाया यो हाम्रो सानो घरमा घुसेन।दैवले देख्छ सोझाको दर्द, दैवले हेर्दछ,दैवको बज्र ओर्लेर आए ममाथि पर्दछ,फुलेको केश, ममाथि पर्दछ!’‘धेरै नै भयो खबर केही आएन ह्लासाको,चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको।’‘बेपारीलाई कामको भीड फुर्सद पाएन,लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,वनको बाटो डाँडा र काँडा, टाढा भै आएन।’‘नमान पीर बुहारी मेरी पीरले सुहाएन’‘तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;खराब कुरा नसोच्नु भन्छन् अफाल्दा फर्किन्छमुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छहजूर! आँखिभौँ फड्किन्छ।हजूर, हाम्रो अबला चोला आधार हुँदा दूरसुकेको पात झैँ शीतको बेला,हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूरमुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरीउडूँ कि बसूँ सरि छ जीवन हाँगामा फर्फरीहिमाललाई हेर्योि मन चीसो हुन्छ पर्वत हैर्यौ नीर,हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर?हजूर! के गरी रहूँ थिर?’‘नमान पीर बुहारी मेरी! असलै हुनेछ,फूल झैँ छोयौँ संसार हाम्ले,न मान्छे न त दैवले हाम्लाई काँडालै छुनेछ।’
मदनलाई बाटामा हैजा लाग्छ
‘नछाड मेरा हे साथीभाइ! वनमा मलाई,काग र गिद्धहरुको पापी शिकार बनाई।घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्।हे मेरा साथी! हे मेरा भाइ! म अझ मर्दिनँ,कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ,यो घाँटी सुक्यो; यो छाती पोल्यो; यो आँसु पुछन,अझ छ सास, अझ छ आस, यो दर्द बुझन।आशिष देलिन् ती बूढी आमा मलाई बचाओ!मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो।यो घाँटी सुक्यो म पानी खान्नँ! बिझायो यो घाँस,घाँसको चोसा दयाले मर्छ; आँसुले पियास!’‘के गर्छौ भाइ! टाढाको घर बाटाको जङ्गल,यो हैजा हाम्ले कुर्हेछर बसे हुँदैन मङ्गल।औषधिमूलो साथमा छैन यो माझ वनमाईश्वर सम्झी ईरश्वरै सम्झी रहे है मनमा।घर र बार सबैले छाडी जानु त पर्दछ,अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ।’हातले टेकी मदन उठे ती साथी गएछन्पश्चिमतिर दिनका आँखा रगतमा डुबेछन्।वनमा फीका अँध्यारो चढ्यो, हावा नै निदायोपन्छीले सारा बोल्न नै छाडे, जाडोले सतायो।दुर्दशा त्यस्तो, निठुरी सारा जङ्गल पहाडनिठुरी तारा जगतै सारा निठुरी उजाड।पुर्लुक्क पल्टे घाँसमा फेरि सुस्केरा दिएर,घरको तस्बीर मनमा उठ्यो झन् गाढा भएर।‘हे मेरी आमा! मलाई तिमी सम्झँदिहोऊ नि!हे मेरी मुना! मलाई तिमी सम्झँदिहोऊ नि!ईश्वर! ईश्वर!! तँ मात्र मेरो वनमा साथी छस्,मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस्।आगोको ज्वाला कताको होला? डढेलो उठ्यो कि,मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि?नजीकै आयो मानिस यौटा लिएर चिराकडाँकू पो हो कि? भूत पो हो कि? वनको खराब।पयोमा यौटा झुण्डेको सास के भर, के डर?’भएको बल गलाको पुग्छ चिराक पल्तिर।को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामीमायाले भन्छ, ‘साथी र भाइ रहेछ हरामी।मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,म बोकी लान्छ, हुन्छ कि हुन्न? फरक पर्दैन।’भोटेको पाउ समाई भन्छन् बिचरा मदन,‘ईश्वर मेरा हे भोटे दाइ! क्या राम्रो वचन!घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी,घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी।मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछमानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ।क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन;मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।’बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,पानीको घुट्का पिलाइदियो दयाले रसायो।खोजेर ल्यायो वनको बूटी घोटेर पिलायो,चौँरीको दूध पिलाईकन बलियो बनायो।हिमालको बूटी विचित्र थियो जादूको दियो कामत्यो भोटे दैव नभए कठै जान्थे ती परमधाम।वनका बीच घरेलु चिल्लो झुपडी टुमुक्कगोबरमाटे—फूल टाटेपाटे,वनको कोही देव र देवी घुस्ने झैँ सुटुक्क,हाँगाको टेको, हावाको छेको ढुङको गाहारोमदनलाई लाग्यौ महलभन्दा धनी र पियारो,भेडाको ऊनको बिछ्यौना नरम आढ्नालाई पाखी छ,त्यहाँको जीवन वैकुण्ठ जस्तो उनको लागि छ,मुस्कानमा छैन मान्छेको छुरी, वचनमा छैन विष,हावामा छैन दूषण केही, मनमा राग रिस,दारिद्र्य त्यहाँ क्या धनी थियो थोरैमा कति धेर।चाहिँदो रैछ के सुखलाई? प्रकृति भएनेर।हरियो थियो आँखाको शीतल प्रकृति रङको धनशहरमा भरी जीवन भन्छन् जीवन थियो वन!नकली ज्ञान पोथीका भन्दा, फूल–पाना हँसिलारङ्गिला पत्र प्रकृतिदेवी उल्टन्थिन् रसिला,ईश्वरको ज्योति टल्कन्थ्यो त्यहीँ शीतका दानामा,क्या बोल्थ्यो ईश्वर पखैरुबाट रङ्गनि गानामा!फूलको बोट उम्रेको हेरी मान्छेले पाउँथ्यो ज्ञान,सुँघेर बास्ना लट्ठ भै आत्मा भोग्दथ्यो क्या निर्वाणलामाको जीवन प्रकृतिबीचमा बनेली मुटुमाबुद्धको टकले झिल्केको थियो निर्वाण–पथमापन्छी र पशुहरूको साथी अहिंसा विचारीरूखको ढुकढुक, फूलको धड्कन,ज्योतिका पथमा बीजको स्फुरण,समस्त तिनको रहस्य जान्ने प्रकृति–पुजरीरहेछ लामा एकान्ततामा विलासिरहेकोदेख्तामा झुत्रो, भित्र त्यो कत्रो! विशाल भएकोचौँरीलाई पाली, फलफूल हाली, बटुली जहानपाल्दथ्यो यौटा आदर्श ढङ्लै कुटीमा सुबानरहस्यमय अदृश्यसँग बसेको रमाई,उदारताले हृदयद्वार जीवनलाई झिाई,रोग र व्याधि निखार्न सक्ने मन्त्र र बूटीले,मदन तङ्ग्री मोटाए पोसी त्यसका कुटीले,हिउँले ब्रह्मा बनाइदिन्थे उसका कुमारी,गालामा उषालालीले रङ्ग दिव्यले मुसारी,वनकी देवी जस्ती थी छोरी बृद्धको पालाकीउसको नाम थियो है लावा कोमल चालकीकुमार उसको तेजिलो थियो फुचाको नामकोबर्षमा बार्हे गजबकौ तर जेहेन र कामको,पशु र पन्छी सबेको बोली मुठीले निकालीभाले र पोथी लागाउथ्यो बोल्न विचित्र कला ली,महीना बित्यो मदनको त्यहाँ प्रकृतिबचिमाअचम्म मानी आनन्दमाथि हिमालनगीचमाबाँसुरी मधुर बजाउँथ्यो फुचा रोएर सुन्थे ती,सुरिलो गीत गाउँथी लावा बरबर बन्थे ती,कलुषशून्य तिनको जीवन सत्युग समानदेखेर त्यहीँ बसूँ झैँ लाग्यो सधैँ नै नजानतैपनि मेघ दक्षिणको आयो नाघेर हिमालजलको कुइरो पातलो बनी,‘कोही छ रोइरहेको’ भनी,सम्झना दिँदै अबोल बोलमा मसिनो जञ्जाल,पन्छीको उठान मनले टिप्यो धराको घेरापारघर जाने इच्छा दिलसँग बढ्यो फुटेन मुखको पारवैशाख लाग्यो पल्लवमा पन्ना, फूलमा इन्द्राणीचरामा कलकल, साँझमा लाली,ढुकुरमा कुकुर, डाँफेमा फुरफुर, क्वैलीमा सुवाणी,नालामा छलफल, हिमालमा झलझल, हाँगामा फुर्फुर,मुजूरमा ढाँचा, हरिणमा कन्याइ, मिर्गमा छुर्छुर,लहरा हल्के हल्लेर फुल्की मधुम, गुनगुन भो!नवीन मीठा कलकले वन शिशु–शिर छुनमुन भो,वास्नाका कण दुगुर्न थाले, पोथीलाई बोलाउन,शब्दले डाक्थ्यो मुटुको शब्द,प्रश्नका साथ उत्तर लागे वनलाई गुञ्जाउन,सृष्टिले नयाँ नाटक रचिन् आनन्द चञ्चल भो,प्रमको राज्य हरियो भयो, जीवन हलचल भो,पूर्णिमा आइन् हिमाल–भालमा बाटुली बनैरअमृत थाली झिलमिल पाली,जादूको जाली शीतल हाली,चराचर–दिलमा जलप लगाई हिमाल सपनेर,वर भो यौटा द्यौथल सुन्दर जूनको जलपमा,परीको संसार स्वप्नको मुहार शीतल झलकमा,जुनेली फूल फक्रेर आए हृदय खोलेरपातला पात भै पारदर्शी जूनसँग बोलेरबुद्धको थियो उत्सवको रात उज्यालो खुलेकोविशवमा शान्ति मनमा कान्ति,चराचरलाई नवीन जीवन अमृत मिलेकोलामाले लियो बाँसुरी हातमा वनको बाँसुरीजनको मन कुर्लने भन,सङ्गीतको आत्मा अटाउँने खाक्रो प्वालसुरे बाँसुरी।टिरि र लिरि बाँसुरी बोल्यो अबोला बोलाई वनलावा र फुचा हातपाउ फाली,तालमा नाचे शरीर चाली,बुद्धको जीवन–कथाको सारमा भावले नाच्यो मन,गीत गाए तब लामाका जहान मिलेर वनमाभोटेको छन्द दोसाँधे मिठास शब्दको बन्धमामदनको आत्मा बुद्धको लोकको मुक्तिमा रमायोउनले टिपे तलको गाना हृदय रसायो–
वैशाखको पूर्णिमा
वैशाखको पूर्णिमाहेर हो हिमाल जून!रातको कालो वर्णमाअमृतको यो थालीलेझलमल पार्ने कुन?स्याब्बो च्याङ्बा। स्याब्बो च्याङ्बी!संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन!तारा-झुप्पे यो रुखमनिकसले लायो धून?चूलीमा पुग्यो बाटो गुनीआँधी नाची, पर्वत नाघी,संसारलाई लाउन गुन?स्याब्बो च्याङ्बा! स्याब्बो च्याङ्बी!आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन?आकाश उनको छाती होकरुणा धारा सुनतारा आँखा राती हो,माटी—जरामा बन्चरो दीकाललाई जित्ने कुन?स्याब्बो च्याङ्बा! स्याब्बो च्याङ्बी!अमृत झल्क्यो संसारमाथि हेर! ऊ ज्योति! हिमाल जून!
पानीले पान्यो आकाश नीलो
पानीले पान्र्यो आकाश नीलो, पखाली तुवाँलो,कौसीमा लाग्यो क्या राम्रो जून स्वर्गको उज्यालो।सिरिरि सिरि शीतल हावा, सुन्तला फुलेको,क्या मीठो वास्ना मधुर मसिनो, जूनमा मिलेको।जूनको विमल –अमृत–जल– तलाउ–छायामा,नरम, मधुर सरस, जगत्, जीवन झैँ मायामा।नीदले छोडेकी कोइली बोल्छे जुनेली रातमा,जीवन देश बोले झैँ प्रीति मनका पातमा,क्या मीठो त्यसको सुरिलो स्वर रातको कलिलो,मनको तिर्सना सपनाभित्र घुसे झैँ रसिलोगमलामाथि केँबरा झुल्छ, गुलाब बोल्दछ,छायाको बुट्टा पर्खालमाथि ज्यूँदो झैँ चल्दछ।नीलो छ सारी ताराको पारी मुनाको गाथमा,भावका जल–महल–लोचन कोमल छन् रातमा।चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौसी र आकाश,स्वर्गको अटाली हाँस्दिछिन् यौटी, यौटी छन् उदास।यो देश छैनन् उनका आँखा, मनका चित्रमा,गडेको टक छ अरु देश जूनका भित्रमा।सम्झना झुम्मियो बादल जस्तो चन्द्रमा हराइन्,विरह जस्तो अँध्यारोभित्र, एक आँसु चुहाइन्,मुनाले बोलिन्, ‘हे मेरा कृष्ण! मलाई भुल्यौ नि!निठूरी मन लिएर भन, कसरी डुल्यौ नि?कृष्ण! कसरी डुल्यौ नि?मुहार तिम्रो जुहार मेरो नजरको हरायो,कुन पापी दैव आएर चोरी कुन देश फिरायो,सम्झनालाई छायाले छकायो!पहाडवारि पहाडपारि पर्दाले ढाकेको,स्वरुप तिम्रो खालि छ मेरो मनमा जागेको,झल्झली देखी विरह लागेको!वचन तिम्रो तारमा मनको निदाइरहन्छ,सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ,दुःखको कानमा सुखको कथा बजाइरहन्छ।पखेटा छैनन् उडेर जान चिडिया उडेका,हेरेर बसी आँसुका थोपा गहमा छुटेका,देखेनौ तिम्ले कतिका थिए छातीमा गुडेका!किन हो किन, यो मेरो मन बादलले ढाक्दछ,सियोको टुप्पा नदेख्ने गरी मुटुमा लाग्दछ,प्राणको मेरो पखेरु रुन्छ पिँजडा परेको!न उड्न पाई, न खोज्न पाई चिन्ताले पिरेको,उडन पाए त्यो पाउमाथि लुटुपुट पर्नेछत्यो छातीमाथि गएर फेरि भुर्भुर गर्नेछ,सधैँको निम्ति साथमा फिर्नेछ!पैसाको यस्तो भुमरीभित्र किन हो पसेको?मनको धन छाडेर किन ह्लासामा बसेको?हे पैसा! तैँले पासोमा पाछस् सिंह झैँ हृदय!सोझाको सराप असलको विलाप, दुष्टको अभय!पैसामा भुली बिर्सेको हो कि? कसैले भुलायो?प्राणको मन छकाईकन अरुले डुलायो?बिर्सनुपर्ने यसरी होइन! भमरासरी मन!के भर त्यसको? नलागोस् पाप पापी छ मेरो मन,प्राण! पापी छ मेरो मन!पहाड त्यस्तो! जङ्गल त्यस्तो पथरा पर्यौै कि?मलाई सम्झी दुःखमा नजर आँसुले भर्यौ् कि?प्यारा! आँसुले भर्यौय कि?कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि?सुसार कसले गरेको होला? अकेला थियौ कि?प्यारा! अकेला थियौ कि?हावाले लगे मनको चिठी, मन रुने थिएन!तिमी छौ पर, म रुन्छ् घर, बिन्ती नै पुगेन,प्यारा! रोएको पुगेन!हे पशुपति! हे गुह्येश्वरी! प्याराको गाथमा,नबसोस् ध्रूलो, नबिझोस् काँढा, मङ्गल होस् साथमा!’मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,भरिई आयो, भरिई आयो आँसुले नयन झन्!
राता र नीला पहेँला फूल वनमा फुल्दछन्
राता र नीला पहेँला फूल वनमा फुल्दछन्,छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन्।दक्षिणतिर किनारातिर फड्केको बादल,भोटेको घर मदनअघि नेपाल झलझल,नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,हिमालचूली बिहान खुली उत्तर हाँसेको!पहाडहरुको नीरको माला नेपाल शहरको,लुर्कन जस्ता रुखका लहर शिखर किनारको,बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा,उज्यालो पाटा छायाका टाटा, पहाड टाढामा,दूधका झर्ना झरेका सेता सतह गाढामा।दूबोको बारी त्यो टुँडिखेल रुखले घेरेको,धररा उठी शहरमाथि गजूर भिरेको।आकाशलाई छातीमा राख्ने त्यो रानीपोखरी,त्यो कान्तिपुरी, केँवराकेश उज्याला सुन्दरी,साँझमा गाग्रो कटीमा राखी अँगालो हालेका,मस्केर चल्ने लाजले बल्ने, कपूरमा ढालेका।विचित्र त्यस्ते त्यो चित्रकारी झ्याल र ढोकामा,पीपल ठूलो बोलेर उठ्ने हावाको झोकामा।त्यो सानो घर पीपलनिर, भ्यालमा मुनियाँ,ती बूढी आमा, ती प्यारी मुना, मनका दुनियाँ।आमाको बोली, मुनाका आँखा, दिदीको रुलाइ,कौसीको ज्रन, गमलामाथि फूलको झुलाइ।फर्केर हेर्छन् मदन फेरि भोटेको आँगन,क्या राम्रा बच्चा, क्या राम्रा पाठा खेलमा मगन!हेरेर फेरि भोटेका तर्फ मदन बोल्दछन्,हृदयभित्र लुकेको इच्छा ओठले खोल्दछन्,‘हरियो भयो डाँडाको मुख फूल फूल्यो वनमा,टाढाको घर झल्केर आयो हे दाजु! मनमा।कलिलो राम्रो पालुवा होला नेपालमा लागेको,त्यो आलुबखडा हाँसेको होला वसन्त पाएको,हरियो चिल्लो जोबन होला वनमा जागेको!वास्नाले मीठो चलेको होला हावाको लहर,रुख र लहरा झुलेका होलान् सिहर सिहर,खोलामा होलान् घाममा खेल्न छविला लहर!‘वसन्त लाग्यो! वसन्त लाग्यो!’ भन्दी हो कोइली,डुल्दी हो लिई अनेक रङ्गी फूलका सहेली,दुई दिल मिली फुलेकी बेली, मगमग चमेली,बगैँचाभित्र स्वर्ग नै होला हाँगाको हबेली,जोबनका गालामा लाजको लाली फुलेको गुलाब,पानामा सेता सुनका अक्षर, चम्पक किताब,पहाड–किल्ला चूली उपल्ला श्रीपेच–सरोज,रक्षाका निम्ति ती पशुपति मुटुमा विराज,वीरको देश, धर्मको गादी, शक्तिको आँकुरा,पछिको बढ्ती देखाई उठ्छन् हिउँका टाकुरा,त्यो देशभित्र त्यो सानो घर, झल्झली फिर्दछ,बिर्सेको रिन सम्झनाकन आँसुले तिर्दछ।सम्झँदिहुन् ती डाँडाकी ज्रन, आमाले मलाई,वनको छेउ म टाढा बस्छु त्यो घर रुलाई,तिमीले लायौ सधैँको गुन, म तिर्न सक्तिनँ,सधैँको ऋणी, म तिर्न सक्तिनँ!दुइटा मैला सुनका थेला वनमा गाडेको,यौटा हो तिम्रो यौटा हो मेरो गुनले बाँडेको,यो तिमी लेऊ बिदाइ देऊ, म घर हिँड्दछु,यो तिम्रो गुन सधैँको सम्झी अगाडि बढ्दछु।’भोटेले भन्छ,‘के गर्छ मैले पहेँलो सुनले?रोपेर सुन उम्रन्न क्यार के गर्छ सुनले?रोपेर राख्यो, पछि पो खान्छ यो तिम्रो गुनले,बालक मेरा यी छोराछोरी, आमाले छाडेको,के गर्नु सुन? के गर्नु धन? दैवले चुँडेको,यो केटाकेटी खाँदैन सुन, लाउँदैन गहना,आकाशमाथि जहान मेरो बादल छ गहना!’भोटेका बच्चा काखमा राखी, कपाल मुसारी,पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी,पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्,‘बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन्।गाहारो भयो छाडेर जान गुनको आँगन!यो गुन कैले म तिर्न सक्छु तैपनि माग न,दाज्! केही त माग न!’भोटेले भन्छ, ‘मौकाले पायो त्यो गुन लाउन,गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न,आफैँले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन,क्या दिन्छ तिम्ले? क्या लिन्छ मैले? मागेर लिँदैन।च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ;बूढीको आसिक यी केटाकेटीहरुमा पठाऊ।’रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान,त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान,रोएर घर हिँडे ती मदन!
मदनकी आमा
मदनकी आमा, फुलेकी सेतै ओछयान परेकी,डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी,सुकेको तेल घरकी बत्ती मधुरो भएकीअँध्यारो पारी धिपिक्कै जान तयार रहेकी।छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्,मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन्।भ्यालको हावा फुलेको केश मुसारी हिँड्दछ,ह्लासाको तर्फ आमाको दिल बहाई बढ्दछ।आँखामा छैन उनको आँसु शान्तिले छाएको,साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,प्राणको टेका, कलको छेका, टाढाको छोरो छ,छोराको मुख हेरेर जाने मनको धोको छ।जरोले तातो, पातला हात नसाले जेलेको,रसिला–आँखा–बुहारी–हात प्रेमले मिलेको।कलिलो हात समाई भन्छिन्, ‘मेरी हे बुहारी!अब त बेला नजीकै आयो जानु छ उसपारि!के गछ्र्यौ रोई, नरोऊ बुहारी!सबैको बाटो यही हो नानी! अमीर–फकीरको,यो माटो गई माटोमा मिल्छ दुःखको बगरको,शहर बस्नू, नफस्नू यसमा, दुःखको जञ्जाल!अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल!फुलेको देखेँ वैलेको देखेँ जगत्को फूलबारी,दुःखमै चिनेँ ईश्वरलाई हे मेरी बुहारी!पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ,दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ।गरेको जति लिएर जान्छु, के जान्छ साथमा,सपनाभित्र पाएको धन ब्यूँझेको हातमा।बिदाइ लिन्छु सबका साथ मदन आएन,त्यसलाई हेरी आँखाले आज चिम्लिन पाएन।म मरिहाले मदनसँग यो भन्नू तिमीले,‘नरुनू धेरै, भनेर गइन् अन्त्यमा बूढीले!’रोकेको दिल आँखामा खस्छ गलामा बोल्दछ,मुनाका छातीमा छोपेको शोक निसास्सी चल्दछ।‘हे मेरी बज्यै! हे मेरी आमा!! यो अर्ती लिनेछु,हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु।अझ ता केही भएको छैन आराम हुनेछ,हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ!’बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र।कहिलेकाहीँ मुनाको हात छामेर ‘यहाँ छ’भनेर दिँदा बलले भन्थिन् ‘मदन कहाँ छ?’
कुतीमा यौटा पीपल ठूलो
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,हाँगामा आई कागले चुच्चो खोलेर करायो,छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा।हाँगाको काग ओह्र्लेर आयो, नजीकै करायो,नजर छड्के त्यो घाँटी कर्के गरेर करायो।नजर फिर्योत, पसीना पुछी बोले ती बटुवा,‘सुबोल् सुबोल् हे! ठाउँ सरी बस्न, आकाश-डुलुवा!हेरेर आइसु ती आँखा तानी के मे शहर?नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर।माई छन् मेरी कपाल सेती, मुना छन् उज्याली,मलाई सन्चो छ भनी आइज पखेटा उचाली।‘नमान्नू धन्दा नमान्नू फिक्री’ भनेर सुनाई,गुँडमा फर्केस् बारीको यौटा हलुवावेद खाई!’उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,‘कागले बुझयो, उडेर गयो पुग्नेछ सबेर।बुझदैनन् भाषा पन्छीको हाय! ती दुई बिचरा!’भनेर हेरी नजर भरी उठे ती बिचरा!बिचरा मदन, नजर भरेर!
शहरभित्र केको हो यस्तो
शहरभित्र केको हो यस्तो वियोग विलाप?पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप।बज्रको झिल्का चड्केर गई आँधीको पुछार,हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार।कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ,औँसीको कालो आकाश-छाना घरको माथि छ।पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो,अँध्यारोसँग मिसिएजस्तो टुकीको तुवाँलो।रुखमा तप्क्यो आँसुको थोपा हुरीले भाँचेको,भुल्काले आँखा बाटुला लायो रुखमा भाँचेको।कलिलो रुख पिटिक्क भाँचेको।पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला;औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला?हा कठैबरी! भिजेका परेला!सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा,बुहारी मूच्र्छा इन्तु-न-चिन्तु माथिको तलामा,ती मुना कठै! नीली भै पलामा!दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप,छातीमा हात, आँखामा आँसु, मनमा विलाप,बिजोग हरे! बिजोग त्यस्तो! दैवले देख्तैन,दैवले देखे कसरी हेर्छ? कलम लेख्तैन!त्यो कालो सर्प बनाई मुटु कसरी उठायो?मदन मरेको कसरी चिठी गुण्डाले पठायो?सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल,मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल!
के देख्न आएँ? हे मेरी आमा!
‘के देख्न आएँ? हे मेरी आमा! के देख्नुपर्योइ नि?हे मेरी आमा! हे मेरी आमा! यो छाती चिर्यौ् नि!आमा! यो छाती चिर्यौी नि!पापीको मुख हेर न आमा! मलाई हेर न!म आएँ आमा! म पापी आमा! मलाई हेर न!आमा! मलाई हेर न!किन नि टाढा हेरेको त्यस्तो! म आएँ, म आएँ!नजर फेरि फिराऊ यता, रोएर कराएँ!रुन पाउमा म आएँ!मुटुमा गाँठो पारेर हेछर्यौ! नजर फिर्योे नि!नछाड आमा! फर्क न , फर्क, टुहुरो मर्यो नि!आमा! टुहुरो मर्योन नि!म आएँ आमा! म दु:ख दिन कोखमा पसेको!बुढेसकाल छाडेर छुरी मुटुमा धसेको!छुरी मुटुमा धसेको!मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ?‘आइछस् बाबू!’ भनेर हरे! मुखले भनिनौ!आमा! चिन्यौ कि चिनिनौ?मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ!यो तिम्रो दशा देखेर आमा! कलेजा जल्दछ!आमा! कलेजा जल्दछ!सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ!गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ!हरे! म अघि आइनँ!क्या शान्ति छायो मुखमा तिम्रो! हे आमा! बोल न,अमृतजस्तो वचन तिम्रो हृदय खोल न!आमा! एक फेरा बोल न!हे मेरी आमा! मलाई हेरी नजर रसाए,कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ?आमा! कसरी बिझाएँ?सुनका थैला लिएर आएँ, चढाएँ पाउमा,पाटी र धारा बन्नेछ तिम्ले भनेको ठाउँमा,आमा! भनेको ठाउँमा!कोपिलाभित्रै वैलायो आशा, हिउँले खँगार्योर,दिलले दर्द नपोखी, हान्यो दैवले झटारो!फर्क न फर्क हे मेरी आमा! माथि नै हेछर्यौ नि!उठाई औँला माथि नै आमा! इशारा गछर्यौ नि!आमा! कलेजा चिछ्र्यौ नि!लौन नि! लौन!’ भनेर उठे मदन जुरुक्क,मूच्र्छामा परे पाउमा, देखी गलाको हिरिक्क!छोराको मुख हेरेर गइन् कठै! ती घुरुक्क।हा कठैबरी! ती बूढी घुरुक्क!
भन न भन हे मेरी दिदी!
‘भन न भन हे मेरी दिदी! ती मुना कहाँ छिन्?आमाको यस्तो बिछोड पर्दा देख्तिनँ यहाँ झन्!’‘हे मेरा भाइ! ती मुना छैनन् यो तिम्रो घरमा,मावल जान ती बिदा भइन् बिछोड परेमा!ह्लासामा जाँदा बिछोड परेमा!’‘स्वर्गमा गइन् ती मेरी आमा, तिम्लाई छाडेर,कसरी गइन् ती मेरी आमा, तिम्लाई छाडेर,कसरी गइन् बिचरीलाई टुहुरी पारेर?’‘बुहारी मध्ये कुँदेको हीरा भएर बिरामी,मागेर बिदा सबैका साथ सार्हैा नै बिरामी!भएर गइन् सार्हैा नै बिरामी!’‘कस्तो छ मेरी ती मुनालाई? हेरेर को आयो?पानीका घुट्का ती माग्दिहोलिन्, कसले पिलायो?’हे प्यारा भाइ! ती मुनालाई यो जल चाहिन्न,ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न!हे प्यारा भाइ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न!’‘ती निकी भए आउन्नन् किन? यो मेरो अवस्था!’‘खोज्दिहुन् तिनी आउनलाई! पाउन्नन् ती रस्ता।’‘गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ?’‘बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ!’‘हे मेरी दिदी! हे मेरी दिदी! मुना छिन् भन न,ती मुना मेरी पृथिवीमाथि अझ छिन् भन न!मुना, अझ छिन् भन न!‘पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्किन्छिन्।कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो!’‘मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् भन न!मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न!मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न!आशाकी जरा, मनकी चरा, मुना छिन् भन न!कुन दिन दिदी! आउँछिन् भन न?’‘हे मेरा भाइ! ती मुना छैनन्!! पृथिवीवारिमा,दुःखको लेश नहुने देश कल्पनापारिमा,टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा।’‘निठुरी दिदी! निठुरी दिदी!! मार्यौव नि मलाई!!!आशाको फूल यतिका दिन आँखामा झुलाई,कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,हे मेरी मुना! हे मेरी मुना!! छाडेर गयौ नि!!!पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि!हे मेरी प्राण! तिमी नै थियौ नि!!प्राण! छाडेर गयौ नि!!!दैवले हान्यो शिरमा मेरो निठुरी घनले,के गरी सहूँ? के गरी रहूँ? जीउँदो मनले!सहन सीमा नाघेको मनले!हे मेरी दिदी! ती मुनालाई हेर्दछु एकै छिन्,ती मुनालाई डाक न दिदी! हेर्दछु एकै छिन्!डाक न दिदी! हेर्दछु एकै छिन्!हे मेरी मुना! हे मेरी मुना!! ओह्र्लेर आऊ न!हे मेरी रानी! मुहार तिम्रो म देख्न पाऊँ न!मुना! ओह्र्लेर आऊ न!अँध्यारो भयो! अँध्यारो भयो!! मनको बिलौना,उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना!आँसुमा खस्यो मनको बिलौना!’‘हे मेरा भाइ! हे प्यारा भाइ!!’ ती दिदी भन्दछिन्,पछयौराछेउ पुछेर आँसु ती दिदी भन्दछिन्,‘हे मेरा भाइ! नगर त्यसो धीरज लेऊ न!आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न!चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी,आखिर छर्छ हावाले फेरि एक मुठी खरानी!बाबू! एक मुठी खरानी!मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ,अरु नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ!सर्धैँको लागि स्वर्गमा फुल्दछ!सहन भनी जन्मन आयौँ हे बाबू! सहन,दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन,आँसुको खोला न्हाई जान्छौँ वैकुण्ठ–भवन!’‘हे मेरी दिदी! सम्झेर आयो यो छाती चिरिन्छ,यो तातो घाउ नूनले पोल्छ झन् आँखा भरिन्छ!दिदी! झन् आँखा भरिन्छ!मुनाको बोली, लाग्दछ गोली! सम्झन्छ मनले,क्या मीठोसँग सम्झाई भन्थिन् ‘के गर्नु धनले?’गलामा लाग्यो, मुटुमा घुस्यो अमृत–वचन,‘साग र सिस्नु खाएको बेस आनन्दी मनले!’बसालिहाल्यो दैवको घनले!ईश्वर! तैँले रचेर फेरि कसरी बिगारिस्?सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्?त्यो फूल हरे! मलाई दिई कसरी पछारिस्?हे दिदी! मैले ती मुना देख्ता, मुनाको मुहार,ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार!मुना! छातीको जुहार!पृथिवीतिर नहेर मुना! म पनि आउँछुआँखामा आँसु लिएर चिनो म भेट्न आउँछु,प्रेमको हीरा छुटेको तल, म लिई आउँछु।कसरी खायो आगोले दिदी कमलको शरीर?कसरी खायो निठुरी भई कमलको शरीर?म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ!खरानी तिनको मलाई द्यौन, छातीमा लगाऊँ!हे मेरी आमा! हे मेरी मुना!! म यहाँ बस्तिनँ,म यहाँ अब बस्तिाँ आमा! म यहाँ बस्तिनँ,म यहाँ अब बस्तिनँ मुना! म यहाँ बस्तिनँ,‘हे मेरा भाइ! ती तिम्री मुना मरेकी छैनन् ती,ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती,स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती!’‘पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी! मलाई!म रुने छैनँ, गएर भोलि भेटुँला तिनलाई,हे दैव! पर्दा चाँडै नै उठा! धन्य छ तँलाई!’
मदन त्यसै थलामा परे
मदन त्यसै थलामा परे, दुःखले वैलायो,वैद्यले आई उनको नाडी घोरिई समायो।कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,अरुको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ।मदन भन्छन्, ‘चरक पढ, सुश्रूत पल्टाऊ,मनको व्यथा रहन्छ कहाँ? मलाई बताऊ,जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ।मनको रोगको औषधि के हो? मलाई बताऊ।सम्झना भन्ने छटपटी हुन्छ, दर्शनपियास,झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास,मगज घुम्छ भुँमरीभित्र मुटुमा दुख्तछ!लक्षण सारा बाहिरबाट मनमा लुक्तछ!’वैद्यले हेर्योि, वैद्यले बुझ्यो, त्यो वैद्य आएन,मनको व्यथा कता हो कता! औषधि पाएन।दिनका दिन झन् सार्हाा भए बिचरा मदन,जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन,‘हे मेरी दिदी! यो घरजम तिमीले चलाऊ,पाटी र धारा आमाको इच्छा तिमी नै पुर्यामऊ।सुसार गर्छिन् मुनाले माथि अकेली आमाको,नछाडी जाऊन् सुसार अरु अकेली आमाको,फुकाऊ तना, गङ्गाको जल देऊ न घुटुको,औषधी छैन हे मेरी दिदी! फुटेको मुटुको।’
बादल फाट्यो, चन्द्रमा हाँसी
बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए,साथमा तारा भएका शशी झयालमा चिहाए।बादल मिल्यो, सधैँका निम्ति मदन निदाए,भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए।
आँखाको धूलो पखालिहाल्यौ हे भाइ! बहिनी!
आँखाको धूलो पखालिहाल्यौ हे भाइ! बहिनी!संसार हाम्ले बुझ्नु नै पर्छ काँतर नबनी।संसारलाई मुखमा हेरी कम्मर कसेर,आकाशतिर पखेटा चालौँ पृथिवी बसेर,खानु र पिउनु जीवन भए, जिउनु हरे! के?पछिको आशा नभए कठै! मानिस हरे! के?पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर,तल नै हेरी तल नै हेरी बिलौना नगर।मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद,कर्ममै पुज ईश्वर भन्छ यो ‘लक्ष्मीप्रसाद।
डाउनलोड: PDF EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)