नेपाली अभिलेख

आफ्नो घर

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह)

विचार! घुस तेजिला, हृदयमा उज्यालो भरअँधेरि निशिमा परें किरण छाउ हे सुन्दर।दिनोदय समानको मधुर दृश्य देखाउनहजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन।
उठोस् सिरिसिरी गरी पवन प्रातको शीतलसमान शुभ-कामना प्रिय सुवासले मञ्जुल।उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको।
जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मलसुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल।सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादलनबोल्न सकिने, फिका, लघु विचार झैं कोमल।
फुलून् फुल मिठा मिठा, हृदय-बागमा सुन्दर,सहर्ष बसि हेरने नचिनि नाम यौटा तर।हिलून् मृदुल पालुवा शिसु-समान सौन्दर्यका,म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका।
मलाइ जति चाहिने सफल हुन् त्यहीं सुन्दरम ध्यानसरि भक्तको, प्रकृति हुन् ठुलो मन्दिर।प्रभात हिम-शैलको धवल काँधमा मिर्मिरम माग्छु दिलभित्रका चिनि टहल्न आफ्नै घर।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)