विचार! घुस तेजिला, हृदयमा उज्यालो भर अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर। दिनोदय समानको मधुर दृश्य देखाउन हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन। उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल समान शुभ-कामना प्रिय सुवासले मञ्जुल। उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको, जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको। जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल। सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल। फुलून् फुल मिठा मिठा, हृदय-बागमा सुन्दर, सहर्ष बसि हेरने नचिनि नाम यौटा तर। हिलून् मृदुल पालुवा शिसु-समान सौन्दर्यका, म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका। मलाइ जति चाहिने सफल हुन् त्यहीं सुन्दर म ध्यानसरि भक्तको, प्रकृति हुन् ठुलो मन्दिर। प्रभात हिम-शैलको धवल काँधमा मिर्मिर म माग्छु दिलभित्रका चिनि टहल्न आफ्नै घर।