रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी, आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी, धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी ! दुष्ट स्वप्न विनष्ट भो, तिमिर गो, गो काठिने शासन ! धोएको छ हवा, तथापि धनको यो व्योममा आसन ! टुक्रा धूर्त भए, वरिपरि रहे, चाँदी बनी फूलिए ! चूली–चञ्चल–हात बाल रविको पीछा गरी डम्मिए ! यौटा घोष भयो सुवर्ण–स्वरको उत्तुङ्ग है श्रृङ्गमा ! तान्थी जागृति आँग भूमितलमा, न्यानो पसी अङ्गमा ! बोले पङ्ख उडेर अल्प हुन गो आनन्द सारा तर ! छोप्यो बादलले, चिसो जगत भो, आगो निभ्यो सुन्दर ! रोगी हुन्छ बिहान, दुर्बल तथा रुन्चे, निकम्बा अब ! आँधी हो कि कराउने ? विफल भो विस्फोटको, गौरव ! काँपी थुर्थुरि घाम भाग्छु दुनियाँ आशा टुसैमा मरी ! आगो बाल्नुप¥यो घरैघर बसी, को खप्छ यो थुर्थुरी !