क. हामी खिचडीनिम्ति बिकेका हामी आजका नेपाली, सामन्तका सब ढुकुटी ढुकेका, नूर झुकेका साहित्य–कलाका कोर्काली । ख. टेबिल ताक्छौ जिभ्रो चाटी, युग ढाँटी, पापीहरुसँग नीति सिकेका, परिपाटी, चाकरीबिनु जीवन जिएझैं हुन्न नि साथी ! हुन्न नि साथी ! कसै पछाडि नाच्न नजाने के जाति ! ग. दर्शन हाम्रो पुच्छरमा छ घुम्रेको, व्यक्तित्व हाम्रो पोशाकमा छ उम्रेको । घ. कौडी हामी पूजा गर्छौ कडोरकडा, हाम्रा देउता बुर्जावाला ठूला–बडा ! ङ. सास फेरी हामी जिउँछौं, हल्ली चामर, धूप चढाउँछौं छाती ठोकी खोक्रा पामर ! च. काँचका आँखा, कुक्कुर–कान ! फ्याउरो–जिभ्रो, अजगर–प्रान ! सुँघ्छौं मालिक, महली हावा, गन्छौं आफू मुर्दा, जावा ! छ. हामी खोक्रा टीनका मान्छे, हाम्रो मकैको लुते जुँघा । कर्कलाका दुइटा हात, बोल्छौ “मालिक”, जस्तो शुधा । ज. गोरा खाँद्थे, भोटे खाँद्थे पुरुखा हाम्रा आकाङ्क्षा सब सिन्की खाँद्छौ, खाल्डा हाली, हामी झुम्रा । झ. हामी पिउरी, हामी धूपौरा, हामी छाउरा, हात दोटा नित जोडेका, हामी खडे छौं, कुक्कुर बबुरा, पिकिङ बनाउने, सिक्किम उडाउने, काङ्डा लडाउने नेपालीको आज लडाइँ, हर्क बढाइँ, ठूलो ढोका कुर्नु दिनभर थरथर, थरथर, केवल कमाई, दात भात दौरा ! ञ. जीवन गङ्गा बाढी आयो डुब ए शूकर ! कम्र्मको छालमा हुत्ती जाओ बन्लाऊ भूसुर । ट. हात यी तिम्रा झुण्डन होइनन्, माथ यी तिम्रा मुण्डन होइनन् । ठ. मिठास लेऊ घाउको, चोटको, गर्नु, मर्नु, अचल अठोटको । ड. युगका रणका बाजा बज्छन् । मरुले दिन्छ घोर चुनौती, आज बनाउने धावा ठूलो, भविष्यको छ आज बपौती, आत्मा पत्ता लाओ आफ्ना, युगका रुद्र ! अन्धता नै तिम्रो गरीबी, चेत दरिद्र ! ढ. आफ्नै राजमा, आफै रङ्क, ए नेपाली ! ए पुराना युगका टुनाले कङ्गाली ! बानी–बोक्सी लागेका हे, उफ्रने वीर हो हामफाल वीर हो ! ऐंठन जाला, जाला सब यो माकुरी–जाली ! ण. चन्द्रमामा पुग्नु छ तिम्रो तिम्रो मङ्गल खेती– अरुनिको ए भाग्यो, भाग्यो ! भेट्टाऊ कराई “ज्योति, ज्योति !” बलभद्र भो किन जलुको आज ? बाघका जुँघा तानी सोध । पृथ्वीनारायण किन टोह्लाए ? राष्ट्रका दुश्मन गोदन गोद ! भानु कहाँ छन् ! आँखापछाडि । फर्की उफार, फर्की उफार ! त. मगज भनेको त्यो हो बाकस जसमा चमत्कार, हृदय भनेको त्यस्तो कान हो सुन्दछ जसले युगचीत्कार ! शरीर भनेको त्यस्तो साधन, खिइँदै जसले लक्ष्यको सत्कार ! नेपाली भनेको त्यो हो जसले— हाँसी हाँसी उत्री उठ्दछ खतरापार, जसले उठाउँछ विश्व जगाई आजको युगको विश्वको भार !