निशिको बेला, चल्छु अकेला, मिरमिर सडककिनार । अरण्य सदृश यो जगतीतलको फोटो खिच्छ गगनले जलको, जनमन–आँशु हजाराँ ! पवन, रुदित शिशु, शिथिल निदाउँछ, घोप्टी द्रुमको सहारा ! थोपा चुहाउँछकहिलेकाहीँ, मूर्छित स्मृतिको किनारा ! बुद्ध चलेथे यी जलकण भनी फोटो निहारी निज उरको, मुकुट उतारी, मलम लिनाकन निमन्न घाउ सब नरको ! यही सडकमा मौन चले मुनि, सृष्टिदेवीका दृगमा हेरी, सलिल स्रावको धरको ! शहीद चलेथे जननी जल गनी, प्रातः समाउन युग परको ? अन्धकारका पार तरौँ भनी, स्वर्गमा मागन हक नरको ! वसुन्धराको आत्मा निदाउँछ, स्वर्ग छ जागा, जल–झलझल ! वेदनाको सागर लहरमा हेर्दछ झिम्की, तर्सी पलपल हृदय जलीकन दृगभर जलकण लिन्छ कि, रुन्छ कि सुरपुर सारा ! निशिको बेला चल्छु अकेला मिरमिर सडककिनारा ! एक इसारा हृदय बोलाउँछ, निद्रा भगाउँछ पर सारा ! सेतो, पहिलो राप चढाउँछ । आदिदेवका आत्मा जलेथे, भारत व्योममा जसद्धारा ! नचिकेताको आत्मा बोल्दछ अग्नि–तत्वको सार खुलाई जलेर जलको कणीझैं वर्तुल चम्कन इच्छा लाग्छ मलाई अन्धकारमा छाम्दछु अमृत —ज्वालाहरुका लप्का सार ! निशिको बेला चल्दछु अकेला ! मिरमिर सडककिनारा ! तिमिर–भस्ममा तर परिणत दिन ढुँढ्दछ नव छवि जलधि मनि ! शिवले पिउँछन्गरल निशाको, मथिई निक्ले चन्द्र पनि । आत्मा हो यो प्रलयोल्लङ्घक अमर, अमिट रे सौरकणी ! जलको बिन्दुभित्र अटाउँछ, जसमा यसले महल बनाउँछ, द्यौ–अवलम्बी, तल अवनी ! शहीद–समाधि झैं निशा उपर छन् देही छविला जिउँदा सारा ! अहो ! निसासिस्किन ए काँतर ! अन्धकार पौडिन केवल, ज्योति छ यसको दूर किनारा ! जब छन् राती, यस्ता साथी ! छैनस् अकेला ! जल् सारा ! जीव ए ! शिव हो ! जीव ए शिव हो ! चम्किरहेछन् तारा, तारा !