परुष वचनले छाती फाटयो दप्किरहेछन् शीतका दाना ! कविले गरीकन गिल्ली गाना ! झूसे, पोहाला, छुच्चो भन्छन्, दाँजी कुसुमसँग विषसरि गन्छन्, हुँला असुन्दर, पीरो तातो ! रोप्दछ कसले ? हेर्दछ कसले ? अछूत जातको नित अपयशले निन्दित, वर्जित, त्यक्त कुनामा फस्टिरहेछु विष नमूनामा परित्यक्त जिमिनै जडले समात्यो परुष वचनले छाती फाटयो ! भू नभएका जनका निम्ति प्रकृति सामुमा गरीकन बिन्ती आफ्नो भरमा उम्रेँ पलाएँ, कूडा कर्कट झटारो पाएँ पशुसँग पुस्तौँ रण भो घोर, अग्न्यस्त्र पर्‍यो लिनु यस्ता कठोर, अति जीवित भई सडक–किनारा फस्टेँ, फैलेँ शिर ली हजारौ, उक्लने बलले डाँठ भो गाँठो, परुष वचनले छाटी फाटयो ! मुन्टा मुन्टा धर्म्मको नाउँ बलि दी मौन छु तनभर घाउ भूभर दाना नमिल्ने जनले सान्ध्य ज्वलनमा भज्छन् नाउँ । अरु मीठा हुन् पोषून् ठूला, दीन–सखा हुँ, शिवि भइ जाऊँ । भोका निम्ति जगत्‌मा आएँ । भूखमरको उदर रसाऊँ कविजी ! जँच्दिन तिम्रा नजरमा काढाँदार छु, ज्वलित छु लाटो तिमीझैं जनले तत्व नबुझ्दा सिस्नो रोई मर्नै आँटयो परुष वचनले छाती फाटयो ! खस्रोपनाको स्वीकृत कोमल, त्यक्त कुनाको जीवन प्राञ्जल, नित्य ज्वलनको तप हो शीतल, सुन्दर वलिका देवी–कुन्तल ! परिस्थितिमा मारक जीवन— वीर समर हो विजय समुज्ज्वल ! भूसुत दीनहरुको दाना, पुछ्नु, निभाउनु अनल, अमृतजल, रछानमा तप कसले साध्यो ? असुन्दर मुटुमा सुन्दर बाँध्यो ? निन्दितले भन ! के के आँटयो ? कवि दृग अन्धो, छाती फाटयो मरुमा सिस्नो मर्नै आँटयो ।