थियो गर्मी वेला हपहप थियो घाम बहुत बले झैँ आकाशै दनदन थियो धप्धपसित । बडो मानी गर्मी रुखतल सुती शीतलसित झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ।। थियो यौटा ठूलो सकल पशुको सिंह वनको दुवै चिम्ली आँखा सुखसँग डटेको अति निको । छहारी हाँगाको हृदयकन ठण्डा गरिदिने चरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने ।। बडो मस्ती पाई सुखसँग निदाईकन त्यहाँ रहेको वेलामा सकल पशुको इन्द्र सुखमा । जरा बाङ्गा खोपी तलतिर बसेको अलिकति त्यहाँ निस्के मूसा खुरुरुरु गरी दौडन कति ।। निदाएको राजाकन रति नटेरीकन त्यहाँ चचीं च्वीं च्वीं गर्दै वरिपरि हिंडे त्यो समयमा । त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसको बडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ।। चपाए कोहीले रउँ पनि मुसे दाँतहरूले कुनै नाचे चढ्दै शिरउपर लामा पुछरले । कुनै वर्ले खुर्खुर्, तलतिर, कुनै पुच्छरतिर भयो नाचै जस्तै तिनकन त्यहाँ मेट्न रहर ।। बडो मानी झर्को छिनछिन अजङ्गो छ सुतुवा छ हप्कार्दो मूसाहरुकन बडा टुष्ट भँडुवा । नटेरी चल्छन् ती छिनछिन उ हान्दो छ त पनि दगुर्दै छल्छन् ती चतुर सब छौँ झैँ रुखमनि ।। बडो दिक्कै पार्ने सकल भुसुना मार्नु न त्यसै न निद्रा नै लाग्यो न त सहनु त्यो खुर्खुर उसै । चिचीं चूँचूँ गर्ने फिरफिर हुने काम कसरी भयो राजा जस्तो पशुसरि प्रजाका दुख घरी ।। कुनै यौटालाई पकडसँग शिक्षा दिउँ भनी डरै लाग्दो पंजा बहुत हलुका उठ्दछ अनि । लिई यौटा मूसा चिचिचिचि गराई यति पनि भयो त्यो सिंहैले अब त भँडुवा मार्दछु भनी ।। डराएको मूसा थरथर गरी काँप्दछ अनि “प्रभो, माफी पाउँ अलिकति त लाग्नेछु म पनि ।” “कुनै मौका पर्दा यस जगतमा काम प्रभुको” कुरा सुन्दा यस्तो हहहह गरी भार हलुको ।। लिई पंजामा त्यो हहहह गरी भन्छ “भुसुना तँ कामै लाग्छस् के कुन दिन कसोरी र मकन ।” भनी हाँसी “जा जा ! अब तँकन त मारुँ यस दिन गयो जातै मेरो सब” यति भनी छोड्छ उकन ।। पर्यो पासा उल्टो करम गतिको एकदिन र पर्यो पाशो आफैं कति न म छु भन्ने वनतिर । बडो गर्ज्यो तान्यो झटपट गर्यो व्यर्थसँग त्यो बिकम्बा भो सारा बल, तमक, शेखी सकल त्यो ।। सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूले यसो हाँसी जम्दै मकन नपत्याइ अरूले । त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरले म छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले ।। यसो भन्दै हाँसी मुसुमुसु मुसे दाँतहरूले चपायो त्यो डोरो किरिकिरि गरी काट्न उसले । फुकी सिंहै सारै कुश हुन गई भन्दछ त्यहाँ “त्यसै सानो संझी गरिलिन खिसो हुन्छ र कहाँ ?”