क. आज शुक्रबारको भो एघार बजे राती धन्य ! मुक्रि जाती ! सानो यो निर्वाण मेरो, एक घडीको साथी ! सकल प्राणी सुत्दछन्, दिन छ मेरो जाती । ख. हृदय पुग्छ आर्को जगत्, नित्यको, विलास झ्याल खोलूँ, प्रकृति–रानीको छ राज्य खास यो बतास, अमृत सास, जिउँदो राख्छ भूतल, यो भिजेको दूर वनको दलका जलको शास, फड्किएका जलदचयको शिल्पी उड्छ खास, यो स्वतन्त्र, सुखद अतिथि, स्नायुवन–विहारी जीव–मम्र्मचारी, पातलो गन्धर्व मधुर छ भारी आ अदृश्य अतिथि प्रवर, भन् कथा रे जूनको ! कसरी जालमा फसिन् ती प्रेमी मनसस्नको । आ हवा रे, भन् कथा, मधुर, मधुर, जाति । ग. पूर्व रै’छ धुँधलो, कुइलो नील मिरिमिर, दक्षिण सेतो, सेतो, कुहर, पक्षिम गाढा नीर नीर, बोलाइथ्यो प्रकृति तिमीले, डाकिरहिथ्यौ दिनभर केही देखिन, केही सुनिन, काटी अन्ध चक्कर, सुन्छु बल्ल, हेर्छु बल्ल, मौन बोल दिलभर, एक सहस्र रजनी सुन्छु यस घडीमा जाती घ. सम्झना छ, दुइ पटक जलको झारी झारयौं, साँझतर्फ बिजुली मुस्की चदर च्याती फारयौं, तीक्त व्जर शिकार देखी कवि मृतक यो दिक भएकी, डर थियो कि घर्षण ? बल्ल पाएँ, बल्ल आएँ, आऊ, देऊ, दर्शन ! छ–उपास्य लास्य तिम्रा बहुल भाँति भाँति । ङ. दूर पूर्व–दक्षिणी खेत उपर बाफ, भूपरीले जूनको ऐनामा फेरेझैं सास, गहुँका झुम्का पहेंला फाली, हरियोको ली प्यास, गरुँ सिगार भन्ने भावमा, तरङ्ग अल्छी क्यै स्वभावना, भूपरी ती सुँघ्दछिन् हेर, जुहीको वास ! स्वर्गका परी बसे सब रुवी काती काती । च. यस्तो घरमा राख्नेलाई धन्य, धन्य’ भन्छु, सब अभाग मर्छ आज, अमृत पी म रुन्छु, हप्ताभरको ज्वर हराउँछ , हुन्छ अमित सन्चो, बाटुलेर हाँस्छ कोही यो विशालतामा फेन–फूल पारी भारी, मनका मेरा स्वप्न–लहरीका मधुर लतामा, हेर परमानन्दको बल्छ हिउँमा बाती । छ. यत्ति छिरबिर चित्र जिउँदो बादली सिमलमा, ओइलिंदो र बान्किंदो होस्, भाषा बस्छे जलमा, प्रतिनिमेष हेरफेर, चाल औ बिकास के नसम्झुँ कबिको दिलले क्वै जरुर काम गर्छ घुम्टो हाली खास ? ज. एक घडी म कोही सँगमा, मौन बात बोले एक विशाल घरको झ्याल हृदयभित्र खोलें, एक अमृत–लहरउपर पङ् ख फोई चालें, एक मुक्ति पाई, उड्दै, जुन–भुवामा डोलें, यत्तिले धनी छु आमा , स्वर्ग पाउँछु धरामा, सतचालीस रङ्का वर्ष आज रत्न पाई ‘धन्य’ भन्छन् प्रकृतिरानी, ‘धन्य तिमीलाई ! एक घडीको चर्को जिउनु, शत घडीको थाती !