स्वतन्त्रता हो मानवता रे ! घाम यही हो, कुइरो धनमा लाग्छ कहाँ र पता रे ? कुइराका सब काकहरु पनि बोल्छन् यसकै कथा रे ! सिक्रीका पनि पशुहरु भन्छन्ः “आजाद सबै छौँ सदा रे !” धेरै बोल्छन्, थोरले बुझ्दछ, दासता हो मानव चिता रे ! स्वतन्त्रता हो मानवता रे ! युग युग कोटी मानव उडेथे लाउन यसको पता रे ! तर यति मसिनो यो छ उज्यालो, भूमा स्वर्ग ज्यथा रे ! सूनसान नै यसको बाटो झर्छ जहाँ छ मरमिट माटो, ममता यसको समतासँगमा ढाक्दछ जागृत जनता रे ! स्वतन्त्रता हो मानवता रे ! मिथ्या पूजन गर्छ निरन्तर यसको शोषण प्रथा रे ! वर्गस्वार्थले यसको अर्थ विकृत पारे, बटारे ! मानव मानवप्रति जब मानव हुन्न, हुँदैन पता रे ! सन्तुलनमा ताराहरुको झल्क्यो पहिले यता रे ! स्वतन्त्रता हो मानवता रे ! खिच्दछ नरले नर–वानरझैं फन्को लगाई गलामा, किन्दछ मानिस मानिसलाई चतुर बनेर कलामा, बायाँ करमा रोटी समाऊ, दायाँ करमा तरबार, भोको उदरले भगवान् बोल्दछु, काँप्दो मुटुले अवतार । व्यक्ति, विचार छ अर्थ स्थितिमा नित्य अवस्थित क्यारे ! अदृश्य जानी हाल्छ फटा’ रे ! स्वतन्त्रता हो मानवता रे ! कब्जे तिमीले शस्त्र र औजार, कल र कोदाली कुटा रे ! भोक र रोगले दुनियाँमुठीमा पिस्छौँ मुष्टि बटारे । समष्टिका हक व्यष्टिले टारे पाउँछ कसले था’रे ! स्वतन्त्रताको सच्चा मुटु तर समता, मानवता रे ! स्वतन्त्रता हो मानवता रे !