(१) मलाई राम्रा सब चीज हेर्न अत्यन्त लाग्ने मन चित्त भर्न। आँखा दुवैले रस प्यूनलाई अत्यन्त आनन्द हुने मलाई ॥ (२) राम्रा उज्याला सब फूलबाट सुगन्धको सौख मिहीनसाथ । दिलै भरी आउँछ गद्गदाई क्यै चीज, जो हुन्न बयान हाई ॥ (३) म प्यूँछु नीलो छतको मिठास तारा-जुहारी झलमल्ल खास । म चाँदनीको रस प्यूछ मीठो आँखा कचौरा दुईबाट छीटो ॥ (४) नीलो कचौरासरिको अकाश घोप्ट्याइएको रस भर्न खास । के त्यो उज्यालो जुन झर्छ याहाँ ? हो स्वर्गको अमृत खास याहाँ ॥ (५) अत्यन्त राम्रो दुनियाँ छ सारा जुहार जस्ता झलमल्ल तारा । बयान केही नहुनेछ फूल छ टाँगिएको झलमल्ल फूल ॥ (६) बनाउने यो दुनियाँ अपार राम्रो असंख्यै हुनुपर्छ क्या र ? कस्तो छ राम्रो सब कारखाना कस्तो हुँदो हो दिलमा खजाना । (७) मलाइ आँखाभर हुन्छ आँसु सरर्र भै आउँछ अंग मासु । जसै म संझीकन ध्यान-द्वारा खडा गरी लिन्छु स्वरूप सारा ॥ (८) सबै नराम्रा जति ती कुरा छन् मलाई काहीं मनभित्र डस्छन् । जो छन् उज्याला तर चीज राम्रा ती छन् सधैंका सुखतुल्य हाम्रा ॥ (९) देखेर यस्तो दुनियाँ विचित्र मलाइ लाग्यो मन भित्रभित्र । यस्तै उज्यालो सपना बनाऊँ छोडेर आफ्नो यश-नाम गाऊँ ॥