ललितपुरको हाइ–कलाको शिल्प–कोविदले छिनो मन्त्रियो कस्तो कमाल ! सन्तुलित कोमल चिनाले, बुट्टा कस्ता बान्कियो लौ ! वाष्प–मरमर माथि लाल ! वसन्त–महलमा आदिकालीन पश्चिमा भो आँखीझ्याल ! चन्द्रागिरि माथि विशाल ! जलपियो क्या ! सुनले त्यल्ले झल्ल पारी ! खोपी भो राम्रो तयारी ! अस्ताचलको यात्री छु म ! कल्पनाको पङ्खमा छ मिठो भुरभुर ! भावमा क्यै खल्लीबल्ली ! समयको लामो सडक छ ! युगहरु छन् गल्ली, गल्ली ! मेरो आत्मा, एक दर्शक, खोज्छ सुन्दर, हल्ली, हल्ली ! गवाक्षका बुट्टापछाडि कसको त्यो अनुपम वदन ? जसका मीठा दृश्य–टुक्रा गाँसी, गाँसी, झल्याक–झुलुकहरु, कल्पनाले चकित दिल यो खूब विलासी ! सम्झनाभन्दा पुरानी, के हुन् ती सौन्दर्य रानी ? आदियुगकी राजदासी ? धप्प बल्दी, एकलासी ? अमरवयसी ? प्रेम–प्यासी ? बुट्टिएका बारमा ती, स्वर्गको दरबारमा ? वसन्त अन्तःपुरमा आज, श्रृङ्गारमा ? गाजलबट्टा रातो खोली लामा कोसमा लाउन तत्पर छन् कि ? स्वपनी आफ्नो दिलको, प्रेम–सुन्दर ? कृष्ण–केशी ! केश फुहुन्छयौ ? जाली पार्न ? रत्न भर्न ? हृदय हर्न ? विजय गर्न ? सिम्रिकको वसन्त–भास्कर तुल्य चहकिलो टीको चट्ट जड ए ! भालमा ! थोरै पानीले पुछयौ जो चट् ! यो आँखीझ्यालमा ! ऐनाअगाडि, निहुर, अड ! विजयशक्ति जाँच मुस्की ! मस्त होऊ, क्यै तरङ्गी, लाली फुस्की ! थोर मेट, थोर थप रे ! कल्प केही रे बराबर ! सङ्गीतकी आत्मा सरि, अर्धलज्जिता ! गुनगुनाऊ, सुन्दरी ! हिमालले बाफले बुनेको पातलो, झमक्क झर्दो, झिसमिसको यो तुँवालो, थोरै सितारे चादर उचाल ! आँधी जूरो माथि डाल ! कालो तिम्रो केश छ ! अमरावतीको कुन झाँगमा पर्खिने सन्देश छ ? प्रियतम राजा चन्द्रको ? उक्लँदा छन् यो हिमाली, वन–कराली, चोर–चाली, अरण्यमा यो अरुन्धतीको ! आदिकालीन ए परी ! प्यार तिम्रो गर्छ जसको सम्झनाको लाल अभिसार ! त्यो अमर, सदा युवक, औ कीर्तिशाली ! त्यो अनिर्वचनीय शौकीन, राजामा मेरो नमस्कार !