मेरो नाम छ साँढे ! वैज्ञानिक पटु शक्तितन्त्रले मन्त्र गरीकन छाडे ! पशुबल पाँडे ! क्षेत्र क्या फाँडे ! पन्ना पृथिवी उजाडेँ ! “हा ! हा !” गर्दछ तर्सी दुनियाँ, डुक्री, हाँकी–हपारेँ ! मेरो नाम छ साँढे ! मानिस जाति थिचियोस्, मिचियोस्, के पर्वा ? बलको सुराले लाल छ आँखा, मेरा मगजमा रिसका ज्वलनका अणु अर्वा ! विस्फोटक छन् ध्वनिहरु ध्वुंसक, शठ–गर्वा ! जवाफदेही दुनियाँप्रति के ! तृणचर वा ! अङ्गाररङ्गा हूँ ढाडे ! मेरो नाम छ साँढे ! दया भनेको कमजोरी हो, गर्जी ड्वाँ ! बालक जन्मनसम्मन् तर्सून् ! पृथिवी झ्वाँ ! आगो डकार्दछु ! सभ्यता खार्दछु, भुट्दछु च्वाँ ! किनकि म साँढे, साँढे नै हुँ ! भाले ह्वाँ ! वरपर हेरन, तर्सन छाडेँ मेरो नाम छ साँढे ! सभ्यता सब अट्ने उदर यो, शस्त्र शिङ्गार ! फलाप मशल् औ विश्व निडर यो, वंव्–हुङ्कार ! तोपहरुको मुहरी मुख यो ड्वाँ ओडार ! प्रलयकालको हुँ पटु पाँडे ! मेरो नाम छ साँढे !