क. रातकी आतमा झकीझकाउ, आऊ ! स्वर्गकी रानी ! स्वपना–खानी ! मन्त्रमुग्ध छन् प्राणी ! प्रकृतिलाई नश–नश छोई सपनाऊ ख. श्रमको अभिशाप परेको पृथ्वी हिप्नोसिसले सपनिन्छिन् ! विश्रान्ति–विलासका शान्त कुसुमका कुड्मल सुवासी मृदु हाँसी ग. चढिरहेछन् काढाँमा, तिनका फुल्दा पत्ती टेकी, दिनको चर्को उज्यालो छेकी, यथार्थ कटुमा छायाढाली, विस्मृतिको मृदु मिरमिर डाली दूरवर्ती डाँडामा, आऊ निशीथिनी ! रत्नधनी तिमी गिर्दो तिमिरको मधुरो, मधुरो बर्षिरहेको नीलकमलको कल्सेंदो कण केशरमा ! घ. दिनको द्रुतलय थामी चल्दछ समयको प्रहरी–बीनामा, सुन–लहरीकी अन्तर मूर्छा ओर्ल अगोचर झीनामा, राख जादूको चाँपे पाउ ! रातकी आत्मा सुन्दरी ! आऊ ! ङ. दुइ शत कोटि दृगकन पारी, कुवेर, पुजारी, व्योमश्री ! दर्शन देऊ ! मोती–फूलले स्वर्गको बारी ढकमक पारी, मूक बनाई, सौता गी ! आश्चर्यमौन छन् विद्युन्माला परिमण्डित रे भू–नगरी ! रुन्छ जगत्को आत्मा, पातमा, प्रेम गरी ! जलकण तारा–झिलमिल पुष्कर टोह्लायो ! शान्तिपरीले पोल्टो थपाइन् उसलाई टुहराई, ‘रत्नहरुको शोला यो !’ च. जगत्हरुका बर्तुल बीजन एकलासमा बोई, निशीथिनीका आत्मा गाऊ ‘प्रलय भनेको खोइ ?’ दुई तीन, दुई तीन ज्योति छरिन्छन् नेबुलाका ? बुझिन सारा रोपाइँको तर भाका ? छ. ए मुनिकी घर । बोधिवृक्षकी फूल–छाना ! यति धनी ता देखिन कोही ! सुर–उपवनकी जनाना ! केशफुका ए ! मुस्कुरी, मोहिनी, रत्न कुमारी ! सपनाकी ए रानी ! आऊ डरमा अल्पी प्यारा ! जुहार–परीझैं ढल्की थोरै छातीमा, ‘ भएँ म तेरी’ भनिद्यौ मेरी फेरो मारी, मरुँ अनि वरुँ, अमृत मृत्यु ! स्तब्ध प्राण ! सपना–बारी चारौंला स्वर्गोद्यान !……