क. यिन गिरिमा, हो सभ्यताका नीला, गाढा, प्रकृत गढमा, फरफर पताका, शाखा ! बल्लीहरुको दरबाजामा, फूल छन् पहरा लाखाँ ! ख. शीतलताको दरवार बनाई वन–रानी, वायु–पङ्खी अख–परीसँग, सुन्छिन्, सुन्दर बादल–कहानी ! ग. वृन्दावनका मुरली सम्झी दल नाच्छन् ! महेश खोलो, पाषाण तरङ्गी ओर्लिरहन्छ, ओर्लिरहन्छ, त्रिशूली, त्रिशूली बोलिरहन्छ, कुर्लिरहन्छ, भेट्न सधैंभर, नअघाई, उर्लिरहन्छ, उर्लिरहन्छ ! अगणित भेट र अविरल ध्वनिहरु, प्यारका जोडी, युगयुग, तटमा, साँच्छन् ! घ. पर छन् ईँट, पर छन् चून ! बोधा, अन्धा ! रानीवन छन् अविकृत युगकी मिरमिर कहानी सानी– जसकी दिदी हुन् वृन्दा ! ङ. होला कोही मिरमिर कहानी– कसरी कुनै दिन क्वै नानी, यस वनकी फूल, उटज फुलेकी, भइन् जगतेकी रानी ! च. यिनका दिल छन् ढुक्कुर, ढुक्कुर ! यिनका बोली, जुरेली ! भरखर बोली एक हाँगामा एउटी प्यार–सुरीली ! छ. यस खोलाका लहराभित्र लाग्छन् चिचिल्ला मन–रसका ! प्रकृतिरानीको राज्य पवित्र ! शहर–उपल्ला यी स्तरमा छन् चोखा कुसुमहरु दिल–खुशका ! झुठा हाम्रा व्यापारहरुकन छन् झल्का ! ज. ए खोला ! दे करले लेखी सुन्दर एक शिलापत्र ! एक बटुवाको नागरिकताको इच्छा एक विचित्र