क. के यी ताराहरु हुन् सारा अश्रुबिन्दुका रे जीवन ? फीका एक अँध्यारोभित्र, सुन्दर कोही सम्झी जल्छन्, ढल्छन्? के यसैले विश्व–धनी ? सोध्छिन् उरमा शान्ति खसाली, अवनी ! ख. अपूर्व राम्री ए सुकुमारी ! तल फर्केकी मीठी जून ! प्यास पहेंली देखिन्छयौ किन ? विषाद–वदनी सुन्दरतासरि ! हृदय लिईकन चल्दछ कुन , ग. के यो तृष्णाकै हो मोहनी ? तिम्रो पनि ? कलिलो, पीलो, रसिलो, हिसिलो, केही आँशु–हँसिलो, यो नीलोमा, अविश्लेष्य यो शोभा के मुटु हो सतृष्ण विषाद ? जल्ले तिमी छौ धनी ? घ. आउँछ याद ! ग्रीसी पर्वतमाथि सुतेको एक युवाको माल देखी, मुग्धा, विह्वल बनिथ्यौ कोही काल ! ङ. सुन्दरताको सुन्दरता हो आूफूभन्दा परको प्यास ! शायद त्यसैले अपूर्व तिमी छौ ! सुषमा ! मृदुल, उदास ! च. जलभुवामा पथमा चल्नु, विहाग–रागमा अश्रुत झुल्नु, विरह–व्यथाझैँ मुस्की जल्नु, एकलासमा डुल्नु ! पीयूषमुखी ! तिम्रो यस्तो बानीले नै रानी ! चकित जगत्ले सोध्छ, “त्यहाँ के बस्छ लुकी ?” छ. अम्बरभित्र अम्बर हुन्छ, सुन्दर पनि के तिमीतिर रुन्छ ? यस्ती जगबकी तिमी अहो! कस्तो कल्पिन सक्नु सुन्दर होला त्यो ? ज. राम्रो सम्झी हामी रुन्छौँ अवनीमा ! हाम्रा कणझैं देख्छौ तारा, प्यासको भाषा पढिरहेछौँ, पीयूष मानी, रजनीमा ! झ. तर यो संसार मजा छ ! तर यो संसार मजा छ ! यस्तै ! यस्तै ! यो बुलबुलको हो रात ! चौबीस घण्टा ! चौबीस घण्टा !