राजा, केवल एक कलम देऊ ! सावनमा ! क¥याङकुरुङको प्वाँखको डन्डी, हिमाली बादल छोएको, मानसरोवर सलिल उछाली, धोएको ! निर्जन–बासा, एकलासी, प्रेमको बिन्दु रोएको, जीवनमा ! राजा, केवल एक कलम देऊ ! सावनमा ! घामछायाको विशाल वनमा, इन्द्रेणीको लच्कनमा, किरण–कणीको सुन्दर, सुन्दर, मिश्रणमा ! सुन्दरताको मिश्रणले बरबर, बरबर, क्वै भावुकको रोदनमा, मुजूरहरुको नर्तनमा, कमलको भाउ कीचडका, रमरममा तित्रा बादल तित्रा बादल तीन–तारे तितिरबितिरमा बोलिरहेको पक्रन्छु थोपल पङ्खी गगनमा, बेच्छु जुगान्जुग जनजनमा बोलुन् बराबर क्षणमा ! विजय धनुष तब लच्केला कालउपर ! कुवेर दीन हुन्, इन्द्र डाहामा, हाँस तिमी भर्दै उर, हे भर्दै उर ! अमरत्वको ली झम्के परेली कविता बोल्ली मलाई, “श्रृगार किन्दिनोस् बाबा सविता ! ” धाई बनाउँछु त्यल्लाई तालिम नरमले काँढा मरुन् सब पृथिवीका शीतल मलमले ! तीन–तारे तित्रा मर्दैनन् बोल्छन् जगजुग मर्दछ काल शरमले ! साँची राख्दछु आजको ढुकढुक, आजको बरबर, राजा ! कवि भै साउनचरी केवल एक कलमले !