क. तारीफका कति कुसुम फुलेथे, यात्राको उपवनमा । अरुले आँखा रमाए ! तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा ! पूरा दिलले अपनाएँ । अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर आफू भनीकन अपनाएँ । ख. मिरमिर पहिलो वृन्दावनमा फागु कसैसँग खेलेँ जरुर ! सम्झनाझै क्यै आयो ! गौरी–शङ्कर चुचुराउपरमा गमिरहेथेँ कोही युगमा एक दीपले बोलायो । त्यस्तै तिमी छौ घुमिरहेको दीपशिखा ली गिरी, समथर, सुन्दरताको चोला यो, सम्झन कहिले कसका लागि, अखण्ड अग्निमा गै बालेको रुपज्वाला होला यो ? ग. लुकामारी खेलिरहेथेँ कुनै सँगीसँग कोही युगमा होला धराको फेला यो नौलोपनको ताजमोहनी चाख्न भनीकन गरी प्रतिज्ञा, जरुर ! परस्पर ! नचिनेझै भएको होला यो ! तडपन पाउनु प्यारको दिलमा प्यारको ज्यादै मधुर विलास ! त्यसले, तिमीले भेटी, मैसँग, चूप भएको होला यो ! घ. आफू आधा पाएँ मैले ! आगा कता हो भन्दै गुन्थेँ । सिङ्गुलो मिलनको बेला भो वियोगवेला चिरिएँ फेरि ! मसिनो करौँती लागेजस्तो ! उत्तर देऊ ! किन होला यो ? ङ. बुनिरहेका सपनाजाली, सुन्दर, सुन्दर, मन–माला, तृष्णावनमा अकेला यो ! अरुका गलामा चढ्न सकेनन्, आफैँ चढेथे तिम्रो गलामा ! अचेत तिमी त्यो पहिरी भाग्यौ ! सचेत, नगर्नु हेँला यो । च. आयौ एउटा रङ्ग दुगुरेझैं बादलमाथि, दुनियाँमाथि, एकान्त चट्टै सेलायो ! मौन गुँज्यो ! गुलजार भयो तब शून्य, नयाँ भो दुनियाँ ! बोल्यो गजब दिल–बेला यो ! विश्व बिलाए बिन्दु बनी तब बिन्दु फुरे भै विश्व–ध्वनि ! झल्याकझुलुकको मेला भो ! छ. तारा रोपिरहेछु जमीनमा, उपवन दिव्य हुँदो छ तयार ! आफू नामको चढाइरहेछु, झन्, झन्, बुझ्दै, रङ्गीचङ्गी सब संसार ! आत्मा आत्मा सुन्छन् भन्छन् सारा पुकारा, तैपनि सन्की, (व्यवहारको यो स्तरमा बसियो !) लेख्तछु ! स्वीकार होला यो ?