ज्यादै थाकेँ हे ईश्वर ! भेँडो बनाऊ मलाई । यो शिरको धराप- जो हो मेरो घर यो विचारको शराप- यो जान्नाको पाप- यो अन्तःकरणको हृदय ज्वालक नाप यो खसूँला भन्ने तीन किसिमको ताप यो चढ्ने रवाफ । यो जवाफदेहीको अभिशाप । भो ! भो ! मलाई चाहन्न दिव्य रवाफ ! फेरि मरणपछि कुमारीचोक बहीखाता साफ मीठो मस्त ! जानवरी निरुत्तरदायित्व मलाई भगवान । बेकोदाली-जीवन न कि परिश्रमको शराप मीठो भन्नु चुरुम चुरुम आफैँ फल्ने घाँस । किन यी चौरासी व्यञ्जन ? नकली जिभ्रो ? नकली कान ? एक सिँगाने नाक निमित्त यत्तिका अत्तर ? झूटो कल्पना निमित्त वेदव्यास र लाखन-लाखन, शुक बहत्तर ? अँध्यारो अज्ञानको साह्रो खेती ! शरीर जोती जोती ? यतिका आँसु यतिका क्रन्दन बेकाम ! यत्ति हाँसो हिलहिल परिवर्तनको ! हर हर चितामाथि । यत्रो छकावट ? यति तार बनाई ? सुन, मेरो भनाइ ! बलियोले खाए खाऊन, मलाई ज्ञान नआऊन् सच्चा साधु भेँडो छ ! सादा स्वाद हरियो हुनाले, परमेश्वरको निन्दा नगरोस् आमा चाहनाको गुणन गरी लुगा नचुन्नु परोस् लुगा नबुन्नु परोस्, उम्रोस् आँग भरी लडूँ म सीँगले, आध्यात्मिक समर नहोस् काल होस् सजिलो, न कि नास्तिकको अणुवत् ध्वंस-समष्टि ज्वलन नतानूँ लहरा नगर्जुन् पहरा, दुःखको प्रदर्शनभित्र जीवनकाठ बनाउन कृत्रिम झूठो बुद्धि उडाइ विचित्र भविष्यले नडसोस् । भूत विद्या बनी सीँगमाथि नबसोस्, सभ्यताको धराप नउचालूँ, नउडूँ यथार्थ छोडी आदर्शहरूतिर आत्मा नखसोस् : भ्या भ्या भन्दा मीठो गाना, नकली तारहरूमा नबनोस् पाठाको प्रेम गरुँ केवल पितृभाव प्रभूको मिलोस् । यति मात्रामा मात्र, मरे मरिगो' परमेश्वरको इच्छा ! सुँघ्दा छैन- जीए दूध नसुकोस् त्यति बेलासम्म जब तक उसको आँग हुँदैन भरी, अथवा घाँस कडा नहोस् आफैँ खाने नबनोस्— डाक्टर बोलाउन नपरोस् । भयङ्कर काली बोक्सी कलातिर प्रकृत मेरो आत्मा कहिले नदुगुरोस् साधुजस्तो शून्यतिर नहाम्फालूँ अथवा कृत्रिम कल्पनाले— जादूहीन सत्यबाट रङ्गी चङ्गी बाङ्गा जादू ननिकालूँ ब्राह्मण नबनूँ अरूको पाप पखाली खान मैलो पानी धर्मात्मा झैँ पापहरूको चेत भरिइकन - रौरवतिर पयर न उचालूँ- नसुधारूँ—उवार्न जगत् यो ! पुराना—फाटाहरूले न टालूँ, अप्रिय फालूँ प्रकृतिको सादा सुन्दर असुन्दर बत्ती, जस्तो जीवन बालूँ । मर्दा ! मर्दा साधु भन्दा माथि पुगूँ, ब्राह्मण भन्दा स्वर्ग, धर्मात्माहरू भन्दा सुखको वैकुण्ठ, दाग एउटा ननिकालूँ दिव्य पशुत्व मलाई प्रभूजी जनी गर झट्ट समाऊ ! आऊ ! आऊ ! अहिल्यै भेँडो बनाऊ । ००० (नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको) ................................................ यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।