माछापुच्छे!'हिमशिखरको बादशा' पोखराली ! देखेँ तिमै्र वरपर सबै पश्चिमा राज्य खालि ! डाँडाकाडाँ वन नद दरी सम्थली औ कराली साराका छौ प्रभु सरि तिमी दिव्य श्रीपेच डाली ! राजा ! तिम्रो बगल महिषी अन्नपूर्णा हिमाल नीला गादी उपर डटिँदा हुन्छ शोभा कमाल ! राजारानी ! हृदय कविको तृप्त कैल्यै हुँदैन ! नेपालीले हुकुम दुईको छातिले बिसर्िदैन ! हाम्रो राष्ट्र प्रकृति रचना छन् प्रधानै हिमाल ! चूली राजा बहुविध जहाँ सत्यका नीतिपाल ! सेतो छापा सकल दिलमा पर्छ आदेश सार ! हाम्रै हाम्रै प्रकृतिसँगमा मन्त्र मीठो बहार ! सान्दर्यैको चलपल हुँदो पोखरीझैँ छ देश ! थुम्काथुम्की सरस हरिया राखिए बेस बेस ! माछामाछी सदृश दुनियाँ क्यै सुनौला रँगिन ! सेतो माछो प्रमुख पुछेर, राज गर्दो छ मीन ! डुङ्गा शायद् यस शिखरमा सृष्टिको बाँधिएथ्यो ! शायद् चीरा यिन गिरिविषे चक्रले काटिएथ्यो ! मान्छेको हो प्रथम सृजना कल्पिएका यिनैले ! पैला शक्ति प्रकृत अझ छन् लुीलिँदा देख्छु मैले ! कल्ले शिल्प्यो अवनितल यो लाख बुट्टा कुँदेर? शोभाको यो घर अजमियो पोखरा नाम हेर! पन्ना झुक्यो चपल सरितालाई दी नागबेली? डाँफे रङ्ग्यो? चिरबिर भर्यो? छिर्बिराएर बेली? स्रष्टा यी हुन् यस जगतका विष्णु लक्ष्मी समान ! साथै बस्छन् शुचिकर महान् उच्चतामा सुवान ! भाले पोथी प्रतिम सकल सृष्टिका प्रीति जोडी ! छाती फुल्दै दरशन गरी उभ्भिएँ हात जोडी ! छर्लङ्गै छन् वरपर दिशा नीलिमा मुस्किँदी छ ! हावा उड्दा हरर वनकी श्री खिची जिस्किँदी छ ! टड्कारो यो शिखर हिउँको क्या उठेरै चिहायो ! कल्लाई ए युवती ! जलमा फूल फ्याँक्छयौ त्यहाँ त्यो ! तिम्रा आँखा यस गगनका प्रीतिका तारका ती ! लाल्पातेझैँ तन रस भए भूमिका भारका ती ! हावा तिम्रो मन गिरिसुता ! व्योमले नील नानी ! सेतो छाला तुहिन जसमा रश्मि चढ्छिन् बिहानी ! कोही यौटा पुरुष-सपना टाकुराको प्रदान पाई राती शिखर प्रतिभालाई यो पुष्पदान ! गर्दी छौ के प्रथम दिलको सत्प्रतिज्ञा उचाली सेतो प्रीति प्रकृत हिउँझैँ थाह भै आज खालि हो, हो, यो हो, मिथुनरसको गीति गुँज्ने प्रदेश ! डाँफे डाँफी नवरँग बुटे कल्पना कूँज देश ! मीठो चूली वयस-रसको गीति-खोला-मुहान ! बोल्दा भन्दा अमुखर तिमी गीति छौ दिव्य जान ! दोटा कोही यिन शिखरमा सुन्छु खेल्दा जुहारे बेनामी छन् ! मिरमिर कहीँ अर्थ खुल्दो छ क्यारे ! लीला खेलौँ तरल उछलौँ चिल्बिले हौँ बनेली ! हाम्फालूँ क्यै ! खुसखुस गरौँ ! सुस्तियौँ ! भन्दछन् ती ! दोटा खेल्दा समुह धरती बन्दछिन् यी हरीलो आली-खोला वन-खलबला धोबिनी भै सुरीली ! चाँदीपत्ती जलदचयकी छाउनी चल्न थाली वर्षा वर्षी दिल उपर भो कल्पनाच्छाद-जाली ! लक्ष्मी ! लामा लहलह हुँदा फाँटका स्वर्णभार तिमै्र माया वरपर कुदी बेलिँदा भै तयार साँचेका यी हँसमुख मिठा बन्धुकी पोखराली रानी बन्छयौ प्रकृत अभिधा अन्नपूर्णा हिमाली ! नामै मीठो ! शरद रजनीले थिइन् यो कहेकी ! सेतीद्धारा सलिल छिनु ली जो यहाँ छन् बहेकी ! भनछन् चूली जसरि चुलियो उत्तिकै हुन्छ बाली ! बाली काट्दा हँसमुख तिमी मुस्किँदप् हौ उज्याली ! द्यौता बस्ने वरपर सभा गोलझै क्यै त्यहाँ छ ! खोदेको झैं हिउँ अलिकता आसनी झैं जहाँ छ ! सल्ला' होला सुरवर बसी काजमा पोखराली ! सच्चा नीति प्रकृत कसरी चालिएली उज्याली ! माछापुच्छे!यस जगतको सभ्यता शुभ्र कान्ति ! शिल्पै मीठो ! युवति सुकला ! दिव्य सन्देश शान्ति ! चट्टानै छन् युवक महिमा ! छन् नदी काव्य-दान ! नेपालीको रस-मुटु यही भारतीको मुहान ! नेपालीको प्रथम कविता छैन यसबाट दूर ! यो पानीको प्रथम गतिको गीति हो विश्वनेर ! यो भूस्वर्ग प्रकृति रचित प्रौढ सम्भावनामा होला यात्रास्थल रसिकको विश्वमा फस्टिँदामा ! फेवामा गै प्रतिदिन यहीँ सम्झना ली डुबुल्की बिसे्रली यो कलह जगको मत्स्यको पुच्छ झल्की नीलो होला ज्वर समरको, चट्ट सुस्केरिएर सम्झे ताराजडित जलको शान्तिको कान्ति हेर ! ओढीछन् लौ अब त बदली अन्नपूर्णा लुकेर ! माछापुच्छ्रे अलि अलि टुपो देखियो मिर्मिरेर ! झस्काएका मकन दिलमा झ्वास्स आएर आज ! लौ ! लौ छोपे मुख दुइ जना बल्ल लागेछ लाज !