क. अनलशिखाझैं कलिली सुन्दर ! मधु–ज्वाला ! यो दृगपथमा पक्राउ बसे सरि, भन तिमी को ? ए ! बाला ! ख. मधुर रहस्यको मुसमुस ग्रन्थि, रेशमी–तहले बाँधी, वाणी तिरस्कारिणी ! बोल्छयौ सुगन्धका के शव्द–कणीहरु सम्मोहनले साधी ? ग. आत्मप्रकाशमा नै के भन तिम्रो ब्रीडा–लाली ? संसारी यो स्तरमा उत्रन शरमिन्छयौ कि ? सुकुमारी ! किनकि छ तिम्रा भावहरुको अतिशय मृदुल, अलौकिक, मसिनो, जाली ? घ. तैपनि मलयानिलका लहरले फेर उछाल्दा तिम्रा, ओर्लन, बोलन, पर्शनको मन ! इङ्गित छर्दछ राम्रा ! ङ. जीवन–कणी सब झलमल बत्ती बली, कसैसंग जाति, मदिर क्षणमा, शादी स्वपनी, उत्सव–चुली कल्पी, मुस्क्यौ ? बैंस–सदनमा, काँच रङ्गको बहुभाँति ? च. अथवा प्रियतम तिम्रो कोही, मीठो आँखमिचौनीले मेरो मुटुको गहिरो दरीमा आई लुकेको छ कि अहिले ? छ. लाई मधुरतम क्षणभङ्गुर यो अमरताको सारी, एक झलकमा, विश्व बुझाउन, झर्यौ जगत्को वारि ? ज. अपरिचिता ए ! परिचय कुन यो आदिकालको, दिन्छयौ ? मुरलीकणीमा वृन्दावनमा सदन लिएझै लाग्दछ कहिल्यै, मिरमिर युगमा, तिमी निकट जब हुन्छयौ ?