क. फागुन फुल्छ संसार सारा अत्तर छिटी ऐशको । रङ्गमहल यो कसको होला ? परी–रानी बैंशको । ख. रुपको शरम लाल लाल हुन्छ फुस्केको छाती सँभाल्न । चुलबुल गुलाफ–कोपिलाले सकिन सप्को बसाल्न । ग. लुक्ने कोशिश मोहिनीको हावाले आधा तोडेर, मुजुरा सब उचालिदिन्छ बास्ना अबोला छोडेर ! घ. नाइँ नाइँ गर्छे थुँगा म्रीरा वृन्दावनलाई दोहराई । पुरुषले प्रकृति रँग्छ पिचकारी क्वै छहराई । ङ प्यारको बोट छ निबुवाको, सेतो पत्ती, हरियो शूल ! शीतको दाना कसका निम्ति ? जूनलाई हो कि ? आकाशफूल ? च. आजको दिन छ चरी–दिलको, सुस्काए आलुबखडा ! आरु तिम्रो लाली राम्रो, हावा म, केको झगडा ? छ. आजको दिन हो चुच्यौलीका चिल्लो पल्लव पर्दामा ! नझस्कन गुलाफ मानी, केशरको दाना झर्दामा ! ज. संसारको आङन पुरानोमा यही चिर नयाँ कहानी ! दाडिम ओठ चिल्लाबाट चिप्लिन्छ मनको सपना नि ! झ. हरियो, चिल्लो रेशम लगाई झुप्पा सुन्दर कार्चोबी । बैंश उभिन्छिन् फूलको हाँगा पक्री, स्वपना मनसूबी ! ञ. यै इतिहास हो जीवनको रे ! यही वृन्दावन–कहानी टुङ्गिनसक्ने, जुगजुगभन्दा, सुन ए ! छिरबिर ढिस्कामाथि जूर–जलपमा बैंश–रानी !