नटिप्नु हेर कोपिला! नचुँड्नु पाप लाग्दछ। नच्यात्नु फूल नानि हो! दया र धर्म भाग्दछ।। नछोप्नु है चरी बरी सराप आँसु लाग्दछ। नमार्नु जन्तु है कुनै बसेर काल जाग्दछ।। न घाउ चोट लाउनू सडेर चित्त पाक्दछ। धूलो नफेक्नु नानि हो! उडेर भित्र ढाक्दछ।। हिलो नखेल्नु फोहरी खराब दाग लाग्दछ। न चित्त है दुखाउनु डसेर आँसु बग्दछ।। बनेर फूल झैं सधैं हँसाउनू सुवास दी। सधैं रमाउनू जगत् रमेर नित्य आश दी।। जताततै छ ईश रे छ सुन्नु त्यो विचार रे। छकाउने लुकाउने नराख भाव क्यै गरे!