ढरर ढम्म ढरर ढम्म ढ्वाङ् ठोक सारा ! आज जानुपर्छ नानी देशनिंति प्यारा ! लेऊ हात हात लाठी लाम लाग सारा । मार्न जाऊ देश शत्रु पोख्न रगत धारा ।। पात पीं पीं लौ बजाऊ छरन अबीर लावा । वान् टु वान टु कदम चाल गर्न हिंड्न धाबा ।। आज जानुपर्छ हामी देश-निंति सारा । ढरर ढम्म ढरर ढम्म ढ्वाङ ठोक सारा ।। तालिमी छ आजलाई छन् लडाइँ हाम्रा । बन्नुपर्छ है सिपाही हृदय स्थिर र चाम्रा ।। मर्नुमै छ स्वर्ग हेर ! जिउनु कीर्ति खाली झनन झन्न झनन झन्न बाज काँस थाली ।। मुटु र ज्यान आज हाली हुकुम एक पाली । ढरर ढम्म ढरर ढम्म हिंड्न कदम चाली ।। छोड्नुपर्छ घर र बार देश-निंति सारा । यो हुरी पछाडि हामी बन्नुपर्छ तारा ।। प्रभु छ माथि हृदय साथी मर्छ को र प्यारा ! देश-निंति मर्नु जिउनु गुम्नु मेट्नु प्यारा । पीठ नदिनू बढ्नू बढ्नू चढ्नू कठिन किल्ला । यो धूवाँ र आँधिपछि कीर्ति मधुर खुल्ला ।। मान्यलाई मान कीर्ति हेर अबीर लावा । जो डराई बन्छ श्याल काँप्छ खाइ हावा ।। छोड्नुपर्छ घर र बार बिर्स सकल प्यारा । कस र छाती ताँति ताँति हाँसी चलन सारा ।। मट्टीको छ यो शरीर उड्छ बन्छ हावा । देश-निंति चंकिनेछ गर्छ जो त धावा ।। वीरजाति ताँति ताँति भाँति भाँति लाम । लड्न चाल कदम कदम लाम यो नथाम ।। नजर अघि छ आज हेर वीर हृदय तारा । ढरर ढम्म ढरर ढम्म बढन आज प्यारा ।। आज तिर्न ऋण र गाँस्न वीर हृदय माला । शस्त्र हात सफल जात जल्नुपर्छ ज्वाला ।। जाग काली ! जाग जाग झलल झलल पारी । देश-निंति शस्त्र अस्त्र छौ न शत्रु पारी ।। पीं पीं पीं पीं पात पात लाम चाल चाल । कालसरि आउनेछ शत्रु पंक्ति छाल ।। जिन्दगी छ यो लडाइँ नेत्र झल्ल बल्ला । जीउ धुलो भएर जान्छ खालि आत्मा फुल्ला ।। आज हेर सब नेपाली आगो लौ निकाल । मार शत्रु पार ध्वंस चुली चढ्न थाल ।। होश राख कदम कदम नाम यो नफाल । वीर वीर धीर धीर बनन सकल तारा ।। आज देश-निंति जानु - पर्छ दूर प्यारा । ढरर ढम्म ढरर ढम्म ढ्वाङ् ठोक सारा !