१ जरूर साथी म पागल ! यस्तै छ मेरो हाल । २ म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई स्वाद लिन्छु । आकाशभन्दा पातला कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन ! म देख्दछु, ढुङ्गालाई फूल ! जब, जलकिनारका जल चिप्ला ती, कोमलाकार, पाषाण, चाँदनीमा, स्वर्गकी जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर, उठ्दछन् मूक पागलझैँ, फूलझैँ- एक किसिमका चकोर फूल ! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न । जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा साथी ! छाल छाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! ३ तिमी चतुर छौ, वाचाल ! तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ ! तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु । तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु, तिमी बलिया गद्य छौ ! म तरल पद्य छु ! तिमी जम्दछौ जब म पग्लन्छु, तिमी सङ्ग्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैका उल्टो ! तिम्रो संसार ठोस छ । मेरो बाफ ! तिम्रो बाक्लो, मेरो पातलो ! तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ । म सपनालाई समात्न खोज्दछु, जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको पान्ढीकीको बाटुलो सत्यलाई ! मेरो छ वेग काँडाको साथी ! तिम्रो सुनको र हीराको ! तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल । जरुर साथी । मेरो एक नशा ढिलो छ । यस्तै छ मेरो हाल । ४ म माघको ठण्डीमा ताराको सेतो प्राथमिक राप तापेर बसिरहेको थिएँ, दुनियाँले मलाई तरङ्गी भने! भस्मेश्वरबाट फर्कदा सात दिन टोह्लाएको देखेर भूत लागेको भने! एक सुन्दरीका केशमा समयका तुषाराको पहिला छिर्का परेको देखेर म तीन दिन रुँदा, मेरो आत्मालाई बुद्धले छुँदा मलाई छटाएको भने! मैले वसन्तको पहिलो कोकिल सुनेर नाचेको देख्दा, बहुला भने! एक सूनसान औंसीले मलाई निशास भएर म प्रलय–वेदनाले उफ्रेँ! मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे! म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ, मलाई बुज्रुगहरुले, राँची पठाइदिए! म आफूलाई एक दिन मरेको सम्झेर लम्पसार थिएँ, एक साथीले बेसरी चिमटिदिए र भने, “ए पागल तेरो मासु अझ मरेको छैन!” यस्ता कुरा भए साल, साल! पागल छु साथी! यस्तै छ मेरो हाल! ५ मैले नवाबको मदिरालाई खून भनेको छु, छिमेकी रण्डीलाई लाश भनेको छु! राजालाई गरीब, सिकन्दरलाई मैले गाली दिएको छु! महात्मा भनाउँदाको निन्दा गरेको छु! नगण्य व्यक्तिलाई, तर, सातौं आसमानसम्म, तारीफको पुलमा चढाएको छु, तिम्रा महापण्डित, मेरो महामूर्ख! तिम्रो स्वर्ग, मेरो नरक! तिम्रो सुन, मेरो फलाम साथी! तिम्रो धर्म मेरो पाप! जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ, उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा! तिम्रो उन्नति, मेरो अवनति, यस्तै छ मोलमोलाइको उलट–पलट, साथी! तिम्रो विश्व, मेरो बाल! जरुर साथी! म बिलकुल चन्द्राहत छु चन्द्राहत, यस्तै छ मेरो हाल! ६ म अन्धालाई दुनियाँको अगुवा देख्दछु, गुफा–तपस्वीलाई भगुवा देख्दछु, मिथ्याका मञ्च चढेकालाई काला नटुवा देख्दछु! विफललाई सफल देख्दछु! प्रगतिलाई अगति देख्दछु! या हुँला मै ऐँचाताना! या हुँला मै दीवाना! साथी! मै दीवाना! निर्लज्ज नेतृत्वको नीरस रसनाको रण्डीको नाच हेर! जन–अधिकारको डँडाल्नोको भाँच हेर! जब भँगेर–टाउके छापाको कालो मिथ्याले मेरो विवेक–वीरलाई जाली झुठले ललकार्छ तब हुन्छन् मेरा गाला राता साथी! सल्केको गोलझैं राता! जब निमुखा दुनियाँ कालो जहर पिउँदछ, पिउँछ कानले, र अमृत भनिठानेर, र मेरा आँखाअगाडि, साथी! तब हुन्छन् ठाडा मेरा रौं, रौं गर्गनका सर्पकेश झैं, मेरा जिस्क्याइएका रौं, रौं! जब बाघले मृग खान आँटेको देख्छु, साथी! या ठूलो माछाले सानो, तब मेरा मक्काएका हड्डीमा पनि दधीचिको आत्माको भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी! स्वर्गबाट चट्याङ परेको दिनझैँ । जब मानवले मानवलाई मानव ठान्दैन, साथी, तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा, दुवै! जस्तो भीमसेनका दाँत! अनि, प्रकोपको लाल–लाल आँखाका डल्ला, फनक्क घुमाएर एक डबलले, म यो अमानवको मानवजगत्लाई, एक आगोको लप्काले झैँ हेर्दछु, साथी! अफ्रिन्छन् मेरा कलपुर्जा, खलत्रल, खलबल! तूफान हुन्छ मेरो सास! विकृत हुन्छ मेरो चेहरा! बन्दछ मेरो दिमाग, साथी! बडवानलझैं, बडवानलझैं! म वन खाने आगो झैं बहुला हुन्छु! बहुला, साथी! काँचै निलूँ झैं विश्वविशाल! जरुर साथी! म सुन्दर–चकोर, असुन्दर–फोर! कोमल–क्रूर चिडिया, स्वर्गाग्नि–चोर तूफान–पुत्र! पागल ज्वालमुखीको उद्गार भयङ्कर व्यक्तित्वपाल! जरुर, साथी! सन्के मगज छु, सन्के! यस्तै छ मेरो हाल! ००० ………………………………. यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।