क. छीः छीः दूरदूर गरिएको हुँ ! सबले आँखा तरिएको हुँ ! आदिम मनुको बदमाशीले तर पृथिवीमा बरिएको हुँ ! दिव्य शल्यको दैनिक साधनमा स्रष्टाले दरिएको हुँ ! ख. बेकार सराप्छौ तिमी मलाई सुन रे मेरा शठ भाइ ! मुनिको मनको काँढा मै हुँ, खोल्ने दोस्रो लोचनलाई ! फूल–अन्धा छन् दुनियाँ सारा तिनले घृणा खूब गरिएको हुँ ! वीर, शहीदहरुको पथ तर, निर्माण हवस् भनी, विरिञ्चिकरले जीवन वनमा छरिएको हुँ ! ग. तिमी भुलौला जब, जब मृत्यु सत् भारा । तिमी हिंडौला उत्ताउलो बनी गल्ली गन्दा अँध्यारा । झल्याँस्स जगाउन च्वास्स म ठुँग्दछु, मानव प्यारा । फूलका कविता लेख्छन्, लेखून्, काँढाको अझ काम छ तीखो, अझ ठूलो अभिभारा ! गूढ तत्वले भरिएको हुँ ! घ. स्वर्गमा छ क्या मधुशाला ! बाटुला छन् सुनका प्याला ! फूल सुगन्धी खूब उज्याला । एक अभावले तर त्यो झुक्छ, झुक्छ तल ! कण्टक–विजय त्यहाँ छैनन् ! उत्पीडनको छैन परामर्श ! तडपनबीचको आत्मबल ! स्वर्ग जित्न नै छरिएको हुँ ! ङ. तारा झकीकन, सश्रद्ध भूतिर शवनम भेटी चढाई निशिभर, आदृत टुप्पो भरिएको हुँ नरले, सुरको सुन्दर पराजय गर्न भनीकन बरिएको हुँ ! भूलशूलको तत्वले पृथिवी, स्वर्गभन्दा रुचिर, विचित्र पार्न कल्पना गरिएको हुँ ! छिः छिः दूरदूर गरिएको हुँ ! सबले आँखा तरिएको हुँ !