दश धार्नीको बोझा पिठयूँमा, दोब्री ढाड, तीन कोश उकाली माघको हिउँमा, नाङ्गो हाड ! दुई रुपियाँको ज्यान छ जीउमा हाँक्नु पहाड ! पसिना कालो टोपी धरो छ, धूजा पट ! जुम्रा उपियाँ जीउमा धुरो छ, मस्तिष्क शठ ! गन्धक तुल्य छ, तर क्या ब’रो छ मानव घट ! मुटुको चरो छ भटभट, भुरभुर, पसिना, दम, भीरमा झुप्रो, बालक थुरथुर, भोका गम ! माकुरी माले सिस्नो भ्याकुर खोज्छे वन ! यो अति मानव पर्वत वीरको हिमालमुनि प्रकृति विजेता स्वेदिल शिरको मोती–धनी माथि छ केवल निशिको बिर्को ताराकणी ! यस निशिमा छ निद्रा–धनी !