क. सहस्रशीर्ष, सहस्रपाद ! झल्किरहेछ एक विराट् ! ख. अल्प सहस्र संवत्सरले केवल, जिनतिन, अल्पोच्चोरित, उसका इङ्गित हामी सारा नेपाली हुँ ! हाम्रो देश छ हाल, एक अनाविष्कृत केवल, एक अनुच्चारित, कल्पनु परको, लोक कमाल ! अदृष्ट विशाल ! नेपाल ! ग. नागहृद्मा वनकणीमा, मानिस जन्म्यो, हरियो फूल ! सम्भावनाको क्षितिजद्धारमा, प्रथम पर्वतको यो किनारमा ! माछो, कछुवा, वराह र वामन, बन्दै दारमा ! सिंढी चढ्दो, बढ्दो अगाडि, पूर्ण पछाडि, पुकारमा ! घ. माटो फूल भो ओठको लागि ! बास्नी खुल्न ! फूल, चरा भो, उड्न र बोल्न ! पछि भो पन्छी, सुन्दरलाई, पिउन, उछल्न ! मानिस हुन गो ! मुटु विराट्को छाम्न, छिचोल्न ! ङ. कोरा मानिस, हिउँको थुप्रो ! खाडी, बाढी ! मानव–पदार्थ सब–माटो, हावा, अग्नि अनादि ! च. विकृत मानिस, सर्प, भ्यागुता, गोही, डाँस ! घूँघा, गधा ! या सिस्नो, बाँस ! मानिस एउटा बनिरहेछ ! ‘सोऽहं, सोऽहं !’ भनिरहेछ ! छ. हामी तारा धूली धुलेका, मन्दोष्ण कणी, ताराका हुँ हामी पनाति, नेबुलाका हामी जनाति, सूर्यका नाति, पृथ्वीका छोरा । चन्द्रका भाइ, बहिनी पनि ! स्वर गङ्गामा ! पछिको पोषण सार यहाँ छ ! पृथिवीमा ! यहाँ विराट्को एउटै मुटुको ढुकढुक चल्छ ! कोटी पादले कोही चल्छ । कोटी शीर्षले कोही टटोल्छ । कोही बोल्छ । ज. बहिनी रेणु ! दाज्यू हिमाल ! हामी उसका जीवकणी हुँ ! एउटै मानिस सबमा दुगुर्छ, प्रति चेष्टाले उसका, हामी, एक एकमा एक अनन्त, अखिल धनी हुँ ! झ. मिरमिर मानिस माटोमा छ ! तिरमिर मानिस सूर्य किरणमा ! छिरबिर मानिस वनमा त्यहाँ छ ! एउटा मानिस झल्किरहेछ, सब वस्तुमा, सब जनमा ! ञ. पूरा, अधूरा मिरमिर ! किरमिर ! एउटा मुटुको ढुकढुक, ढुकढुक ! एक कल्पना, छिर िबर, छिरबिर ! एक रुधिरको धावन, सिरसिर ! ट. विश्वहरुको जोड गरीकन, एउटा विश्व बन्यो ! विश्वहरुका राजा मिलीकन एउटा राजा बन्यो ! ठ. एउटा मानिस ढाक्दछ नेपाल ! थल, जल, आकाश ! निल्दछ देश र निल्दछ काल ! बन्छ विशाल ! विश्व जीवनीको गाना गाउँछ ! मीठो ठाँट ! मानिस विराट् !