क. समय बराबर प्यारले फर्की, उल्टो छाल हान्छ कमाल ! किनकि अगाडि क्यै झल्केथ्यो, बेहोश वेगमा, स्वर्गको माल ! ख. सम्झनाले गिज्याइहिछ बोक्रालाई, निद्रालाई तन्द्रालाई, ऊँगलाई आत्माको ! “तैले बेंक्मा राखेमध्ये कुन हो अक्षर ? कुन हो सुन्दर ? के ले जिउँछन् रातमा यो ?” ग. क्षणहरुले लुटिरहन्छन् नित्य मलाई गरीब बनाई, सम्झनाले लुटेर तिनकन, “लौ ला” भन्छे — यो भारी चीज, खोसी ल्याएँ ! तेरो, तँलाई ! घ. अलकत्राले कालो सडक छ नकली माल रङ्गीन भडक छ ! दिनकरको छ यात्रा अन्त ! बाँकीपुरमा याद अटक छ ! बिजुली–तारमा एक चटक छ ! पृथिवी बन्छिन् बैकुण्ठ ! ङ. स्वर्गावतरित सन्ध्या ओर्ली पसल–सींढीमा ओर्लन खोज्छिन् ! ज्योतिषी छन् साथी दृग दुई जब नव तारा झल्किन रोज्छिन् ! उज्यालो भनेको अमृत हो ! जिइरहन्छ, जिलाइरहन्छ ! ती झल्किथिन्, लझ गुँज्छिन् ! च. फेला परयो तब एउटा ताला ! खुले हृदयको सारा कोठरी, ऐनावाला ! झल्किन् हजारौं रङ्गले बाला ! नशा, नशाका तार भरी क्यै बिजुली दुगु¥यो, ज्वाला माला ! छ. सुन्दरीजल झर्ना झरेथ्यो जीवन–चक्र घेर घुमाई ! दुनियाँका सब नगरी झिलमिल पारुँ जस्तो लाग्यो मलाई ! ज. दिनकर डुबेथे यत्ति निम्ति ! बिजुली बलेथे यत्ति लागि ! अनन्त क्षणहरु भुरभुर उडेथे ठाउँ बनाउन यस क्षण लागि ! म पनि सारा संसार घुमेथें पाउन यत्ति, यत्ति भागी ! एक थलनिम्ति संसार बन्छन् एक पलनिम्ति पृथिवी घुम्छिन् एक क्षण लागि जीवन बन्छन् अनन्तका पनि क्षणमा गुँड छन् ! झ. एकै क्षणको आन र तान, दिव्य दर्शन या सूनसान ! एक पलकमा नितको ज्यान ! एक झलकमा पर आश्मान ! एक झलकमा जगत् श्मशान ! ञ. मानवताको बिरुवामाथि फुल्दछ यति तर्क भन्ने जानें ! दुई आँखाले पिए त्यो राति त्यो अमृत जो सुरले जाने ! ट. सुन्दरता ! के पायौ याद ? चोरी हुन्छन् पथमा कत्रा ? आफू सग्लै टिपियौ, अचेता ! धनी बनाउँछयौ कोष परत्र ! ठ. स्वरुपभन्दा छाया अमर छ ! छाया ठूलो ! छाया सुन्दर ! तिम्रो तत्क्षण थिति नै अमर छ ! अजर छ तिम्रो मोहनी–मन्दिर ! ड. प्यार भनीकन कोही छुँदो हो, अवहेलनको तिम्रो काया ! पूजा गर्दै कोही रुँदो हो – सम्झन सक्छयौ ?– सकुची, चित्रन तिम्रो छाया ! ढ. प्राप्त तिम्रा वैभव सीमित ! अप्राप्त तिम्रा धन छन् असीमित आपूmभन्दा तिमी छौ ठूली ! अचेत छौ ए शक्ति अकेली ! ण. कुनै कुनामा, भारतदेश, शायद् वाष्पिल दर्पण सामु दुखले टिप्छयौ फुल्दो केश ! बैँसको हरियो, मीठो, फुल्दो उपवनमा भै शरदावेश ! त. कसरी बताऊँ तिमी छौ उस्तै ? बयस अमरमा सुन्दर चूली ? आँधी न छुन्छन्, समय न छुन्छ ! परिवर्तन छ पदको धूली ! एकान्त हराएँ मैले सुन्दरी ! बेहोश निमौले संगमा बोली ! समय अडाई, विजयकथाका वार्ता खोली ! थ. सींढी पसलका ओर्ल शके ए ! ती लोचनका झुम्का ओराल ! उन्नाईसौँ बत्तीस सन् छ ! बदल, सके लौ, तिमी यो काल ! द. स्पर्शहरुले खिइँदै शोभो छाया–जगत्मा आश्रय लिन्छन् ! सचेत बन्दा आत्मा, आखिर, त्यसमै सदन बनेको पाई— निवसन्छन् ! आइरहिछौ ! मेरा हकले सबका छिन्छन् ! विशाल विश्वको बाजार विषे, मेरा हकले, माल किन्छन् ! ध. संसारी क्वै स्तरमा भुल्दी आफ्नो राज र सच्चा शासन ! ए अचेता ! पाउली याद ! मुग्ध दिल हो सुन्दर–आसन ! न. सम्बन्धहरुमा मसिना, मीठा सञ्चित अश्रुत स्वर नै बोली ! कोही जनममा चित्रकलामा चकित बनाई, झल्के भोली ! पूरा मिलनमा, लबढब हुँला विश्वनाथका मुटु भै डोली ! त्यो होला कति टाढा ?