स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन– दाना तिलको, यति छु मसिनो ! सक्छ को सम्झन ? दिल झिल्को ? अलग सचेतन सागर चेतन कण जलको ! जति जति गिर्दछु उति उति उठ्दछु ! अन्त न बलको विश्व बनाउँछु, विश्वधनी छु— क्षण–झुल्को । सृष्टि, स्थिति र प्रलय म भोग्दछु, प्रतिपलको । मेरा नीलिम गहिराइमा मेरै अनिलको तपन, जपन र अन्तः स्वपन छन् ऋजु र कुटिलको । सब ती विसर्जन मिल्दछु जलमै, जल–फुल्को ! जोरिन्छ जतातिर मानवतासँग, साँध यो दिलको, अनन्त शक्ति र ज्योति छु उत्तम युगको अमर झिल्को !