पर पर कुइरी नील किनारा, स्वर्ग झरीकन जिमीमा छुन्छ, लामो सडकमा अडी यसबार, दूर चिहाई दृगले गुन्छ । बहुविध पत्थर कङ्कड, काँढा, बाढी, खाडी, उकाली हुन्छ, ओर्ली किरण र उक्ली डाँडा, दूर शिखरमा स्वर्ग नुहुन्छ । दिनदिन हेरन नील–काढाँमा, माकुरीको जाल रहन्छ, दिनको उज्यालो पर पाटामा, बाटामा तर कुइरो बहन्छ । मानिस आफैं आफ्नो डरमा, आँखा चिम्ली कैद रहन्छ, आफैं मगन्ता आफ्नो घरमा, मृत्यु पुजीकन मृत्यु सहन्छ । दुःखले पायो हेर्न कहाँ पर ? मुटु शर पन्छी दृग चिमलिन्छ, चतुर्मुखी अघि बन्दछ अमुखर, घाट र घर बीच तित रुमलिन्छ । चिथरो दौरा, आधी छ नाङ्गो, टोपी शिरमा गोल धरो छ, गन्धक तन औ हर क्यै बाङ्गो, भरिया मनिरै ठिङ्ग बरो छ ! कल्पिरहेछु शिखर किनारा सुन्दर बस्ती श्रमको झलमल, पूरा मानव हँसमुख सारा, नव युगलोचन रचना उच्चल ! आँधीहरुमा झर्छन् तरुवर, तिनमा तारागणले रुन्छ, हुरी चढेका मानवहरु तर, भोलि दिनले सम्झिरहन्छ ।