कति सुन्दर हेर किताब-चरो दुइ पंख फिजाउँछ यो बिचरो कति थोप्लिइ खोल्दछ झिल्मिल यो म त मग्न बनीकन हेर्छु अहो । कति छन् तह हेर भुवा यसमा कति प्वाँख फिजाउँछ क्या रसमा जति हेर्छु उडाउँछ दूर कता म चढी यसमा छु सधैं विपता । कहिले म त बादलका महल- तिर पुग्छु सुनै सुन झैं असल ! जसबीच कथाहरूको दुनियाँ- हरूमा म विचार्दछु बात नयाँ । कहिले परदेश पुगेर कता तसबीर भईकन छक्क म ता पटना र बनारस बंबईमा म त डुल्दछु रंग भरी भुइँमा । कहिले कति सागर पार पुगी म त लन्डन डुल्दछु हेर ! सँगी कति मोटर बस् कति ट्राम हुने र हवाइ-जहाज उडीरहने । म त गर्छु कुरा कतिसाथ कति अघिका अघिका जति गर्छु उति मुख मात्र रसाउँछ अमृतले लिन छन्द मिठास खुशीसितले अघिका अघिका दरबारहरू झलमल्ल खुली तरवारहरू झललल्ल बनीकन देख्छु म ता इतिहास भयो र कथा कविता । कहिले म त देख्दछु दृश्य नयाँ कहिले सुखको दुखको दुनियाँ अघिका जुगसाथ म गर्छु कुरा कति मोज छ चढ्नु किताब-चरा ।