के नेपाल सानो छ ? नेपाल ! सुन्दर, शान्त विशाल ! मैले आफैंले एक दिन लेखेथें, 'विशाल' को भावना कसरी आयो म भन्न सक्तिनँ । भूमण्डलका नक्शा पल्टाउनुहोस्‌ र हेर्नुहोस्‌ त नेपालको परिमाण कत्रो छ । यो सानो बूँद महासागरमा त्यसै बिलाएजस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन्‌ । यो शान्तिको हरियो राजधानी जस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा पसीना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ । आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनको पुजारी हो । आजसम्म ई खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैँ विश्व छ, दूर छ तर दूरताको दिव्य जादू । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्‌, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ । हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको - झल्का झन्‌ सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस्‌ तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ । सानो भनेको के, ठूलो भनेको के ? यो दुनियाँमा तारालाई ठूलो भनौं भने अनन्त आकाश - जूनकीरी जस्ता देखिन्छन्‌ । बालुवाका दानालाई सानो भनौं भने एक कणमा सृक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जाद्गरी के नेपाल यानो छ ?/५१ दर्शाइरहेछन्‌ । संसारमा सानो र ठुलोका दुई दृष्टिकोणका भेद छन्‌- एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागेजस्तो लाग्छ । माटोको परिमाणले खेत ठूलो म गन्दिनँ : त्यसको गुण, अवस्था, उब्जनी र भाबुक प्रभावको कसीले मात्र । ब्रिटिश म्यूजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लाग्छ । श्त्‌, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन्‌ ।। भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ । मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीपन हेर्न मन लाग्छ । अंग्रेजी लवजहरूउपर सूर्य नअस्ताकन्‌ तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट फर्कदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम स्वागतवासी मधुर हावाको लहरसँग “को हो ! को हो !' को सौन्दर्य- संसारमा नवजाग्रत्‌ प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । शेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाव-वाहिनी व्याकरणविरोधी हृदयनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ । “'बाल्ज' सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल 'झैं कता-कताबाट तीनतारे सारङ्गी बोकेर भझुलुक्क देखापर्ने गाइनेको '“रानीवनैमा' सुन्न चाहन्छु । विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरूको ुन/414%100:14 मातभाषाका शब्द तोडफोड गरी ककनो 'फोक्कामा रवाफ देखाउन , यद्यपि हामीलाई प्रकृतिले यस्तो संगीत-सरल मुख र नासिका दिएको छ, जो अरूको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लवज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङ्गमिरिङ्ग गर्दछ; _ अप्राकृतिक नक्कलीपनमा रवाफ राख्न खोज्नाका प्रवृत्तिले हामी अरू स्कूले ठिठाको 'कम्ती छु' भन्ने भाव पोषण गर्दछौं भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन्‌, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको प्राकृतिक भाषा, भझर्नाहरू घुसेका मीठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र ५२, लक्ष्मी निबन्ध-संग्रह बोल्ने अक्षरहरू । मेरो भाषा ज्यादा नफैलेको होस्‌, तर मेरो इन्द्राणीको झर्ना यही हो । सानो, मीठो, शान्त, सुगन्धी, अनुपम-बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन्‌; शेक्सपियर हलो जोत्ता हुन्‌; टिसियन र दर्नर भेडा चराउँदा हुन्‌, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्‌, कालिदास आषाढको पन्ध्रमा धाराप्रबाह गीत गाइरहेका होलान्‌, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्‌, मेरो वनमा हेलेन केलरहरू गीत गाउँदछन्‌, यहाँ कति सावित्रीहरू छन्‌, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ । नालाहरूका प्राकृतिक वेद बुभ्ने आजकल कति हृदय होलान्‌ ! यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन्‌ ? के साना चराहरू हृदयाकाशमा अमर वबेलीकञ्ज बोल्दैनन्‌ ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरू जो मभित्र खँदिलो भइरहेछन्‌, के ती साना छन्‌ ? सच्चा आर्यभावना जसलाई भनिन्छ, त्यस्ता मानवभावनाहरू उत्पादन गर्न सक्ने र हरहमेशा हृदयमा देवसंस्कार जागरण गर्ने बाग्मती तुहिनतरल निर्मल शिशुतरंगहरूको मनोहर कलकले पवित्र शैशवावस्थाको शान्त तरल भाव-प्रवाहमा खेलाएर राख्ने भूमि यदि संसारमा कुनै छ भने नेपाल छ । किनकि यहाँ कारखानाको घुवाँले दूषित वायुमण्डलमा सभ्य माक्राको जालोजस्ता तरंगहरू खेल्न पाउँदैनन्‌ । यहाँ प्रशस्त शैशव नवीन खोज र त्यसको जादू नेपाली हृदय नेपाली आबहवाको र खानपीनका असरले गर्दा सच्चा आर्यभावहेरूको स्पन्दन र आर्यसपनाले सजीव छ र अरू देशमा मैले कहिले पनि भावुक नैर्मल्य र सरलता पाउन सकिनँ । यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृष्टिले हेर्दछन्‌; सभ्यमानी देशहरूमा मनुष्य मनुष्यलाई हिंस्रक जन्तुको दृष्टिले हिंस्रक जन्तुलाई हेरेझैं हेर्दछ । जो नेपाली होइन र नक्कलपन चाहन्छ, उसलाई सरलता राम्रो लाग्दैन, पहाडका शिशुहरू सन्तोष अनुभव गर्दछन्‌, मैदानका ताता मगजहरू खालि असन्तोषमा उम्लिरहेछन्‌ । जहाँ नेपाली नजर देवता देख्तछ, उहाँ अरूको नजर ढुङ्गो देख्तछ; प्रकृतिमा ईश्वरलीला देखेर स्वदेशी हृदय गद्गदाउँछ, त्यहाँ विदेशी खालि विज्ञानको अँध्यारो भूलभुलैयाभित्र पस्तछ । यहाँ ईश्वरका झल्काझल्की जताततै छरिएका के नेपाल यानो छ ?/५३ छन्‌, ज्ञान विवेकको अँधेरीमा पाइन्न । विज्ञानभन्दा ज्ञान मूल्यवान्‌ छ, मान्छे जडमा अन्धयन्त्र लगाएर अन्धो विवेकले बोक्रे नियम पत्ता लगाउनमा आफ्नो गौरव सम्भझँदैन, अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ, तर हाइ ! हाइ ! नेपाली हृदय ! तँभन्दा सुन्दर, शान्त सजीव कुरा संसारमा के होला ? म त्यहाँ सब चीज पाउँछु, जहाँ जीव पाएथें, उहाँ मेरो आत्मा जागरित भएर मानवजीवनको जाद्का निमित्त आँखा खोलेर उठ्यो । म त्यहीँ मानवसंसारको सम्पूर्णता देख्दछु, म केही सौन्दर्यको चीज देख्तिनँ, जो म नेपाल संसारमा पाउन्नँ । यो हिमालयको पवित्र जादू भने नेपाली माटोको मूर्ति जो मै हुँ- जो स्वर्गको भझिल्काले घिच्किएर जीवन भन्ने ज्योतिले सजीव भएर जागेथ्यो-यो मनुष्यलाई नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चीजहरूको स्‌क्ष्म प्रतिबिम्ब टनाटन छ । हिउँदको दृश्यमा धुवप्रदेशको नमूना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यही नजरसामुन्ने छ । यहीं सब आबहवा पाइन्छन्‌, यहीँ छन्‌ बेबिलोनका ह्यांगिङ गार्डेन्स-भझूलन बाग, यहीं छन्‌ तीन सय नायगरा फल्स, चीनको पर्खाल सात आश्चर्यमा गन्नेले यी नेपाली किनारका महान्‌ पर्खालमा चमत्कार नदेख्नु नेपाली नहुनुको अन्धता हो । चाँदीको झल्झलाउँदो गौरीशंकर महल नजरसामुन्ने नै छँदै छ। यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग _ यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यहीँ दिनभरिभरि र मानव-- आत्मा यहीँ वरिपरि, आकाशको अनन्ततामा विशाल नक्षत्रहरू यसकै अगाडि जूनकीरी झैं नाचिरहेका छैनन्‌ ? तब म फेरि दोहोन्याउँछु यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ? मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आँखालाई शीतलता केही पाइन्न, जता हेप्यो उस्तै । कतै नीचा कलात्मक चुनाउ, चित्रात्मक रेखाहरू, रंग र छाया र फाहरू, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै हर्षले उम्लिएर चुलिँदै-चुलिंदै स्वर्ग छोएर टुप्पामा सुनौला मुस्क्राहट लिएर हाँसिरहेकी, पाटा, छविछाया वनको मिमिरि मधुर नीलिमा, यो मिठास र मोहनी मैदानमा पाइन्न । मैदान बोधो छ एकनासे लाटोजस्तो, मैदान चित्रकारी हुन सक्तैन, तसबीरको भूइँजस्तो हुन्छ, जसबाट सच्चा तसबीर भझिकिदिएको छ, तर पहाडी देशको दृश्यमा विभिन्नताको माधुरी ५४,लक्ष्मी निबन्ध-संग्रह छ, यहाँका रंग गाढा र रसिला छन्‌, यहाँ सूचनात्मकता छ, जो कविता र संगीतको मुटु हो, यहाँ जीवन एकोहोरो गाढा सडक जस्तो देखिन्न । यहाँ औपन्यासिकता छ, कतै उच्चाइ, कतै नीचाइ, चढ्नाको जादू, हेर्नाको मोहनी, सुन्नाको माधुर्य । भारत मैदान पहाडको माटोले उब्जनीको शेखीसम्म गर्दछ, तर रित्तो पट बिछ्याएजस्तो मात्र छ, यहाँ हरएक पटमा सच्चा चित्रकारी छ । एक पहाडका कुनामा बसेर हेर्नु, दुई- तीनतर्फ दृष्टि दिँदा, उही ठाउँबाट दुई-तीन संसार देखिन्छन्‌ । म कहिले हेर्दा-हेर्दै देखिरहेछु, एकै पहाडमा चार किसिमका चित्रहरू छाया, घाम, सिमसिमे पानी र कृहिरो । जुन पृथ्वी यस्ती शस्यशालिनी छन्‌, जसमा यस्ता सौन्दर्यका विभिन्नताहरू रंगदार छन्‌, जहाँ एक पहाड एउटा सजीव दुनियाँ छ, चरा, मृग र बाघहरूले परिपूर्ण संसार, जसलाई हेर्दा मानवमुटु विचित्र त्रासले ढक्क फुल्दछ, जहाँ ढुङ्गामा चाँदीजिभ्रा छन्‌, भ्याउका मोती छरिएका छन्‌, जहाँ नालामा दिव्य भाषण, जहाँ पत्रहरू सजीव दुनियाँका हलचल भै हमेशा बोलिरहेछन्‌, जहाँ प्रकृति रङ्ग-रङ्गाका दृश्यचित्र र्ची-रची रङ्ग रोशनी परेका कुशलता प्रदर्शन गरिरहेकी छन्‌, जहाँ लहराहरू राष्ट्रिय झण्डा झैं प्राकृतिक पर्खालमा फरफराइरहेछन्‌, अनेकौं फूलहरूले सुशोभित बनेर जहाँ सर्वोच्च हिमालय शासन गरिरहेछ, के त्यहाँका मनुष्यका कल्पनामा बालरेखा चित्र र कार्यहरू बनिरहेका होओइनन्‌ ? मलाई किन-किन यस्तो लाग्छ कि हिमालयको विशाल उच्चाइको नजीक रहेको जति तिनको गौरव र तिनको उच्चतासँग भित्रभित्र गाँसिएको हुन्छ, शस्याढ भूमिका पुत्रहरूका मगजमा उब्जनी -प्रतिभा हुन्छ र उनका कल्पनाचित्रहरू विपिनप्रचुर हुन्छन्‌, ज्यादाजसो कविहरू फूलबारीको नजीक जन्मन्छन्‌, महापुरुषहरू पहाडको नजीक । दूधमुखे शावकहरूका चेहराहरूले मान्छे धेरैजसो साधु बन्छन्‌, बाघ पाल्ने वनका नजीक वीरका झोलुङ्गालाई प्रकृतिमाताले हल्लाइरहेकी हुन्छिन्‌, धेरै चराहरू बोल्दो देशसँग म कविताको सम्बन्ध देख्तछु, वनका गम्भीर गोधूलिमा मलाई विवेकको अँधेरी र ज्ञानको पूर्ण उज्यालोको दोसाँधमा रहने भावनाहरू व्यक्त हुँदै आउँदछन्‌ । म नेपालमा हुँदा वनकालीमा आनन्द पाउन सक्तछु, तर कलकत्ता जाँदा बिर्सन्छु। पहाड र गानाको नित्य सम्बन्ध छ, जस्तो वाक्‌ र अर्थको । स्वर्ग बर्सन्छ त्यहीं, पहाडी के नेपाल सानो छ ?/११ अविरल झरभझरको संगीतद्वारा भावनादोष सुधार हुन सक्तछ, किनकि संघर्षविकृत मानबहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन्‌ । यी पातहरू सब हरिया भाव बन्दैछन्‌, यी सरसर हृदयमा दगुर्दैछन्‌ । तब म 'विशाल' किन नलेखुँ ? 'विशाल' को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको नीलो रंगमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु, जसलाई शैशब सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्युँझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य ! जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब मलाई बिशालताको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, 'आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेस्यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।' जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिँदो रहेछ-जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ। म बिश्वप्रेम मातृभूमिमा सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्‌, हृदयमा होङ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए “तँ को होस्‌ ?' भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थें- 'नेपाल', मृत्यु स्वर्गबाट ओलंदा 'तँ के चाहन्छस्‌ ?' को प्रश्नलाई पनि म प्रत्युत्तर दिन्थेँ, 'नेपालको भलाइ !' अरू मुक्ति खोजून्‌, स्वर्गपछि दौड्न्‌, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस्‌ चाहे रौरव, अरू देशका गौरव मलाई नबताक, मेरो हृदय जान्दछ मेरो हीरा कहाँछर उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्‌, तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुग्याउन सक्तछ । अरूका श्रीपेच शिरमा रहन्‌, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ । ५६, लक्ष्मी निबन्ध-संग्रह विदेश भनेको सपना हो; एउटा कता-कताको कथा हो; नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो; जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता ! कति थोरै नेपालवासी सम्झँदा हुन्‌ कि यो नेपाली तारामण्डले अर्द्धगोलाबाहिर कुनै दुनियाँ छ ? वास्तबमा साधारण मनुष्यका निमित्त शिरमाथिको आकाशगोलाभन्दा ठूलो चीज केही हुँदैन; र उसले सम्झँदैन कि यो खालि विशालको एक अल्प खण्ड हो । (पूर्णात्‌ पूर्णमिदं' भनेजस्तै मलाई यसबाहिर अर्को क्षितिज भन्ने बुभ्नमा नै के फाइदा ? सम्पूर्ण अनन्त विश्व देख्ने नजरले सूर्यलाई कस्तो सानो सेतो कनिको भन्दो होला, तर पृथ्वीवासीलाई सूर्य सेतो रापको जीवनदाता भगवान्‌ नै ठहरिन्छन्‌ । मेरो स्वदेश नै मेरो विश्व हो; विपना हो; मेरो सत्य हो; एउटै खँदिलो अस्तित्व हो । जब म विदेशमा हुन्छु तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु । स्वदेशप्रेम संकुचित गुण-हो भन्ने लेखकहरूले आजकालको साङ्ग्रोपनादेखि वाक्क भएर कलम लिएका हुन्‌ । तर ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु विश्वप्रेमी विश्वसिद्धान्ती लेखक र कविहरू भुल्दछन्‌ कि विश्वप्रेम भनेको चीज स्वदेशमै बिकासिन्छ; र जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम राख्न सक्तैन, त्यसले विश्वप्रेम राख्छ भन्नु ताती गर्न सिक्नुअगाडि दगुर्न जान्ने हुनु मात्रै हो, बालुवामाथि घर बनाउनु भनेको त्यही हो । मेरा सपना पनि नेपालीपनको ग्राह्य गुण छाडेर उड्न खोजे भने नबर्सिने बादलभन्दा बेकम्मा हुन्छन्‌ । सजीव अनुभवहरूको कलात्मक प्रकाशन साहित्य हो भने जो सच्चा नेपाली छैन, त्यसले नेपाली साहित्य लेख्न सक्तैन । नेपालको हरएक दृश्य र अनुभूत वस्तु मभित्र मिलान लिएर विचार, भाव र सम्झनाका स्वरूपमा अनेक क्रियाहरूद्वारा आत्मप्रकाशन लिइरहेछन्‌ । सार्वजनिक विश्वसत्यात्मक जातिकल्याणकारी तत्त्वहरूका सम्बन्धको आधारमा म लेख्तिनँ; लेख्ने नेपाल हो, म बोल्दिनँ; बोल्ने नेपाल हो, मेरा विचार होइनन्‌; नेपालका अनुभूतिगम्य दृश्य र श्रव्य सामग्रीका प्रभावहरू हुन्‌ खालि मभित्रको अमर तत्त्व । यी सामग्रीहरूद्वारा नवीन-नवीन झल्का र सन्देश पाउँदै, आफ्नो सेवाको मार्गमा चलिरहन्छु । के नेपाल सानो छ ?/५७